४ वैशाख २०८१ मंगलबार
समाज

जग्गा पशुपतिको, रजाइँ ‘टिआइए’को

काठमडौं- पशुपतिनाथ मन्दिर गुठीको जग्गा चलनचल्तीभन्दा एकदमै कम मूल्यमा भाडामा लगाएको पाइएको छ । गुठीको स्वामित्वमा रहेको करिब एक हजार एक सय ६७ रोपनी जग्गा एकदमै कम भाडा लिने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)लाई दिइएको हो ।

त्रिभुवन विमानस्थलले पशुपतिनाथ गुठीको जग्गाका लागि हाल मासिक प्रतिरोपनी आठ सय ६४ रुपैया“ मात्र तिर्दै आएको छ । जुन पशुपतिनाथ तथा सिनामंगल क्षेत्रमा चलनचल्तीमा रहेको जग्गा भाडाभन्दा एकदमै न्यून हो ।
हाल विमानस्थलले पशुपति क्षेत्र विकास कोषलाई सम्पूर्ण जग्गा उपभोगबापत वार्षिक एक करोड २१ लाख रुपैयाँ तिर्दै आएको छ । एक हजार एक सय ६७ रोपनी जग्गाका लागि वार्षिक रूपमा बुझाउने रकमलाई प्रतिरोपनी प्रतिमहिनाको हिसाब निकाल्दा मासिक भाडा प्रतिरोपनी आठ सय ६४ रुपैया“ मात्र पर्ने देखिएको हो ।
सेवा सञ्चालनबाट विमानस्थलले वार्षिक अर्बौं आम्दानी गर्दै आए पनि जग्गाभाडा भने न्यून बुझाउँदै आएको हो । जग्गा भाडामा असन्तुष्टि जनाउँदै पशुपति क्षेत्र विकास कोषले त्यसलाई पुनरावलोकन गर्नुपर्ने माग राखेपछि गत आर्थिक वर्षदेखि मात्र हालको भाडादर कायम भएको थियो । त्यो पनि चलनचल्तीभन्दा एकदमै न्यून भएको भन्दै कोषले असन्तुष्टि जनाउँदै आएको छ ।
हाल विमानस्थलले प्रयोग गर्दै आएको धावनमार्ग, गल्फकोर्ट र नेपाल आयल निगमको भण्डारण कक्ष भएको स्थान पशुपतिनाथ मन्दिर गुठीको जग्गा हो । २०३९ पुस २३ गते तत्कालीन पशुपति क्षेत्र सुधार तथा विकास समिति र तत्कालीन हवाई विभागबीच जग्गाभाडा सम्झौता भएको थियो । सोही सम्झौताअनुसार विमानस्थलले पशुपतिनाथ गुठीको जग्गा प्रयोग गरेको हो ।
त्यसबेलाको सम्झौताअनुसार विमानस्थलले गुठीलाई त्यहाँ फल्ने अन्न बराबरको रकम बुझाउने गथ्र्यो । कोषका प्रशासन महाशाखा प्रमुख भोला सिटौलाका अनुसार त्यसबेला एक रोपनीबराबर वार्षिक एक मुरी अन्न दिने सम्झौता भएको थियो ।
सम्झौताअनुसार विमानस्थलले एक हजार एक सय ६७ रोपनी जग्गाको वार्षिक एक हजार एक सय ६७ मुरी अन्न बराबरको रकम बुझाउने गथ्र्यो । एक वर्ष अघिसम्म विमानस्थलले गुठीको जग्गा प्रयोग गरेबापत एक मुरी अन्नबराबर एक हजार सात सय रुपैयाँ बुझाउँथ्यो ।
एक हजार एक सय ६७ रोपनी जग्गा प्रयोग गर्दा विमानस्थलले वार्षिक १९ लाख ८३ हजार नौ सय रुपैयाँ मात्र बुझाउँथ्यो । तर, बारम्बारको ताकेतापछि गत वर्षदेखि विमानस्थले एक करोड रुपैयाँ थप गरेको हो ।
कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनका अनुसार भाडा समय सान्दर्भिक गराउने कुरा पाँच–सात वर्षदेखि नै चलेको थियो । विमानस्थललाई ताकेता गर्दा पनि कुनै चासो नदेखाएको उनले बताए । तत्कालीन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पालामा विमानस्थलले कोषलाई दिँदै आएको भाडामा वार्षिक एक करोड रुपैयाँ थप्ने निर्णय भएको थियो ।
टण्डनले त्यसबेला केही रकम बढे पनि समय सान्दर्भिक नभएको बताए । ‘विमानस्थलले जग्गाको भाडा अझै बढाउनुपर्छ,’ उनले भने । नागरिक उड्डयन प्राधिकरण र कोष दुवैको अध्यक्ष भने पर्यटनमन्त्री नै हुने व्यवस्था छ ।
२०३९ सालमा विमानस्थल विस्तारका लागि गुठीको करिब एक हजार दुई सय रोपनी जग्गा प्रयोग गरिएको थियो । त्यसमध्ये २९ रोपनी १२ आना जग्गा भने गुठीले मुआब्जा लिएर विमानस्थललाई दिएको थियो । गुठीले त्यसबेला मुआब्जाबापत दुई लाख ६७ हजार सात सय ५० रुपैयाँ पाएको थियो । बाँकी एक हजार एक सय ६७ रोपनी भने भाडामै लगाइएको थियो ।
कोषले अहिले कम्तीमा पनि वार्षिक १० करोड रुपैयाँ भाडा पाउनुपर्ने माग राख्दै आएको छ । सिटौलाले अहिलेको भाडा बढाएर १० करोड पु¥याउन पहल गरिरहेको बताए ।
कोषका सदस्यसचिव प्रदीप ढकालले विमानस्थलमा मात्रै नभएर अन्य ठाउँमा रहेका जग्गाको समेत भाडा बढाउन प्रयास थालेको दाबी गरे । ‘गुठीको नाममा रहेको सम्पत्ति खोज्न थालेका छौँ,’ ढकालले भने, ‘योजनाअनुसार ६ महिनामा गुठीको नाममा रहेका सबै सम्पत्ति खोजेर भाडामा लगाउने र भाडामा लगाएकालाई समयअनुसार भाडा उठाउने काम थाल्छौँ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने नागरिक उड्डयन प्राधिकरणले भने आफूले पहिलेको सहमतिअनुसार नै भाडा तिर्दै आएको जानकारी दिएको छ । ‘हामीले सम्झौताअनुसार नै भाडा तिर्दै आएका छौँ,’ प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले भने, ‘अघिल्लोपटक भाडा थप्नुपर्ने कुरा आएपछि तिर्दै आएको भाडामा एक करोड रुपैयाँ थप गरेका हौँ ।’
उनले कोषले भाडा बढाउन माग गर्दै आएको कुरामा आफूहरू सचेत रहेको बताए । ‘भाडा समयानुकूल गर्ने कुरामा हामीलाई पनि आपत्ति छैन,’ उनले भने, ‘प्राधिकरण पनि सरकारी निकाय, कोष पनि सरकारी निकाय हो, सरकारले नै भाडा बढाउने निर्णय गर्छ भने निर्णय मान्न आपत्ति छैन ।’ कोषको मागभन्दा पनि सरकारले नै भाडा बढाउने निर्णय गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित: ३ पुस २०७४ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App