७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सोमालियालीलाई खाद्यान्नको खाँचो

मोगादिसु – सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ। 

आन्तरिक द्वन्द्व, खडेरी लगायतका कारण नागरिकको आधारभूत आवश्यकताको उपलब्धतामा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा देखाइएको छ। जसका कारण सोमालियाको ठूलो जनसङ्ख्याले मानवीय सहयोगका लागि विश्व समुदायको भर पर्नुपर्ने अवस्था रहेको पाइएको छ। 

सोमालियाको मानवीय आवश्यकता समिक्षा समूहले केही समय पहिले जारी गरेको प्रतिवेदनमा अर्को वर्ष मुलुकको झण्डै आधा जनसङ्ख्या अर्थात् ६२ लाख जनतालाई आधारभूत मानवीय सहयोगको खाँचो हुने जनाइएको थियो। 

संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि संयोजक पिटर डे क्लर्कले सोमालियामा खासगरी यहाँको आन्तरिक द्वन्द्व र खडेरी नै मानवीय सहायताका लागि मुख्य कारक मानिएको जानकारी दिएका छन्। 

सोमालियामा गएको चार वर्षसम्म आवश्यक मात्रामा वर्षा भएको छैन । कम वर्षाका कारण यहाँको द्वन्द्वबाट विस्थापित भएर बसेका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ। 

यसरी विस्थापित जनतामध्ये करिब एक तिहाईलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको छ। यो आवश्यकता आगामी वर्ष झनै बढ्दै जाने छ। 

प्रकाशित: २९ मंसिर २०७४ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App