coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सहभागिता अनिश्चित भएको टोली च्याम्पियन

काठमाडौं- थाइल्यान्डको राजधानी बैंककमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट प्रतियोगिता सुरु हुन एक महिना पनि बाँकी थिएन । एसियाली क्रिकेट परिषद् (एसिसी) को योजनाअनुसार प्रतियोगिताको सहभागी सूचीमा नेपालको पनि नाम थियो । तर, सानै उमेरदेखि प्रतिभा खोज्दै तिनलाई प्रशिक्षित बनाउने उद्देश्यमा एसियाली क्रिकेटको सर्वोच्च निकायले गर्न लागेको प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा थियो ।
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेका बेला नेपालको क्रिकेट अलपत्र अवस्थामा हुनु स्वाभाविक थियो । युवा खेलाडी आउने बाटो बन्द थियो भने त्यसले नेपाली क्रिकेटमा पार्न थालेको नकारात्मक असरको सिकार १६ वर्षमुनिका किशोर प्रतिभा बन्दै थिए । अलपत्र अवस्थाको क्रिकेटले अन्तिम समयमै भए पनि सुशील कोइराला स्मृति प्रतिष्ठानको साथ पाउँदा नेपाली किशोर टोली आइतबार बैंककमा च्याम्पियन बनेको छ ।
नेपाली टोलीले आइतबारको फाइनलमा सिंगापुरमाथि ७१ रनको रबाफ जमाउँदै उपाधि कब्जा गरेको थियो । यसअघि ८ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा म्यानमार, हङकङ र आयोजक थाइल्यान्डलाई हराएको नेपालले सेमिफाइनलमा मलेसियामाथि विजय हासिल गरेको थियो ।
एसिसीको प्रतिनिधिका रूपमा प्रतिभा खोजदेखि टिम तयारी हुँदै बैंकक भ्रमणमा पनि व्यवस्थापकका रूपमा किशोर टोलीको नेतृत्व गरेका विनोद दासले सहभागिता जनाउनमात्र पाए नेपाल च्याम्पियन हुने सम्भावना पहिल्यै देखेका थिए । त्यसैले उनी सुशील कोइराला स्मृति प्रतिष्ठानप्रति कृतज्ञ थिए । ‘सुशील कोइराला स्मृति प्रतिष्ठानको साथ नपाएसम्म हाम्रो टोलीले प्रतियोगिता खेल्ने कुरा दुविधामा थियो । हामीसँग यसअघिसम्म टिमलाई प्रशिक्षण गराउँदा चाहिने सामान्य बजेट पनि थिएन,’ टिम बिदाइका क्रममा नेपाली यु–१९ टोलीका प्रशिक्षक एवं राष्ट्रिय टोलीका पूर्वकप्तान दासले भनेका थिए, ‘यो स्तरमा हामीसँग अत्यन्तै प्रतिभावान् खेलाडी छन् । हामीले सहभागिता जनाउन पाउनु भनेको च्याम्पियन हुने सम्भावना साकार हुनु हो ।’
प्रतिष्ठानले युवा टोलीका लागि खेलाडी पहिचान, प्रतिभा खोज हुँदै बैंकक नउडेसम्म तयारीमा भएको सम्पूर्ण खर्च बेहोरेको थियो ।
दासको नेतृत्वमा प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले मंसिर १ गते नेपाली क्रिकेटको संरचनाअनुसार सबै ९ क्षेत्रबाट प्रतिभा खोजमार्फत ४ जनाका दरले ३६ खेलाडी छानेका थिए । छनोट भएका ३६ खेलाडीमा राम्रो क्षमता बोकेका अरू ९ खेलाडी थपेर ४५ जनालाई पहिलो चरणको प्रशिक्षण शिविरमा राखिएको थियो । काठमाडौंमा मंसिर ७ गतेदेखि पहिलो चरणको प्रशिक्षण शिविर मूलपानी क्रिकेट मैदानमा भएको थियो । पहिलो चरणको शिविरबाट मंसिर १३ मा २२ खेलाडी छनोट गरिएको थियो । छनोट गरिएका २२ खेलाडीबाट कीर्तिपुरमा विशेष प्रशिक्षणको एक सातापछि अन्तिम १४ खेलाडीको टोली छानिएको थियो । मंसिर २५ बाट सुरु भएको प्रतियोगिताका लागि नेपाली टोली २३ गते थाइल्यान्ड लागेको थियो ।

प्रकाशित: ३ पुस २०७४ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App