coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

जन्मदिनमा दाइजोविरुद्ध जागरण

काठमाडौं- तराईमा प्रचलित दाइजो(दहेज) प्रथाको विषयमा निर्माण गरिएको फिल्म ‘राज्जा रानी’ले प्रचारप्रसारसँगै दाइजो र बालविवाहविरुद्ध सोमबारबाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ ।
फिल्मकी अभिनेत्री केकी अधिकारीको जन्मदिनको मौका पारेर फिल्म र सामाजिक संस्था भोर नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्वको विराटनगरदेखि सुरु हुने अभियान दस दिनपछि राजधानीमा टुंगिने जानकारी दिए ।
भोर संस्थाका संयोजक राजकुमार महतोेले बाल विवाह एवं दाइजो विरुद्धको जागरण  अभियानमा फिल्म रिलिज प्रभावकारी हुने विश्वास लिए । ‘हामीले १२ वर्षदेखि तराईमा यो अभियान चलाईरहेका छौं । यसपटक यस्तै कथाको फिल्मसँग सहकार्य गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने,‘फिल्मको कथावस्तु र संस्थाको उद्देश्यमा समानता भएपछि मैथिली भाषामा पनि फिल्म प्रदर्शन गर्न लागेका छौं । पूर्वी तराईसहितका नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि फिल्म देखाउँछौं ।’ उनका अनुसार अभियानमा खुला कन्सर्टसमेत गरिनेछ । कन्सर्टमा कलाकार, निर्माता, निर्देशक र सांस्कृतिक टोली सहभागी हुनेछ ।
निर्माता रमेश एमके पौडेलले विदेशीभन्दा नेपाली फिल्मको राम्रो पक्ष बाहिर आउन जरुरी भएको बताए । वैशाखबाट नयाँ फिल्मको छायांकन सुरु हुने जनाउँदै पौडेले  नयाँ फिल्मले पश्चिम तराईमा घटित घटनालाई नाटकीय रुपमा चित्रण गरिने जनाए ।
अभिनेत्री केकी अधिकारीले आफू पहिलेदेखि नै दाइजो प्रथाको विरोधी रहेको स्मरण गर्दै त्यस्तै कथामा फिल्म खेल्न पाउँदा खुशी लागेको बताइन् । नायक नाजिर हुसेनले राज्जा रानीले मनोरञ्जनको माध्यमबाट सामाजिक मुद्दालाई चित्रण गर्ने बताए । फिल्मका लेखक तथा निर्देशक यम थापाले फिल्मले नेपालगञ्जको एक गाउँको वास्तविक कथालाई फिचर फिल्ममा रुपान्तरण गरेको बताए । फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मीको अभिनय छ । कार्यक्रममा फिल्मको मैथिली भर्सनको गीत र ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित: ३ पुस २०७४ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App