५ वैशाख २०८१ बुधबार
अर्थ

विशाखापटनमका अधिकारीले सुझाव मागे

काठमाडौं- नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतको विशाखापटनम बन्दरगाह सहज उपयोग गर्न सक्ने भारतीय अधिकारीले बताएका छन्। शुक्रबार काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा ती अधिकारीले यस्तो बताएका हुन्।

विविध समस्याका कारण नेपालले विशाखापटनम बन्दरगाह प्रयोग गर्ने चर्चा चले पनि व्यवहारमा लागू भएको छैन। २०७२ फागुन ७ मा तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा बन्दरगाह सहज उपयोग गर्न दिन भारत सहमत भएको थियो। यस विषयमा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच सम्झौता पनि भएको थियो।

दुरीका हिसाबले टाढा र व्यावसायिक गतिविधि कम हुनेलगायत समस्याका कारण बन्दरगाह प्रयोग गर्न नसकिएको नेपाली व्यवसायीले बताएका छन्। नेपालीले भोग्नुपर्ने समस्याबारे लिखित जानकारी गराउन भारतीय पक्षले आग्रह गरेका छन्।

'विशाखापटनम हुँदै तेस्रो मुलुकबाट हुने व्यापार सहनीकरण गर्न हामी तयार छौं,' कलकत्ता बन्दरगाह ट्रस्टका ट्राफिक म्यानेजर गौतम गुप्ताले भने, 'बन्दरगाह प्रयोगमा देखिने समस्या समाधान गर्न के के गर्नुपर्छ सुझाव दिनुहोस्।'

विशाखापटनम बन्दरगाहका सिइओ सुशील मुलचन्दानीले तेस्रो मुलुकबाट आएका नेपालका कन्टेनर सहज प्रवेश गराउन भारत तयार रहेको बताए। 'बन्दरगाह प्रयोग गर्न सकिने गरी तयारी पूरा भएको छ, उनले भने, 'नेपालले तेस्रो देशसँग व्यापार गर्न जति   सक्दो छिटो त्यहाँ महावाणिज्य दूतावास खोल्नुपर्छ।'

भारतीय अधिकारीका अनुसार उक्त बन्दरगाह भौतिक पूर्वाधार र अन्य सेवामा उच्च कोटीको छ। त्यहाँ ठूला जहाजमा धेरै सामान ल्याउन सकिन्छ। बन्दरगाह प्रयोग गर्न नेपाली व्यवसायीले ट्रान्जिट सेवा बारेमा साझा धारणा बनाएर आउनु पर्ने मुख्य सचिव सोमलाल सुवेदीले बताए। 'नेपालका लागि व्यापार शुल्क कम गर्नु पहिलो आवश्यकता हो,' उनले भने, 'जुन तेस्रो देशको औद्योगिक कच्चा पदार्थमा निर्भर हुन्छ।'

विशाखापटनम बन्दरगाहले तेस्रो देशसँग व्यापार गर्न राम्रो विकल्प दिने नेपाली कार्गो व्यवसायीको धारणा छ। 'विशाखापटनमबाट सामान ल्याउन महँगो शुल्क तिर्नुपर्छ, भारतीय कन्टेनर कर्पाेरेसनले उचित शुल्क निर्धारण गर्न आवश्यक छ,' नेपाल कार्गो व्यवसायी संघका पूर्वअध्यक्ष राजन शर्माले भने, 'रेल सेवा सम्झौतामा भएका केही प्रावधान संशोधन गर्न पनि आवश्यक छ।

नेपाली सीमादेखि कोलकाता ७ सय र विशाखापटनम १ हजार ४ सय किलोमिटर दुरीमा छन्। भारतले विशाखापटनम प्रयोग गर्न दिनुलाई सरकारी र निजी क्षेत्रले सकारात्मक भने पनि आयात–निर्यात व्यवसायमा संलग्न केहीले भने नकारात्मक टिप्पणी गरेका छन्। सन् १९५० को सन्धिमा भारतले कोलकाता बन्दरगाह मात्र प्रयोग गर्न अनुमति दिएको थियो।

हङकङ, अफगानिस्तान (काबुल) लगायत जलमार्गबाट 'मदर भेसल'ले ल्याउने कार्गो सिंगापुर र श्रीलंकामा आएर साना भेसलमा सारिन्छ। त्यसपछि मात्र कोलकातासम्म ल्याइन्छ। कम पानीको सतह र साँघुरो क्षेत्रफलका कारण पनि कोलकातामा ठूला भेसल आउन सक्दैनन्। ठूला भेसलले विशाखापटनममा एकैपटक धेरै परिमाणमा कार्गो ल्याउन सक्ने हुँदा नेपाल आउने सामान सस्तो पर्छ।

प्रकाशित: २३ श्रावण २०७३ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App