७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

एमाले नेता पशुपति चैलागाईं

पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग पनि हो। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईलाई एमाले भित्र यो प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेर्नेहरु थुप्रै छन्। २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र अहिले दोलखा २ बाट  प्रदेश सभा सदस्य जितेका ५७ बर्षिय चौलागाई संग नागरिकन्युजका लागि रमेश खतिवडाले गरेको कुराकानीः

विजयी भएपछि कस्तो अनुभव भएको छ ?

नेपाली जनताका निम्ति र मेरै निम्ती पनि यो निर्वाचन बिल्कुलै नयाँ थियो। हामीले संविधान निर्माणपछि पहिलो पटक प्रदेश सभाको निर्वाचन सम्पन्न गरेका छौं। मेरो क्षेत्रका मतदाताले अपार समर्थन र मायाँ गरेर जिताएर पठाउनु भएको छ। खुसी सँगसगैं नेपालको इतिहासमै पहिलो प्रदेश सभाको सदस्यको हैसियतले यसलाई सफल कार्यान्वयन र सार्थक बनाउने जिम्मेवारी काँधमा आएको महशुस गरेको छु। यहाँका आम मतदाताले दोलखा २ र समग्र ३ नम्बर प्रदेशको विकास र समृद्धीका निम्ती काम गर्ने अभिभारा सुम्पीनु भएको छ, आफुलाई जिम्मेवारी सगैं चुनौती थपिएको महशुस गरेको छु ।  

वाम गठबन्धनलाई प्राप्त बहुमतलाई कसरी लिनुभएको छ ?
    
संविधान कार्यान्वयन र स्थायी सरकार बनोस भनेर जनताले बाम गठबन्धनलाई स्विकार गरे । यो निर्वाचनमा गाउँ जादा र जनता भेट्दा ६÷६ महिनामा सरकार नफेरियोस अब ५ बर्षका निम्ती स्थायी सरकार बनोस भन्ने चाहना देखिन्थ्यो जुन कुरा बाम गठबन्धनलाई प्राप्त मतबाट पुष्टी समेत भईसकेको छ । अब देशमा स्थिरता आउछ । ५ बर्ष सरकार टिक्छ ।

तपाइँ प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको रुपमा चर्चामा हुनुहुन्छ नि?
    
अहिले हाम्रो प्रदेश नम्बर ३ का जिल्लाहरु समेटिएको क्षेत्र खासगरी बागमती, उपत्यका स्तरिय कमिटिमा बसेर पार्टी संगठनमा लामो समय काम गरेका कारण मेरो मुख्य मन्त्रीमा प्रतिष्पर्धा स्वभाविक नै हो। यो प्रदेशका १३ ओटै जिल्लाका साथीहरुले मुख्यमन्त्रीका रुपमा म प्रति सद्भाव राख्नुभएको छ । अनि अर्को कुरा मेरो जिल्ला र क्षेत्रका साथीहरुको चाहना हुँदा हुदै पनि मुख्य मन्त्री बन्छु भनेर नै प्रदेश सभामा उठेको हुँ । पार्टी भित्र प्रतिष्पर्धा हुन्छ स्वभाविक नै हो । निर्वाचनको परिणाम सबै आईनसकेका कारण नेताहरु व्यस्त भएकाले उहाँहरु संग छलफल गर्न पाएको छैन् । अब राष्ट्रिय सभाको निर्वाचन भईसकेपछि नेताहरु संग बसेर छलफल गर्छु । यो प्रदेशको मुख्य मन्त्री उम्मेदवार पार्टीबाट मेरै नाममा निर्णय हुने कुरामा विश्वस्त छु।

