७ वैशाख २०८१ शुक्रबार
समाज

देउसी खेलेको रकमले दलितबस्तीमा वाईफाई

खोटाङ– देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाईफाई विस्तार गरिएको छ। लितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गत तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाईफाई सेवा बिस्तार गरिएको हो।

स्थानीय अजम्बरी टोल विकास समितिको पहलमा दलित बस्तीमा १ हजार २४ केविपिएस क्षमताको वाईफाई विस्तार गरिएको छ। इन्टरनेटका माध्यमबाट दलित बस्तीमा सञ्चारको पहुँच बृद्धिका लागि देउसी खेलेर जम्मा भएको रकम वाइफाई बिस्तारमा खर्च गरिएको स्थानीय नगर कार्यसमितिका सदस्य गंगाबहादुर बिश्वकर्माले बताए। 

दलितबस्तीका अधिकांश स्थानीय बैदेसिक रोजगारीका सिलसिलामा बिदेशमा छन्। मोवाइलमा डाटा किनेर बिदेशमा रहेका आफन्तसँग फोन सम्पर्क गर्दा महँँगो हुने भएकाले दलित बस्तीमा वाईफाई विस्तार गरिएको हो। ‘मोबाईलबाट डाटा लिएर विदेशमा फोन गर्दा वा भिडियो कल गर्दा महंगो पर्न जान्छ,’ टोल विकास समितिका सल्लाहकार संयोजक रहेका बिकले भने, ‘विदेशमा रहेका सदस्य र परिवारबीचमा सस्तोमा सम्पर्क स्थापित गर्ने बिकल्प खोज्नेक्रममा दलितबस्तीमा वाईफाई जोड्न पुगिएको हो।’ इन्टरनेटको माध्यमबाट देशविदेशका समाचार, सूचना, जानकारी लेनदेनका लागि समेत वाइफाई सहयोगी बनेको स्थानीय बताउँछन्।

वाइफाई जडानसँगै कतिपयले इन्टरनेटका माध्यमबाट बालबालिकालाई अध्ययन गराउने गरेका छन् । वाइफाईका कारण दलितबस्तीमा सामाजिक सञ्जालका प्रयोगकर्ता समेत बढेका छन्। 

वाईफाईका लागि दलितबस्तीमा वल्र्डलिंकको तीन वटा राउटर, रिसिभर, तार लगायत जडान गरिएको छ। वाईफाईका उपभोक्ता पनि दलित मात्र छन्। वार्षिक १८ हजार शुल्क तिर्नेगरी दलितबस्तीका १२ घर परिवारले वाईफाई सेवा लिएको अजम्बरी टोल विकास समितिले जनाएको छ। टोल विकास समितिकै अगुवाईमा दलितबस्तीलाई नमूना बनाउने लक्ष्यकासाथ एक घरबाट अर्को घर जानका लागि कम्तिमा मोटरबाईक हिँड्न सक्ने बाटो बनाइएको छ। यस्तै, एक घरबाट अर्को घर जाने बाटोमा प्रत्येक घरले एउटा बत्ती अनिवार्य राख्ने व्यवस्था मिलाइएको छ 

‘अर्को घर पुग्ने बाटोमा प्रत्येक घरले एउटा बत्ती राख्ने व्यवस्था मिलाइएको छ,’ बिश्वकर्माले भने, ‘रातका समयमा एक घरबाट अर्को घरमा जानका लागि कसैले पनि टर्च बाल्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’

 

प्रकाशित: २ पुस २०७४ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App