coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चितवन टाइगर्सको टोली सार्वजनिक

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्लब चितवन टाइगर्सले शनिबार तीन खेलाडीसहितको टोली सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट हुने प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन भारतीय खेलाडी सावेज खान, प्रवीण गुप्ता र प्रमेश कुमारलाई यस सिजनका लाागि अनुबन्धित गरेको हो । सावेज खानले उत्तर प्रदेशबाट ५३ वटा रणजी ट्रफी खेलिसकेका छन् । दिल्लीका सावेज खान र हरियाणाका प्रमेश कुमारले स्थानीय क्लबबाट खेल्दै आएका छन् ।
 यु–१९ क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी ‘मार्की प्लेयर’ रहेको चितवन टाइगर्समा अनिल मण्डल, दिलीप नाथ, सुनाम गौतम सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, आकश थापा र गौतम केसी रहेका छन् । आकाश र गौतम ‘ट्यालेन्ट हन्ट’ बाट आएका खेलाडी हुन् । गौतमको नाम टोलीबाट खेल्ने खेलाडीको सूचीमा समावेश नभए पनि उनलाई प्रशिक्षणको व्यवस्था गर्नुका साथै सबै सुविधा प्रदान गर्ने क्लबले जनायो । टोलीको व्यवस्थापकमा सुवास खकुरेल रहेका छन् भने कलाम अलीले प्रशिक्षण प्रदान गर्नेछन् ।

प्रशिक्षक अलीले टोलीका केही खेलाडी राष्ट्रिय टोलीमा रहेकाले सुरुआतमा अभ्यासमा असर परे  पनि पछिल्ला दिनमा तयारी राम्रो भएको बताए । अलीले थपे, ‘समग्रमा हाम्रो तयारी राम्रो भएको छ । प्रतियोगितामा हामी राम्रो चुनौती दिन सक्षम छौं ।’ ट्वान्टी–२० स्वरूपमा हुने प्रतियोगितामा काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्स रहेका छन् । चितवन टाइगर्सले मंगलबार पोखरा राइनोजविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । 
पृथु उपलब्ध हुने आशा
चितवन टाइगर्सका कप्तान पृथु बाँस्कोटा ठगीको ओरोपमा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको थियो । तथापि चितवन टाइगर्सका मालिक किशोर भट्टराईले टोलीका कप्तान पृथु उपलब्ध हुने विश्वास गरेका छन् । ‘हामीले टोलीको कप्तान परिवर्तन गरेका छैनौं,’ चितवन टाइगर्सका मालिक भट्टराईले भने, ‘उनी निर्दोष छन् । अहिलेसम्मको घटनाक्रम सकारात्मक ढंगले अघि बढिरहेको छ । त्यसैले उनी उपलब्ध हुनेमा हाम्रो विश्वास छ ।’
गत बुधबार ठमेलस्थित क्लब डेजाभुमा अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनी कार्यक्रम आयोजना गरिएको थियो । तर, अन्तिम समयमा मार्समेलो क्लबमा नआएपछि दर्शकले आक्रोशित हुँदै क्लब देजाभु तोडफोड गरेको थिए । टिकट बिक्री गरेअनुसार कार्यक्रम आयोजना नगरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पृथुलगायत अन्य सदस्यलाई प्रहरीले बिहीबार बिहान ठगीको आरोपमा पक्राउ गरेको थियो ।

 

प्रकाशित: २ पुस २०७४ ००:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App