८ वैशाख २०८१ शनिबार
खेल

नेपाल एसिसी यु–१६ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं– नेपाल र सिंगापुरले एसिसी यु–१६ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले शनिबार थाइल्यान्डमा भइरहेको प्रतियोगितामा मलेसियालाई ७२ रनले हराउँदै फाइनलमा पुगेको हो । अब नेपालले ट्रेडथाइ क्रिकेट मैदानमा आइतबार सिंगापुरसँग फाइनल खेल्नेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सुरुआतमा ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो । 
जबाफमा  मलेसियालाई २१.१ ओभरमा ५५ रनमा अलआउट गर्न नेपाल सफल भयो । नेपालले समूहचरणमा सानदार प्रदर्शन गरेको थियो । तर नेपालले शनिबार मलेसियासँग पछिल्ला तीन खेलमा जस्तो खेल देखाउन सकेन । 

सूर्य तामाङ र प्रतीश जिसीले मिलेर ७ विकेट लिएपछि १ सय २९ रनको लक्ष्य लिएको मलेसियालाई नेपालले ५५ रनमा रोक्न सफल भएको थियो ।

प्रतीश जिसीले बनाएको २५ रन नै नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर थियो । नारायण जोशी र सुनील भण्डारीले समान १७ रन बनाए । विशालविक्रम केसीले १५ रन बनाए । ओपनर राजन मगरले ११ र कुशल मल्लले ६ रन मात्र बनाउन सके ।  चौथो विकेटका लागि त्रितराज दास र रित गौतमले बनाएको २४ रन नै  शनिबार नेपालको सर्वाधिक साझेदारी थियो । यसअघि म्यानमारविरुद्ध रित र प्रतीशले सातांै विकेटका लागि अविजित १ सय १२ रनको योगदान गरेका थिए, जुन प्रतियोगिताकै सर्वाधिक रनको साझेदारी पनि थियो । तर नेपाली खेलाडीले मलेसियाविरुद्ध गतिलो साझेदारी गर्न सकेनन् ।  
शनिबार मलेसियाका लागि मोहमद अफिकले सर्वाधिक ३ विकेट र सलमान खान मल्लिकले २ विकेट लिए ।  सूर्य तामाङ र प्रतीश जिसीले मिलेर ७ विकेट लिएपछि १ सय २९ रनको लक्ष्य लिएको मलेसियालाई नेपालले ५५ रनमा रोक्न सफल भएको थियो । सूर्यले ४ विकेट र प्रतीशले ३ विकेट लिएका थिए । सूर्यले ७ ओभरमा १२ रन खर्चे भने प्रतीशले ६ ओभरमा २३ रन दिएका थिए । अजयकुमार लोनिया र कुशल मल्लले समान १ विकेट लिए । यसै गरी अर्को खेलमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित ग¥यो । सुरुआतमा ब्याटिङ गरेको हङकङले ३४.४ ओभरमा १ सय २३ रन बनाएको थियो । 
जबाफमा सिंगापुरले २४ ओभरमा २ विकेट गुमाउँदै जित हासिल ग¥यो । सिंगापुरको जितमा कप्तान अमन देसाईले सर्वाधिक ५५ रन र इसान स्वानेले ४८ रन बनाए । अमनले ७० बलमा ५५ रन बनाउँदा ८ चौका प्रहार गरे । सिंगापुरका लागि अमन र इसान स्वानेले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ का सबै तीन खेल जितेर सेमिफाइनलमा पुगेको थियो । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि मानसिक रूपमा दबाब दिने गरेको थियो । 
तर शनिबार ब्याट्सम्यानले गतिलो स्कोर जोडन नसके पनि बलरले भने आफ्नो क्षमतालाई देखाउँदै नेपालको जित सुनिश्चित गरेका थिए । नेपाली बलर हाबी भएपछि मलेसियाले आफ्नो लक्ष्य पूरा गर्न सकेन ।  प्रतियोगिताको यसअघिको खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले हराएको थियो । जुन नतिजा प्रतियोगिताकै सर्वाधिक फराकिलो जित थियो ।  म्यानमारविरुद्ध कप्तान रितले अविजित रहँदै शतक पूरा गरेका थिए । तर उनले पनि शनिबार अपेक्षा गरेअनुरूप रन बनाउन सकेनन् । 
नेपालले प्रतियोगितामा आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले हराउँदै विजयी सुरुआत गरेको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएपछि नेपालको सेमिफाइनल स्थान सुरक्षित भएको थियो । नेपालले आइतबार सिंगापुरलाई हराए कीर्तिमानी उपलब्धिसहित स्वदेश फर्कनेछ । नेपालले सुरुआतदेखि प्रतियोगितामा सफलता हासिल गरिरहेको छ । निरन्तर विजयी यात्रालाई जारी राखेको नेपाली टोलीकै सदस्य प्रतियोगितामा सर्वाधिक रन र विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । प्रतियोगितामा चार खेलबाट नेपालका त्रितराजले सर्वाधिक १ सय ४३ रन बनाउँदै व्यक्तिगत सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अगाडि छन् । त्यसै गरी दोस्रो स्थानमा पनि नेपालकै रित गौतम छन् । उनले १ सय ३३ रन जोडेका छन् । यसै गरी नेपालका नारायण जोशी र मलेसियाका मोहमद अफिकले समान १० विकेट लिएका छन् । 

 

प्रकाशित: २ पुस २०७४ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App