एमालेबाट यो प्रदेशमा मुख्य मन्त्रीको उम्मेदवार तपाई नै हुनुपर्छ भन्ने आधार के ?
हेर्नुस मैले अघि पनि भनी सके । म अहिलेको यो प्रादेशिक र पहिलेका अञ्चल कमिटिमा बसेर लामो समय देखि काम गर्दै आको छु । अनेरास्ववियुमा काम गर्दा देखि नै  यो क्षेत्रको ईन्चार्जसिप लिदै आईयो । पार्टीमा वागमती अञ्चल कमिटि सदस्य, सह ईन्चार्ज हुदै ईन्चार्ज सम्म भएर लामो समय काम गरियो । प्रत्येक जिल्लाका साथीहरु संग थुप्रै समय सम्म मिलेर काम गरिएको छ । पार्टी केन्द्र र ति जिल्लाका साथीहरु बिच समन्वयकारी भुमिका निभाएर जिल्लाको समग्र विकासमा काम गर्दै आएको छु । धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, काठमाण्डौ, ललितपुर र भक्तपुरका गाउँ, टोल र बस्तीहरुमा वागमती ईन्चार्जको हैसियतले पार्टी अभियानको सिलसिलामा पुगेको छु । विकासका काममा केन्द्र संग त्यहाँका साथीहरुको समन्वय गर्ने भुमिका निभाएको छु । त्यहाँका जनताको सुख दुख देखेको छु, बुझेको छु । यि बाहेक प्रत्यक्ष भुमिकामा नभए पनि पार्टी संगठनको सिलसिलामा चितवन, मकवानपुर र सिन्धुलीमा समेत हामीले थुप्रै कामहरु गरेका छौं । त्यसैले समग्र प्रदेशमा पहिल्यै देखि पार्टी संगठन र केन्द्रय कमिटिको तर्फबाट काम गरेकोकुरा नै म मुख्यमन्त्री हुने प्रमुख आधार हो ।

मुख्य मन्त्री बन्नु भो भने तपाईका प्रमुख एजेण्डा के हुन्छन ?

कम्युनिष्ट पार्टीले अगाडी सारेका जनताका परिवर्तन संग सम्बन्धीत एजेण्डाहरुलाई कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी पुरा गर्छु । त्यस बाहेक देशको राजधानी समेत जोडिएका कारण राजधानी सहित हाम्रो सिङ्गो प्रदेशको समग्र विकास गर्ने दायित्व नेकपा एमालेको काँधमा छ । रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, र दोलखाको लामावगर नाका खोलेर चिन संग र ठोरी नाका मार्फत भारत संग व्यापारिक आउजाउ गर्न सहज बनाएर सिङगो प्रदेशको आर्थिक विकास गर्छु । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, हेटौंडा, चितवन जस्ता ठुला शहरहरुको दिर्घकालिन विकास गरेर थुप्रै कामहरु गर्नुछ । लगानी मैत्री वातावरण तयार गरेर पर्यटन, जलश्रोत, कृषि, उद्योग, सहकारी क्षेत्रको विकास गर्दै रोजगारी श्रृजना गर्नुछ । समग्रमा जनताको आय स्तर उठाउने किसिमका काम गर्छु ।

तपाई निर्वाचित भएको दोलखामा बहुदल यताका प्राय चुनाव कम्युनिष्टले जित्दै आएको जिल्ला, यस अघि तपाई पनि दुई पटक सांसद भईसक्नु भो, तर कम्युनिष्टले दोलखाको विकास गर्न सकेनन भन्ने आरोप छ नि ?

यस अघि विकासका काम हुदै नभएको चानही होईन । तर ति चित्त बुझ्दो किसिमका थिएनन होला । त्यसमा केही कारण छन् । सांसदले मात्र केही गर्न सक्ने हैन् । राजनितिक अस्थिरताका कारण सरकार परिवर्तन भईरहने गरेका कारण सांसदले पनि जनईच्छा अनुसारको भुमिका निचाउन सकेनन् होला । अब त्यस्तो हुदैन । ५ बर्षका लागि स्थिर सरकार बन्छ । जनताले सोचे भन्दा बढी कामको अनुभुती गर्न पाउछन् ।
 
मतदातालाई तपाइँ के भन्न चाहनुहुन्छ ?

सबै मतदाताहरु प्रति आभारी छु, धन्यवाद दिन चाहन्छु । तपाईहरुले सोचे जस्तै परिवर्तन यस पटक अवश्य देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।

प्रकाशित: ३ पुस २०७४ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App