८ वैशाख २०८१ शनिबार
अर्थ

तीन दर्जन कम्पनीमाथि छानबिन

काठमाडौं- तोकिएको मापदण्ड पूरा नगरी उत्पादनलाई बजारमा बिक्री गर्ने करिब तीन दर्जन कम्पनीमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले छानबिन गरेको छ । विभागले तोकेको मापदण्डलाई बेवास्ता गर्दै बजारमा सामान बिक्री गर्ने कम्पनीलाई विभागले छानबिन गरेर सचेत गराउँदै केहीलाई कारबाही समेत गरेको छ ।
मापदण्ड पूरा नगर्नेमा अधिकांश निर्माण सामग्री सिमेन्ट, फलामका डन्डी, पाइप, खाद्यान्न अन्तर्गत वनस्पति ध्यू, नुडल्स, तोरी तथा भटमासको तेल, मैदा उत्पादक कम्पनी रहेका छन् ।
आर्थिक वर्षको पहिलो पाँच महिनामा नमूना संकलन गरेर परीक्षण गर्दा कैफियत देखिएका ३५ कम्पनीलाई सचेत गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘बजारबाट उत्पादनका नमूना ल्याएर परीक्षण गर्दै आएका छौं,’ पुडासैनीले भने, ‘करिब तीन दर्जन कम्पनीको उत्पादनमा कैफियत देखियो ।’
विगतमा सचेत गराउँदै आएको विभागले पछिल्लो समय उत्पादन रोक्न, कम्पनीको इजाजत खारेज गर्नेसम्मका निर्णय गरेको छ । विभागले अघिल्लो महिना अम्बे सिमेन्ट प्रालि पर्साको इजाजतसमेत रद्द गरेको थियो । सो सिमेन्ट कम्पनीलाई पटक–पटक सचेत गराउँदा पनि नेपाल गुणस्तर ऐन २०४९ ले तोकेको भन्दा कम गुणस्तरको कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेपछि गुणस्तर चिह्न प्रयोगको इजाजत रद्द गर्ने निर्णय गरेको थियो । ‘गुणस्तर सुधार गर्न अटेर गरेपछि इजाजत नै रद्द गर्ने कठोर निर्णय गरेका थियौं,’ पुडासैनीले भने, ‘कम्पनीले गुणस्तरमा हेलचेक्राइँ गर्न मिल्दैन ।’ ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम कच्चा पदार्थ प्रयोग गरेको भेटिएको विभागले जनाएको छ ।
गुणस्तर पूरा नगर्नेमा दुई दर्जनभन्दा बढी सिमेन्ट कम्पनी रहेका छन् । केही सिमेन्ट उद्योगले उत्पादन गरेका सिमेन्ट पिपिसी नेपाल गुणस्तर ३८५ अनुरुप नरहेको विभागका निर्देशक आलोक मिश्रले बताए । मिश्रले उदाहरण दिँदै भने, ‘धेरै कम्पनीले बासमती भनेर मनसुली चामल बेचे जसरी ढाँटिरहेका छन् ।’ कम गुणस्तरका सिमेन्टलाई उच्च गुणस्तर भनेर ढाँटेको उनले बताए । डन्डी कम्पनीहरुले विभिन्न रसायनको मिश्रणमा ध्यान दिनुपर्नेमा नदिएको मिश्रले बताए । ‘तोकिएको मापदण्ड अनुसार रसायनको प्रयोग नगरेको भेटियो,’ मिश्रले भने, ‘प्रोसेसिङ र कन्ट्रोल सिस्टममा समस्या देखियो ।’
गुणस्तरमा उपभोक्तालाई ढाँट्दै आएका सिमेन्ट उद्योगले भने ग्रेडिङ गर्न माग गर्दै आएका छन् । ग्रेडिङमा अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गर्न माग गर्दै आए पनि गुणस्तरमा आलोचित भएका छन् । विभागले कतिपय कम्पनीलाई स्पष्टीकरण सोधेर बजारमा रहेका सामान फिर्ता लिन समेत निर्देशन दिएको छ । सामान प्रयोग गर्दा गम्भीर असर पर्ने देखिएको अवस्थामा बिक्री नगर्न निर्देशन दिएको हो ।
विभागले राजधानीमात्र नभएर क्षेत्रीय कार्यालयहरुबाट पनि अनुगमन गर्दै आएको जनाएको छ । बजारमा कमसल सामानको बिक्री रोकेर उपभोक्तालाई गुणस्तरीय सामान प्रयोग गर्ने व्यवस्था मिलाउन गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्दै आएका छन् । खाद्य सामग्रीको परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरिरहेको छ ।
नियमनकारी निकायले अनुगमन गरिरहेको बताए पनि बजार अव्यवस्थित रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सरकारी निकाय औपचारिकतामा सीमित रहेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सेनाले बताए । ‘अनुगमन गर्दा दोषी देखिएकालाई कारबाही हुँदैन,’ उनले भने, ‘बजारमा जताततै बेथिति छ ।’

प्रकाशित: ३ पुस २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App