७ वैशाख २०८१ शुक्रबार
खेल

फाइनल लक्ष्यमा नेपाली टोली

काठमाडौं–नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । 
समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको छ । नेपालसँगको खेललाई हरेक टोलीले चुनौतीका रुपमा लिने गरेका छन् । तर नेपाल आज मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ । 
नेपालले समूह चरणको पछिल्लो खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले हराउन सफल भएको थियो । जुन नतिजा प्रतियोगिताकै सर्बाधिक फराकिलो हार हो । म्यानमारविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेको थियो । कप्तान रित गौतमले अविजित रहँदै सतक पूरा गरेका थिए । समूह चरणका खेललाई अध्ययन गर्ने हो भने नेपाली खेलाडी नै सर्बाधिक रन र विकेट लिने सुचिमा अगाडी छन् । तीन खेलमा १ सय ३० रन बनाउँदै नेपालका त्रितराज दास सर्बाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । 
दोस्रो स्थानमा पनि नेपालकै कप्तान रित गौतम छन् । उनले १ सय २२ रन बनाएका छन् । तेस्रो स्थानमा रहेको हङकङका कल्हान मार्कले १ सय ३ रन जोडेका छन् । यसैगरी नेपालका नारायण जोशी जारी प्रतियोगिताको सर्बाधिक विकेट लिने खेलाडी हुन् । उनले तिन खेलमा १० विकेट लिइसकेका छन् । त्यस्तै प्रतियोगितामा सिंगापुरका आर्यन बेरी र मलेसियाका मोहमद अफिकले समान ७ विकेट लिएका छन् । प्रतियोगितामा नेपालले सुरुआत देखि नै सानदार प्रदर्शन गर्दै आएको छ । समूह ‘ए’मा रहेको नेपाल शतप्रतिशत ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । 

नेपालसँगै समूहबाट हङकङ ४ अंकसहित उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो । यता सिगापुर समूह ‘बी’ को विजेता बन्दा मलेसियाले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको थियो । बिहीबार ट्रेड थाई क्रिकेट मैदानमा त्रितराज र प्रतीश जिसीले अर्धशतक पूरा गरेका थिए । नेपालले प्रतियोगितामा आयोजक थाइल्यान्डलाई १ सय ३३ रन अन्तरमा हराउँदै विजयी सुरुआत गरेको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । 
नेपालसँग शनिबार भिड्न लागेको मलेसिया भने प्रतियोगिताको पहिलो खेलमै सिगापुरसँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा हार सामना गरे पनि मलेसिया समूह चरणका अन्य दुई खेल जितेर सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । मलेसियाले चीनलाई ४ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो । त्यसपछि समूह चरणको अन्तिम खेलमा मलेसियाले भुटानलाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 
थाइल्यान्डमा भैरहेको प्रतियोगितामा सहभागिताकै लागि नेपालले सघर्ष गर्नु परेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको कारण युवा टोलीको सहभागितामा अप्ठयारोमा परेको थियो । आर्थिक कारणले टोली प्रतियोगितामा सहभागि हुन समस्या परिरहेको बेला सूशील कोइराला फाउन्डेसनले यु–१६ टोलीलाई आर्थिक सहयोग गरेको थियो । फाउन्डेसनको सहयोगमा प्रतियोगिता खेल्न गएको युवा टोलीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिष्ठा बढाउन मिहिनेत गरिरहेका छन् । 

 

प्रकाशित: १ पुस २०७४ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App