coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक चुनाव जिते । आफू हुर्केबढेको जिल्ला चितवनबाट भने पहिलोपटक चुनावमा उठेर जिते पनि । कस्तो रह्यो उनको अनुभव ? बिहीबार बिहान दाहालले भने, ‘वास्तवमा चुनावमै उठेजस्तो पहिलोपटक महसुस भयो ।’

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार रहेका दाहालले प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३ सय ४१ मतान्तरले पराजित गरे । दाहालले ४८ हजार २ सय ७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याए । नेपाली कांग्रेसको समर्थन पाएका पाण्डे सो क्षेत्रका लोकप्रिय नेता पनि हुन् । त्यसैले चुनाव जित्न दाहालले धेरै नै मेहनत गर्नुपरेको थियो । बिहीबार बिहान भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन आएका दाहालले अरु विजयी सहकर्मीलाई देख्नासाथ भने, ‘चुनावै लडेझैं त यो पटक पो भयो ।’ सम्मान कार्यक्रममा बोल्दा उनले आफ्ना अनुभव सुनाउन छुटाएनन् ।
दाहालले १० वर्षसम्म सशस्त्र संघर्षको नेतृत्व गरे । शान्तिसम्झौतापछि पहिलो पटक २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा उनी रोल्पा र काठमाडौंबाट चुनावमा उठेर विजयी भए । ७० सालको दोस्रो संविधानसभा सभा निर्वाचनमा उनी सिरहा र काठमाडौंबाट उठे, सिरहामा विजयी भए पनि काठमाडौंमा पराजित भए ।
    ‘त्यो बेला वास्तवमा चुनावै लडेजस्तो महसुस मलाई भएको थिएन । अहिले आफ्नै गृह जिल्लामा आउँदा बल्ल चुनाव लडेको जस्तो, बडो नजिकबाट जनभावना बुझ्न खोजेजस्तो यो पटक भयो’, दाहालले भने । यो चुनावले चुनावमा हुने सबै खालका तितामिठा अनुभव पहिलो पटक गरेको दाहालले बताए । ६४ सालमा रोल्पामा एउटा सभा गरेर चुनाव जितेको दाहालले बताए ।
    काठमाडौंमा पनि पहिलोचोटि जित्दा एकदुईवटा सभा गरेको दाहालले सम्झना गरे । ‘सिरहामा पनि मैले त्यस्तो गर्न परेको हैन । बरु दोस्रो संविधानसभा निर्वाचनका बेला चुनाव होलानहोला भन्ने स्थिति थियो । म शान्तिसम्झौता र यो परिवर्तनको नेता हुनुको हैसियतले चुनाव नहोला कि भन्ने डरले आफ्नो निर्वाचन क्षेत्रमा जाँदै गइनँ । मेची महाकाली यात्रा गरेर देशव्यापी रुपमा चुनावी माहोल बनाउन लागें’, दाहालले भने ।
यस कारण व्यक्तिगत रुपले चुनावको तितोमिठो चितवनमा आएर चुनाव लडेका कारण नै बुझ्न पाएको दाहालले बताए । मनोनयन दर्ताको अघिल्लो दिन नै चितवन आएका दाहाल मनोनयनकै दिन भरतपुरमा भएको सभामा प्रमुख अतिथिका रुपमा बोलेका थिए । उनी चुनावका बेला केही समयमात्रै जिल्लाबाहिर रहे, अधिकांश समय आफ्नै चुनावी क्षेत्रमा बिताए, विकट मानिएको माडीका बस्तीबस्तीमा पुगे । बाँदरझुलाजस्तो सुदूर गाउँमा गए । माडीमा दुईवटा सभा गरे । एउटा सभामा एमाले अध्यक्ष केपी ओली नै आएर भाषण गरे । माडीको सभाअघि ओलीसहित एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापा तथा मातृका यादवले दाहालको निर्वाचन क्षेत्र भरतपुरको केन्द्रीय बसपार्कमा भएको सभालाई सम्बोधन गरेका थिए ।
चुनावका बेला दाहाल पुत्रवियोगको पीडामा परे । चितवनमा माओवादीको संगठन खासै बलियो थिएन । स्थानीय तह निर्वाचनमा कांग्रेससँग माओवादीले तालमेल गरेको थियो । त्यो बेला मतपत्र च्यात्नेजस्तो घटना भएका कारण एमालेसँग माओवादीको तिक्ततापूर्ण सम्बन्ध थियो । यो निर्वाचनमा भने कांग्रेससँग नभएर एमालेसँग तालमेल भएको थियो ।
स्थानीय तहको चुनावको सहयात्रीलाई छाडेर त्यो बेला कटु सम्बन्धमा रहेको एमालेको सहयोगमा चुनाव लड्दै गर्दा दाहाललाई सजिलो पक्कै थिएन । यो चुनावमा कांग्रेसले आफ्नो उम्मेदवारसमेत नउठाएर त्यो क्षेत्रका लोकप्रिय व्यक्ति पाण्डेलाई समर्थन गरेपछि दाहाल ढुक्कसँग बस्ने अवस्था नै थिएन ।

प्रकाशित: २९ मंसिर २०७४ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App