७ वैशाख २०८१ शुक्रबार
खेल

रियो ओलम्पिकको नौलो उद्‍घाटन

रियो दी जेनेरियो- चमकमा कमजोरी भए पनि शुक्रबार रियोले भावनात्मक रूपमा रियो ओलम्पिक २०१६ को उद्घाटन सम्पन्न गरेको छ। सीमित बजेट र महत्वपूर्ण समयको आर्थिक मन्दीले दक्षिण अमेरिकामा हुन लागेको पहिलो ओलम्पिकको तयारी नराम्ररी प्रभावित भएको थियो। त्यसैले ब्राजिलले ३१ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनमा भव्यतालाई जानीजानी कम गर्दै ग्लोबल वार्मिङका कारण विश्वले भोग्न थालेको पीडाको सन्देश दिनमा समारोह केन्द्रित भयो।

बेइजिङले २००८ तथा लन्डनले २०१२ मा गरेभन्दा पृथक थियो, रियोको उद्घाटन समारोह। रियोले ग्लोबल वार्मिङको सन्देश दिनका लागि ग्राफिकमार्फत सतह बढ्दै गरेका समुद्रले विश्वका मुख्य सहरहरूलाई प्रभाव पारेको देखायो।

'बढ्दो तापक्रमले हिउँ पगाल्दैछ,' माराकाना रंगशाला गुन्जायमान थियो, 'चाँडै हिउँ हराउने छ।'

सधँै साम्बा र रमझममा रमाउने सहरले ओलम्पिकको उद्घाटन फरक रूपमा गर्ने प्रयास गरे पनि त्यसमा पूरा बेवास्था पनि गरिएको थिएन। सुपरमोडल जिसेले बुन्डचेन 'दी गर्ल फ्रम इपानेमा' को धूनमा मजाले जमेकी थिइन् भने आतिशबाजीले रियोको आकाश चिर्लाजस्तो गरेको थियो। ब्राजिली नृत्य साम्बाको मजासँगै ब्राजिलको राष्ट्रिय रंग पहेँलो र हरियोलाई विशेष महत्वका साथ प्रस्तुत गरियो।

खचाखच भरिएका ७८ हजार दर्शकका बीच बुन्डचेनले रंगशालामा यताउता गरिरहँदा टम जोबिमका नाति ड्यानिअलले आफ्ना हजुरबुवाको गीत 'इपानेपा गर्ल' गाएका थिए।

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले भिडियो सन्देशमार्फत रियो ओलम्पिक 'मानवताको पक्षमा सबैभन्दा राम्रो' समारोह भएको बताए। उनले दुई सातासम्म चल्ने विश्व खेलकुदको सबैभन्दा ठूलो मेलाबाट हतियार उठाएका सबै पक्षलाई शान्तिको बाटोमा फर्कन आह्वान गर्न पनि अनुरोध गरे।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइसिसी) ले २००९ मा यो ओलम्पिक आयोजकका रूपमा रियोलाई छान्दा दाबी गर्ने अन्य सहरमा सिकागो, टोकियो र मड्रिड पनि थिए। त्यतिबेला आर्थिक र राजनीतिक रूपमा सबैभन्दा कमजोर दाबेदार रियो नै थियो। ६५ लाख जनसंख्या भएको सहरले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला गर्न नसक्ने भय पनि देखाइएको थियो।

लामखुट्टेको टोकाइका कारण हुने जिका भाइरसबाट उत्पन्न स्वास्थ्य समस्याले केही खेलाडीलाई अन्तिम समयमा रियोबाट बिछोड गरायो। स्वास्थ्यको कारण देखाउँदै केही खेलाडीले अन्तिम समयमा सहभागिता फिर्ता लिएका थिए। समयमै रियोको फोहोर पानीलाई सफा गर्ने प्रतिवद्धता पनि पूरा भइसकेको छैन। ओलम्पिकका लागि खर्च भएको १२ अर्ब डलरले देशभित्र असन्तुष्टि बढ्दो अवस्थामा रहँदा उदघाटन समारोहको केही समयअघि पनि रंगशाला बाहिर आन्दोलनकारीको समूहले प्रदर्शन गरेको थियो। तर, हतियारधारी सुरक्षाकर्मीले सानो संख्याका प्रदर्शनकारीलाई तत्काल नियन्त्रणमा लिए। आर्थिक मन्दीको चपेटामा रहेको देशले शिक्षा, स्वास्थ्य, यातायात र अन्य अत्यावश्यक क्षेत्रमा गर्नुपर्ने लगानी खेलकुदका प्रतियोगिता गर्न खर्चेको भन्दै ठूलो संख्यामा ब्राजिलीहरू सरकार र ओलम्पिक आयोजकको विरोधमा छन्। दुई वर्षअघि ब्राजिलले विश्वकप फुटबल गर्दा पनि यस्तै आवाज उठेका थिए।

आइओसीका अध्यक्ष थोमस बाचले ब्राजिलको समारोहबाट आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताएका छन्। 'ब्राजिलको इतिहासकै अत्यन्त कठिन समयमा तपाईहरूले यस्तो भव्य समारोह सम्पन्न गर्नुभएको छ। त्यसैले पनि हामी यसको अझ बढी प्रशंसा गर्न चाहन्छौं। ब्राजिलमाथि हाम्रो विश्वास सधैँ थियो,' बाचले भने।

ओलम्पिक उद्घाटन गर्ने अवसर ब्राजिलकी अलोकप्रिय कार्यवाहक राष्ट्रपति मिचेल टेमेरले पाए। तर उनले रियो ओलम्पिक सुरु भएको घोषणा गरिरहँदा दर्शकले भने उनलाई हतोत्साही गरिरहेका थिए। चार महिनाअघि भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका राष्ट्रपति डिल्मा रौसेफको सट्टा टेमेर राष्ट्रप्रमुखका रूपमा उपस्थित भएका थिए। पछिल्ला वर्षहरूमा ब्राजिलमा भएका शृंखलावद्ध भ्रष्टाचार र कुशासनका घटनाहरूको प्रभाव ओलम्पिक उद्घाटन समारोहमा पनि देखियो।

२५ भन्दा कम देशका राष्ट्रप्रमुख मात्र रियो उद्घाटन समारोहमा उपस्थित थिए। जसका कारण दक्षिण अमेरिकाको नेतृत्व गर्ने ब्राजिलको उद्देश्यलाई समेत अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको सन्देश गएको आलोचकहरूले बताए।

सहभागी ६ हजार १ सय ८२ पुरुष र ५ हजार १ सय ६ महिला गरी कुल ११ हजार २ सय ८८ खेलाडीका तर्फबाट दुईपटकका ओलम्पियन ब्राजिली सेलिङ खेलाडी रोबर्ट सेइट्टले सपथ ग्रहण गरे। सपथमा उनले भनेका थिए, 'हामीहरू प्रतिबन्धित लागूऔषध सेवन गर्नेछैनौं।' जारी रियो ओलम्पिकमा डोपिङ अपराधका कारण सयभन्दा बढी रुसी खेलाडी प्रतिबन्धित भएका छन्।  

प्रकाशित: २३ श्रावण २०७३ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App