coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

२०३० मा ५० लाख पर्यटक ल्याउने उद्देश्य

काठमाडौं–प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल चाप्टरले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउन ‘भिजन फाइभ मिलियन’ योजना सार्वजनिक गरेको छ । पाटाको बुधबार भएको ४१औं वार्षिक साधारणसभामा सरकार र निजी क्षेत्र मिलेर २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने योजना बनाइएको हो ।  पाटाले ‘भिजन फाइभ मिलियन’ योजना सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘ब्रान्डिङ’ गरी पर्यटक ल्याउनका लागि पहल गर्ने जनाएको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दी विकास लक्ष्यअनुसार   २०३० सम्म ५० लाख पर्यटक ल्याउने योजना बनाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मुलुकमा पर्यटक ल्याउन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘निजी क्षेत्रले मात्रै काम गरेर हुँदैन र त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर सरकारले बढीभन्दा बढी पर्यटक ल्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ ।’

सचिव न्यौपानेले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने बताए । ‘भारत र चीनका पर्यटक लक्ष्य गरेर कार्यक्रम बनाउन सक्ने हो भने पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’ उनले भने । त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास सम्भव रहेको भन्दै पूर्वाधार विकासमा नै जोड दिनुपर्ने धारणा राखे । ‘पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ,’ उनले भने । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटकीय सम्भावना बोकेका नयाँ गन्तव्य खोजी गरी व्यापक प्रवद्र्धनमा साझेदारिताका साथ अघि बढाए त्यस्ता योजना सार्थक हुने बताए । पाटा–नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएका कारण अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता रहेको बताए । ‘अब बन्ने सरकारले पनि २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ,’ उनले भने, ‘हामीले पनि त्यही लक्ष्यलाई आफ्नो भिजन बनाएका छौं र अब सरकारसँग मिलेर काम गर्नुपर्ने बेला आएको छ ।’
पाटा अध्यक्षमा शाक्य
पाटा–नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन व्यवसायी सुनिल शाक्य चयन भएका छन् । पाटाको ४१औं वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्ष नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर जनकराज कालाखेती, महासचिव विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल चयन भएका छन् । 

त्यसैगरी सदस्यमा पर्यटन बोर्ड, पर्यटन विभाग, वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण पदेन सदस्य छन् भने अन्य सात सदस्य निजी क्षेत्रबाट छन् । साधारणसभाले ‘हिमालयन ट्राभल मार्ट’ तथा ‘इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फरेन्स–२०१८’ नेपालमा आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारणसभाले पाटा–नेपालको पोखरा च्याप्टर स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एक पर्यटन व्यवसायीलाई प्रदान गर्ने ‘पाटा पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलाई सम्मान गरेको छ । त्यसैगरी यो वर्षदेखि सुरु गरेको ‘बेस्ट स्टुुडेन्ट्स च्याप्टर अवार्ड’ बाट नेपाल कलेज अफ ट्राभल एन्ड टुरिज्मको स्टुडेन्ट्स च्याप्टरलाई पदान गरेको छ । 

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App