७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजधानी तानातानमा सांसद

विराटनगर- पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भन्ने विवाद छ । यसै विषयलाई लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसदको भूमिका अग्रणी छ ।

     प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ राख्ने भनेर तीनै ठाउँमा चर्किएका आन्दोलनमा त्यहाँबाट निर्वाचित प्रदेशसभा सांसदको भूमिका अग्रणी छ । प्रदेश राजधानी बनाउनुपर्ने माग राखेर मोरङको विराटनगर र गोठगाउँ, सुनसरीको इटहरी र धनकुटामा अहिले दिनहुँ प्रदर्शन भइरहेका छन् । ती सबै प्रदर्शनमा एमएलएहरू सहभागी भएर चर्का भाषण गरिरहेका छन् ।
    एमालेबाट मुख्यमन्त्री दाबी गरिरहेका जीवन घिमिरे, कांग्रेसका केदार कार्की र संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई भेटेर विराटनगरलाई राजधानी बनाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । यी तीनैजना प्रदेशसभातर्फ मोरङबाट विजयी सांसद हुन् । प्रजिअ आचार्यमार्फत मोरङका एमएलएले सरकारलाई बुझाएको ज्ञापनपत्रमा प्रदेश नम्बर १ को राजधानी बनाउन सबैभन्दा उपयुक्त स्थान विराटनगर भएको जिकिर गरिएको छ ।
सरकारले अस्थायी राजधानी नतोक्दा भर्खर निर्वाचित प्रदेशसभा सांसदलाई यही मुद्दाले ब्यस्त बनाइरहेको छ । सरकारले प्रदेश १ को सम्भावित राजधानीका रुपमा मोरङ, सुनसरी र धनकुटाको स्थलगत र भौतिक संरचनाको अध्ययन गरिसकेको छ । यी तीनवटै जिल्लाका सरकारी कार्यालयको भौतिक अवस्था सहरी विकास कार्यालयमार्फत अध्ययन गरिएको थियो । ‘सबै हिसाबले विराटनगर प्रदेश राजधानी उपयुक्त छ,’ कांग्रेसका प्रदेशसभा सांसद कार्कीले नागरिकसँग भने, ‘विराटनगरलाई राजधानी बनाउन केन्द्रमा पनि लबिङ भइरहेको छ ।’
    ऐतिहासिक, धार्मिक, राजनीतिक, आर्थिक र सांस्कृतिक हिसाबले विराटनगर प्रदेश १ को राजधानी बनाउन उपयुक्त रहेको मोरङका एमएलएहरूको दाबी छ । वीरेन्द्र सभागृहलाई तत्कालका लागि विधानसभा स्थल बनाएर यहाँ रहेका क्षेत्रीय स्तरका सरकारी कार्यालयमा मन्त्रालय राख्न सकिने उनीहरूको तर्क छ । विराटनगरलाई राजधानी बनाउन प्रदेशसभा सांसदबाहेक  महानगरपालिकाले पनि पहल गरिरहेको छ । मेयर भीम पराजुलीले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विराटनगरलाई राजधानी बनाउन र त्यहाँ पूर्वाधार पर्याप्त रहेको जानकारी गराएको बताए ।
    निर्वाचनमा मत माग्दा पनि राजधानीलाई अजेन्डा बनाएका  मोरङ, सुनसरी र धनकुटाका सहरी क्षेत्रका प्रदेशसभा सांसदलाई ‘राजधानी’ आफ्नो आधार क्षेत्रमा तान्न दबाब परेको छ अहिले । ‘राजधानी बनाउन जनता पनि सडकमा उतार्न तयार छौं,’ कांग्रेसका एमएलए कार्कीले भने, ‘विराटनगरलाई राजधानी घोषणा गनुपर्छ सरकारले ।’
