७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ७ : थारू समुदायका ७ निर्वाचित

धनगढी- प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ थारू समुदायका ७ जना निर्वाचित भएका छन् । कञ्चनपुरबाट १ र कैलालीबाट ६ जना चुनिएका हुन् । निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ४ जना छन् ।
कैलालीको प्रतिनिधिसभाका ३ क्षेत्रमा थारू उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा क्षेत्र नम्बर १ मा राजपाका रेशम चौधरी, क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका गौरीशंकर थारू र क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनि राना छन् ।  
यस्तै कैलालीका १० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रमा थारू उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा राजपाका कृष्ण चौधरी (१ क), माओवादी केन्द्रका वीरभान चौधरी (३ क) र एमालेका नेपालु चौधरी (५ क) छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र १ को प्रदेशसभामा एमालेका कुलवीर चौधरी (१ ख) विजयी भएका छन ।

कैलालीमा थारू समुदायको मत निर्णायक मानिन्छ । थारू समुदायको मत निर्णायक भएकाले ठूला दलहरुले प्रत्येक निर्वाचन क्षेत्रमा थारू उम्मेदवारलाई प्राथमिकतामा राखेका थिए ।
वाम गठबन्धनले ५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र  नम्बर ३  र ५ मा थारू समुदायलाई उम्मेदवार बनाएको थियो ।  
यसैगरी प्रदेशमा ४ जना उम्मेदवार वाम गठबन्धनका थिए । कैलाली १ मा एमालेका तर्फबाट उम्मेदवार बनाइएका लालवीर चौधरी र नेपबहादुर चौधरी पराजित भए भने २ जनामात्र विजयी भए ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर ३ मा रामजनम चौधरीलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले प्रदेशमा थारू समुदायबाट ५ जना उम्मेदवार बनाएको थियो । कांग्रेसका थारू समुदायबाट उठेका पाँचैजना पराजित भए । प्रदेश ७ मा प्र्रतिनिधिसभामा १६ र प्रदेशसभामा ३२ जना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा र प्रदेसशभामा थारू समुदायको प्रतिनिधित्वसँगै जनप्रतिनिधिले थारू अधिकारका पक्षमा अवाज उठाउने थारू कल्याणकारी सभाका पूर्वसभापति प्रभात चौधरी बताउँछन् । ‘निर्वाचित थारू नेताले प्रदेशसभा र प्रतिनिधिसभामा थारूका अधिकार उठाउनेछन्,’ उनले भने ।

प्रकाशित: २ पुस २०७४ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App