coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘अग्ला भवनले उपत्यका कुरूप बन्यो’

शंकर बिसी, मोडल

तपाईंलाई मनपर्ने सहर कुन हो ?

 

मलाई पोखरा धेरै प्रिय लाग्छ । यो सहर निकै मनमोहक छ । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । यहाँ पाइने विशेषता अन्तका सहरमा पाइँदैन । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्त देखेको छैन । अर्को कुरा, पोखरा सहरनजिकै गाउँ भेटिन्छन् । ती गाउँको विषेशता र मौलिकता अति नै मनपर्छ ।

हामीलाई प्रकृतिले धेरै नै सुन्दर बनाएको छ । मौलिकताको हिसाबमा पनि हाम्रा सहर पृथक् छन् । मात्र हाम्रो सरकारी काम फितलो भएको हो ।

विदेशी सहर कत्तिको घुम्नुभएको छ ?
मैले करिब १० वटा देशका मुख्य सहर घुमेको छु । तीमध्ये अमेरिका, हङकङ र दुबईका सहर मलाई साह्रै मनप¥यो । आजभन्दा करिब २५ वर्ष अघिसम्म भरुभूमिजस्तै देखिने दुबई आज हराभरा भएको छ । मरुभूमिमा पनि फूल फुलेका छन् । संसारकै नमुना भवन निर्माण भएका छन् ।
हाम्रोमा प्रकृतिले धेरै साथ दिँदादिँदै पनि हामी पछि परेका छौँ । यसको मुख्य कारण हो, हामीले प्राकृतिक सौन्दर्य र सहरलाई चिन्न नसकेनौँ ।

विदेशी सहर घुम्दा कस्तो अनुभूत गर्नुभयो ?
म निकै नै अचम्ममा परेको थिएँ । नेपाल छाड्नुभन्दा पहिले विदेशी मुलुकका सहर यस्ता छन् भनेर सुनेको मात्रै थिएँ, पछि आफैँले प्रत्यक्ष घुम्न पाउँदा निकै नै खुसी लाग्यो । विदेशी मुलुकका सहर निकै नै विकसित र आधुनिक लाग्यो । सहरमा कतै फोहोर देखिँदैन । सडक र सार्वजनिक यातायात निकै नै व्यवस्थित छ । नीति–नियम बलियो भएकाले पनि यी सहर यति व्यवस्थित भएका हुन् ।

तपाईं घुमेका विदेशी सहर र नेपालका सहरबीच के भिन्नता पाउनुभयो ?
विदेशी सहर नेपालका सहरभन्दा धेरै नै फरक छन् । त्यहाँका सहर प्रविधिमैत्री छन् । त्यहा“ कतै फोहोर भेटिन्न । हरेक कुरा व्यवस्थित लाग्छ । हाम्रो देशका सहर प्राकृतिक र ऐतिहासिक रुपमा त धेरै सुन्दर छन् । यहाँका ऐतिहासिक धरोहर र सांस्कृतिक सम्पदाले आज विश्वको ध्यान तानेको छ । यहाँ सुन्दर हरियाली डाँडाकाँडा छन् ।
विश्वका धेरै मुलुकका सहर मानिसले बनाएका हुन् । हाम्रा सहर र ठाउँलाई भने प्रकृतिले नै सजाएको छ । तर, हाम्रो सरकारले भएका विशेषता पनि चिन्न सकेन ।

हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
विदेशी मुलुकमा सरकारको नीति–नियम कडा छ । सहरमा गल्ती गर्नेलाई तुरुन्त कारबाही हुन्छ । सहरमा कसैले फोहोर गर्न पाउँदैनन् । आफ्नो फोहोर आफैँले व्यवस्थापन गर्नुपर्छ । त्यहाँ सहरवासीले सबैखाले सेवा–सुविधा उपभोग गर्न पाएका हुन्छन् । रातारात विकास निर्माणका काम हुन्छन् । कतै भत्किएको र बिग्रेको देखिन्न । हाम्रा सहर विकासको हिसाबमा धेरै नै पछि छन् । हाम्रोमा नीति भयो तर नेतृत्व भएन । सहरको विकास गर्छु भन्ने नेताहरू सत्ताको खेलमा लागे ।
नेपालका सहर विकसित देशका सहरजस्तै बन्न सक्दैनन् ?
बन्न त सक्छन्, तर समय लाग्छ । तीव्र गतिमा विकासतर्फ लाग्ने हो भने पाँच वर्षमै हाम्रा सहर विकसित देशका सहरजस्तै सुन्दर बन्न सक्न सक्छन् । हाम्रो र अरु देशको प्राकृतिक भिन्नता बेग्लै छ । हामीलाई प्रकृतिले धेरै नै सुन्दर बनाएको छ । मौलिकताको हिसाबमा पनि हाम्रा सहर पृथक् छन् । मात्र हाम्रो सरकारी काम फितलो भएको हो ।

उपत्यका कस्तो लाग्छ ?
उपत्यका साँच्चिकै दिक्कलाग्दो भएको छ । यहाँ जताततै भद्रगोल मात्रै देखिन्छ । आनन्दको अनुभूति गरौँ भन्ने ठाउँको अभाव हुन थालेको छ । यद्यपि विकास निर्माण भइरहेकै छ, अब केही होला जस्तो लाग्छ । तर, वर्ष दिनअघि भत्काएको सडक नबनेको देख्दा यो सहर सधैँ उस्तै त हो भन्ने पनि लाग्छ । काठमाडौंलाई यति अस्तव्यस्त बनाएको हामीले नै हो । यो सहर नेपालको धरोहर हो । जनसंख्याको चापले यो सहर अव्यवस्थित भएको छ । अब यहाँका सुविधा अन्यन्त्र सारेर काठमाडौंलाई अलि खुकुलो बनाउन आवश्यक छ ।

उपत्यका के कारणले कुरूप भएको होला ?
उपत्यका कुरूप हुनुको मुख्य कारण सहर छेक्ने अग्ला भवन हुन् । बिजुलीका तार, खाल्डाखुल्डी सडकले पनि सहरलाई कुरूप बनाएका हुन् । यहाँका सडक पनि साँघुरा छन् । भित्री गल्लीमा एम्बुलेन्स र दमकल छिर्न सक्दैनन् । सरकारले सडकलाई फराकिलो पार्न सकेको भए सहर अलि व्यवस्थित हुन्थ्यो होला ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
ऐतिहासिक सम्पदा र मठ–मन्दिरले सजिएको सहर हो, उपत्यका । यहाँ मौलिकता बोकेका सम्पदा छन् । तर, तिनको उचित संरक्षण भएको छैन ।
मननपर्ने पक्ष ?
ट्राफिक जाम, भीडभाड, सडकछेउमा लत्रिएका तार,  प्रदूषणले उपत्यकालाई कुरूप बनाएको छ ।  

तपार्इंको सपनाको सहर कस्तो होला ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ सडक व्यवस्थित होऊन्, सडकछेउछाउ सफा र हरियाली देखियोस्, आफूले चाहेका सुविधा सहजै लिन सकियोस् । यति भयो भने सहर सुन्दर हुन्छ ।
सहरवासीको मननपर्ने बानी के हो ?
हाम्रा सहरवासी सहरप्रति जिम्मेवार छैनन् । सबैले आफ्नो मात्रै सोच्छन् । कसैले पनि आफ्ना कारणले  सहर बिग्रिएको छ भन्ने सोच्दैनन् ।
पछिल्लो समय घुमेको सहर कुन हो ?
म केही समय अघिमात्रै दुबईको अबुधाबी पुगेको थिएँ ।
कस्तो लाग्यो ?
निकै सुन्दर  र व्यवस्थित लाग्यो । दुबईलाई मरुभूमिको देश भने पनि यहाँका सहर युरोपका सहरभन्दा कम्ता छैनन् । सहर फूलैफूलले सजिएको छ । गिनिज बुकमा नाम लेखाएका अग्ला–अग्ला भवन पनि यही देशमा छन् ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई अस्ट्रेलिया जाने मन छ । समय मिल्यो भने यहाँ पनि पुग्छु होला ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २९ मंसिर २०७४ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App