coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हो, म नै हो मुख्यमन्त्री : शेरधन राई

भोजपुरबाट प्रदेश सभामा निर्वाचित शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री हुने चर्चा छ । उनीसँग गरिएको कुराकानी:

चुनाव जित्नुभयो, कस्तो अनुभव गर्नुभएको छ ?
म भारी मतान्तरमा निर्वाचित भएको छु । मेरो जित र मतपरिणामलाई स्वाभाविक ठानेको छु । मलाई यतिबेला एकातिर गर्वको महसुस भइरहेको छ भने अर्कोतर्फ गहिरो जिम्मेवारीबोध भइरहेको छ । जनताको जुन आशा, विश्वास र भरोसाको मत एकलौटी रूपमा मलाई खसेको छ यसको उच्च सम्मान गर्दै अब मेरो काँधमा आएको जिम्मेवारी, चुनौती र अवसरलाई कुनै कसर बाँकी नराखी पूरा गर्ने वचनबद्धता व्यक्त गर्छु ।
वाम गठबन्धनलाई प्राप्त बहुमतलाई कसरी लिनुभएको छ ?
निश्चय नै यसपटकको ऐतिहासिक निर्वाचनमा वामगठबन्धनको पक्षमा जनताले आफ्नो अभिमत जाहेर गरेका छन् । यो परिणामलाई म स्वाभाविक ठान्छु । यसकारण कि हामीले यसपटक नेपाल राष्ट्र र नेपाली जनतालाई स्थिर र बलियो सरकार दिने कुरा गरेका छौँ । देशलाई, नेपाली जनतालाई स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासनको बाटोमा लाने र जनताको विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि बढाउने कुरा गरेका छौँ । यो आजको राष्ट्रिय आवश्यकता हो, आम जनताको साझा चाहना र आकांक्षा हो, त्यसैले वामगठबन्धनको अपिललाई जनताले अनुमोदन गरिदिनुभएको छ । अव देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ । जनताको विकास र समृद्धि प्राप्त गर्ने चाहना तीव्र गतिमा अगाडि बढ्छ । अब देश कसैको चाहना वा कामनाले उल्टो दिशामा फर्कन सक्दैन, यथास्थितिमा रहन सक्दैन ।
तपाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ?
हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ । म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको, त्यतिमात्र होइन संविधानसभाबाट संविधान जारी भएपश्चात् बनेको लोकप्रिय, सफल र ऐतिहासिक सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालेर एउटा सफल मन्त्रीका रूपमा उत्रिसकेको, नेकपा (एमाले) जस्तो लोकप्रिय र शक्तिशाली पार्टीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेको छ, भारी मतले निर्वाचित भएको छ । मलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक हो । म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ ।
तपाईं दोस्रो चरणको निर्वाचनमा समेत प्रदेशभरि पुग्नुभयो । मतदाताको अपेक्षा के पाउनुभयो ?
मतदाताको अपेक्षा विकास र समृद्धि नै हो ।
तपाईं आफैँ पनि पटकपटक निर्वाचित हुनुभयो भोजपुरमा तर विकास हुन सकेन भन्छन् नि ?
हो, पटकपटक निर्वाचित भएर भोजपुरको नेतृत्व मैले, हामीले गर्दै आइरहेका छौं । जहाँसम्म विकास केही भएन भन्ने जुन प्रसंग छ, यो कुरामा म सहमत छैन । होला, जनताको अपेक्षा बमोजिम तीव्र गतिमा काम भएका छैनन् । तर भोजपुर जिल्लाले हाम्रै नेतृत्वमा, हामै पालामा थुप्रै विकास, प्रगति हासिल गरिराखेको छ । आज मध्यपहाडी लोकमार्ग अन्तर्गतको लेगुवा–भोजपुर सडक कालोपत्रे भइराखेको छ । सडक सञ्जालले हालको नगर र गाउँपालिकाका सबैै वडाहरूलाई लगभग जोडिसकेको अवस्था छ । पक्की पुलहरू धमाधम बनिराखेका छन् । विद्युतीकरण, खानेपानी लगायतमा पनि काम भइराखेका छन् । एकमात्र हवाइ मैदान कालोपत्रे भइसकेको छ ।
मुख्यमन्त्री हँुदाका प्राथमिकताका एजेन्डा के–के हुन् ?
मैले भोलि मुख्यमन्त्रीका रूपमा जिम्मेवारी पाएर काम गर्नुपर्दा स्वाभाविक रूपमा मैले प्रदेश नं १ को भूगोल, जनसंख्या, यहाँभित्रको विविधता, विकास र समृद्धिका आधार र सम्भाव्यताहरूलाई राम्ररी केलाउनुपर्छ, विश्लेषण गर्नुपर्छ । प्रदेश नं १ आफँैमा एउटा सुन्दर, राम्रो आधार र सम्भावनाको प्रचुरता भएको प्रदेश हो । प्रदेश नं १ विश्वको सर्वोच्च शिखर सगरमाथासहित थुप्रै अग्ला हिमालहरूको प्रदेशमा पर्छ । सप्तकोशी नदीको प्रदेश भन्नेबित्तिकै ठूला नदीनालाहरू यहीँ पर्छन् र कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइभन्दा बढी क्षमता हामीसँग छ । उत्तर चीन र दक्षिण भारतसँगको सिधा नाका सम्बन्ध प्रदेश नं १ ले राख्छ । हामी सडक सञ्जालको माध्यमबाट एकै दिनमा चीन, भारत, बंगलादेश र भुटान लगायतका देशहरूसँग जोडिन सक्छौँ । पर्यटकीय गन्तव्य स्थलको कुरा गर्ने हो भने हामी विराटनगर एयरपोर्टलाई अन्तर्राष्टिय क्षेत्रीय विमानस्थलका रूपमा विकास गरेर लाखौँलाख पर्यटक भित्र्याउन सक्छाँै । कृषि उत्पादनको उर्वर भूमिको रूपमा प्रदेश नं १ लाई लिन सकिन्छ । औद्योगिक विकासमा क्रान्ति ल्याउन सकिन्छ । यसरी मूलत कृषि, पर्यटन, जलस्रोत र उद्योगलाई मुख्य आधार बनाएर प्रदेश नं १ लाई नमुना प्रदेश बनाउन सकिन्छ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ ?
पक्कै हुन्छ । चुनावसम्म हामी गठबन्धनमा थियौँ । तर अब जनताले हामीलाई बलियो एकताको दबाब दिएका छन । अब कुनै पनि चाहना वा बहानामा हामी भाग्न र पछि हट्न सक्दैनौ । ढुक्क हुनुहोस्, पार्टी एकता हुन्छ ।
प्रस्तुति : एक्सन राई

प्रकाशित: २९ मंसिर २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App