७ वैशाख २०८१ शुक्रबार
कला

‘जति आलोचना गर्छन् उत्ति लेख्छु’

सामीप्यराज तिमल्सेना
काठमाडौं–२५ भन्दा बढी उपन्यास र दर्जनौ कथा र अन्य फुटकर रचनाका कुसल कालिगढ हुन् धु्रवचन्द्र गौतम । आख्यान पुरुषको उपाधि पाएका गौतम पुस २ बाट ७५ औं वर्षमा प्रवेश गर्दैछन् । यही सन्दर्भमा नागरिकले गरेको कुराकानीको सारसंक्षेप  ः
१. जीवनको ७५ औं वर्षमा प्रवेश गर्नु भएको छ । कस्तो लागिराछ ?
निश्चय नै भाग्यमानी महसुस गरिरहेको छु । नेपालमा यो बीचमा धेरै खाले परिवर्तनहरू आए । त्यो सबैको साक्षी बस्न पाउँदा आफ्नो जीवन सार्थक नै भएको महसुस गरेको छु । 
२. जन्मदिनमा केही विशेष कार्यक्रम पनि छन् कि ?
त्यस्तो विशेष केही छैन । एक दुई जना साथीले खानपिनको कार्यक्रम राखेका छन् । त्यहाँ जान्छु त्योभन्दा पर केही छैन । 
३. खानपिनको कुरा हुँदा पिउने कुरामा पनि तपाईँको नाम अगाडि आउँछ । निर्धक्कसँग भन्ने पनि गर्नु भएको छ ?
पिउने कुरा लुकाउनु पर्छ जस्तो लाग्दैन मलाई  । फरक यत्ति हो तपाईँले मात्रामा नियन्त्रण गर्नुहुन्छ कि हुन्न ? अथवा तपाईँको पियाइले अरुलाई असर गर्छ कि गर्दैन ? असर नगर्दा सम्म लुकाउनु छिपाउनु पर्छ जस्तो लाग्दैन । तर, अहिलेसम्म पनि पिउने गरि कसैको फोन आएको छैन त्यो भएर भोलिको दिन साधारण खानपिनमा बित्छ । 
४. ७५ वर्ष लामो कालखण्डलाई फर्केर हेर्दा कस्तो देख्नु हुन्छ ?
 म आफ्नो जीवनबाट अत्यन्त सन्तुष्ट छु । निम्न वर्गीय परिवारबाट आएको मानिस हुनाले मैले असफलता पनि उत्तिकै देखे, भोगेको छु । व्यक्तिगत होस् वा व्यवसायिक दुवै हिसाबले आफ्नो जीवन सफल लाग्छ । 
५. ‘तथाकथित’ पछि  तपाईँको लेखनी पहिला जस्तो धारिलो नरहेको टिप्पणी सुनिने गरेको छ ?
त्यो पाठक वा समालोचकको दृष्टिकोण होला , त्यसमा मेरो खास टिप्पणी छैन । तर, मैले जति लेखेको छु, इमान्दारिताका साथ लेखेको छु । २५ वटा उपन्यास लेखेको छु, एकादुई असफल भए होलान् । शतप्रतिशत सफल छन् भनेर मैले कतै दाबी गरेको पनि छैन । समालोचक पनि छन् गुण र दोष छुट्याउने । 
६. तर, तपाईँलाई धेरैले आलोचना सहन नसक्ने लेखक भन्छन् ?
म्ैले नसहेर उनीहरूले आलोचना गर्न छाडे र ? छाडेका छैनन् । जसरी उनीहरूले मेरो आलोचना छाडेका छैनन्, उनीहरूले आलोचना गरे भनेर मैले पनि लेख्न छाडेको छैन । जति आलोचना गर्छन् उत्ति लेख्छु । किनकि आलोचकलाई मेरो जवाफ हो । जहाँसम्म आलोचना नसहेको आरोप छ, कसैले देखाओस् मैले नसहेको कहाँ देखिएको छ । 
७. आलोचकहरू त के सम्म भन्छन् भने तपाईँको लेखन र व्यक्तिगत जीवनमा बिरोधाभास देखिन्छ ।  उपन्यासका पात्रहरूले  चाकरी र चाप्लुसीको विरोध गर्छन् तर तपाईँमा त्यही प्रवृति देखिन्छ ?
यो त बिल्कुलै मिथ्या आरोप हो । ल भन्नुस् मैले यसो गरेर कहाँबाट केको लाभको पद लिएँ । जीवनभर शिक्षक रहे । जम्मा एकचोटि एकेडेमीमा गएँ । लेखनमा सदा समर्पित रहे । यो त एकदमै अमिल्दो आरोप भयो । 
८. प्रसंग बदलौं, तपाईँले लेखेका पुस्तकमध्ये तपाईँ आफैंलाई  कुन पुस्तक सबैभन्दा बढी मन पर्छ ? 
एउटा मात्र छान्नु पर्दा त ‘कट्टेल सरको चोटपटक’
९. पात्र नी ?
‘अग्निदत्त प्लस अग्निदत्त’को ‘अग्निदत्त’ । त्यसपछि ‘कट्टेल सरको चोटपटक’को बासुदेव मन पर्छ । म आफैं पनि शिक्षक भएको हुनाले त्यो पात्रमा आफ्नोपनको महसुस हुन्छ । 
१०. पाठकले अब तपाईँको कुन कृति पढ्न पाउँछन् ?
मैले अनुभवन्यासको शृंखला सुरु गरेको थिएँ । त्यसका तीन शृंखला आइसकेका छन् । चौथो तथा अन्तिम ‘एक आनाको जमाना’ चाँडै बजारमा आउँछ ।
११. कुनै विषय छ जुन तपाईँले चाहाँदा चाहाँदै पनि लेख्न सक्नु भएन तर नयाँ पुस्ताले लेखिदिएहुन्थ्यो भन्ने ?
त्यस्तो छैन । एकदमै राम्रो विषय भए त अझै पनि आफैं लेख्न सक्छु भन्ने आँट छ । होलान् केही विषय जसमा मेरो सोचाइ नपुगेको होला । 
१२. साहित्य बजारकेन्द्रित भयो भन्ने गुनासो छ ? के यसले साहित्यलाई खराब गर्छ ?
मलाई त यसले बिगार गर्छ जस्तो लाग्दैन । किनकि बजारमा पनि त्यही लेखक मात्र बाँच्छ जसले पाठकलाई चित्त बुझाउन सक्छ । तडकभडकले पाठकलाई केही दिन अल्मल्याउन सक्छ, तर सधैंभरिलाई अँध्यारोमा राख्न सक्दैन । 
 

 

प्रकाशित: २ पुस २०७४ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App