७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश–६ : एमालेबिना सरकार गठन ‘गाह्रो’

सुर्खेत- प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक नतिजा सार्वजनिक भएसँगै ६ नम्बर प्रदेशमा सरकार गठनको रस्साकस्सी सुरु भएको छ । प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरेर ४० सदस्यीय प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नहुने भएको छ ।
ठूलो दल एमालेले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ सिट प्राप्त गरेको छ । दोस्रो भएको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ चार सिट प्राप्त गरेको छ भने कांग्रेसले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ एक सिट राष्ट्रिय प्रजातन्त्र पार्टीको छ ।
४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ । एमालेले प्रत्यक्ष र समानुपातिकमा प्राप्त गरेको सिट जोड्दा २० हुन्छ । एमाले एक्लैलाई बहुमत पु¥याउन एक सिट अपुग भएको छ । एमालेबाहेकका माओवादी केन्द्र, कांग्रेस र राप्रपाको सिट जोड्दा पनि २० हुन्छ ।
एमाले र माओवादी सम्मिलित बाम गठबन्धनको सिट संख्या जोड्दा ३३ पुग्छ । यो दुईतिहाइभन्दा पाँच सिट बढी हुन्छ । एमालेबाहेकका दल मिलेर सरकार गठन गर्न सक्ने अवस्था ६ नम्बर प्रदेशमा छैन ।
‘६ नम्बर प्रदेशमा एमालेको साथबिना सरकार गठन हुने अवस्था देखिँदैन’, अधिवक्ता दुर्गाप्रसाद सापकोटाले भने, ‘कुल सिट संख्याको आधा एमाले एक्लैसँग छ ।’ ६ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री बन्न वाम गठबन्धनभित्रै तीव्र विवाद छ । मुख्यमन्त्रीका लागि एमालेबाट पोलिटब्युरो सदस्य यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच प्रतिस्पर्धा छ । २० सिट जितेको एमाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताउँछ । मुख्यमन्त्रीका दाबेदार कँडेलले बहुमतनजिक पुगेकाले एमालेको दाबी स्वाभाविक भएको बताए । ‘जुन पार्टीले धेरै सिट प्राप्त गर्छ, उसैको नेतृत्वमा सरकार बन्छ’, उनले भने, ‘४० मा २० सीट प्राप्त गरेको पार्टीको दाबी अस्वाभाविक होइन ।
माओवादी केन्द्रले भने सशस्त्र द्वन्द्वको आधारभूमि भएकाले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रकाशित: ३ पुस २०७४ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App