    सुनसरीबाट प्रदेशसभा सांसदमा विजयी नेताहरूले राजधानीलाई आफूहरूको ‘राजनीतिक भविष्य’ सँग जोडेर हेर्न थालेका छन् । प्रदेश १ का सबै क्षेत्रका लागि सुनसरी नै पायक पर्ने भन्दै उनीहरूले राजधानी पनि आफ्नै आधार इलाकामा राख्न लबिङ तीव्र पारेका छन् ।  सुनसरी २ (ख) बाट प्रदेश सांसदमा विजयी कांग्रेस नेता राजीव कोइरालाले इटहरीलाई प्रदेशिक राजधानी बनाउनुको विकल्प नभएको बताए । ‘सरकारले अस्थायी राजधानी जहाँ तोके पनि हरेक आधारमा इटहरीलाई स्थायी राजधानी बनाउनु उपयुक्त छ,’ उनले भने, ‘मतदातालाई धन्यवाद दिन पुग्दा पनि राजधानी कहाँ हुन्छ भनेर प्रश्न भइरहेको छ । इटहरी नै हुन्छ भनेर मैले जवाफ दिइरहेको छु ।’ प्रदेश राजधानी इटहरी हुनुपर्ने माग राखेर जुनसुकै संस्थाले आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुन्छन् र, पक्षमा वकालत गर्छन् ।
    सुनसरी २ (क) बाट प्रदेशसभा सांसदमा विजयी एमाले नेता सर्वध्वज साँवाले इटहरीलाई प्रदेश १ को राजधानी बनाउन सक्रियता बढाएको बताए । ‘प्रदेशसभाको पहिलो बैठक कहाँ बस्ने टुंगो छैन,’ उनले भने, ‘राजधानी इटहरीलाई बनाउन पहल र प्रयत्न हरेक ढंगले जारी छ ।’ सुनसरी ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी एमाले नेता लिलम बस्नेतले पनि इटहरी राजधानी हुनुपर्ने भनेर सामाजिक संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा पुगेर समर्थन जनाइरहेका छन् । सुनसरी क्षेत्र नं. १ बाट  प्रदेशसभा सदस्यमा विजयी नेताहरू भने धरान प्रदेश राजधानी हुनुपर्ने अडानमा छन् । क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी एमाले नेता तथा मुख्यमन्त्रीका आकांक्षी भीम आचार्य भने राजधानी कहाँ बनाउने भन्ने विषयमा मौन छन् ।
    प्रदेश १ को राजधानी धनकुटा बनाउनुपर्ने माग राखेर त्यहाँ दिनुहँ प्रदर्शन भइरहेको छ । आन्दोलनमा भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित पनि सहभागी भइरहेका छन् ।
धनकुटामा शुक्रबारबाट सुरु भएको राजधानी बनाउने आन्दोलनमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्यहरू निरन राई र ईन्द्रमणि पराजुली सहभागी भइरहेका छन् । मतदातासँग खुसी साट्न गाउँ पुगेका उनीहरूले राजधानीको आन्दोलनका कारण सदरमुकाम आउनुपरेको बताए । राजेन्द्रले आफूले पार्टी केन्द्रीय कार्यालयमा धनकुटालाई राजधानी बनाउन लबिङ गरिरहेको बताए । ‘राजधानी तोक्ने अधिकार प्रदेशसभाको भए पनि राजनीतिक निर्णय गराउन सक्दो पहल गरेको छु,’ उनले भने, ‘धनकुटालाई राजधानी तोक्न काठमाडौंसम्म प्रतिनिधिमण्डल पठाउने तयारी भइरहेको छ ।’
प्रदेशसभा सांसद पराजुली र निरनले जनसुकै मूल्य चुकाएर भए पनि धनकुटालाई राजधानी बनाउन पहल गर्ने बताएका छन् । धनकुटामा जारी आन्दोलनको अगुवाइ उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन् ।  
धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, सहरी विकासको नाममा करिब ३ सय रोपनी जग्गा, विद्युत् प्राधिकरणको दुई र धनकुटा नगरपालिकाको स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी जग्गा छ । धनकुटावासीले सरकारी स्वामित्वमा रहेको यिनै भवन–जग्गा राजधानीका लागि पर्याप्त पूर्वाधार भएको दाबी गरिरहेका छन् ।

(सुनसरीबाट अमर खड्का र धनकुटाबाट सिद्धराज राईको सहयोगमा)

प्रकाशित: ३ पुस २०७४ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App