८ वैशाख २०८१ शनिबार
कला

देजाभुका ५ सञ्चालक पक्राउ

काठमाडौं– दर्शक ठगेको आरोपमा नेपाल प्रहरीले दरबारमार्गस्थित डेजाभु क्लबका पाँच र कार्यक्रम आयोजकमध्येका दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई क्लब डेजाभुमा निम्त्याउने भन्दै महंगो मूल्यमा टिकट बिक्रि गरे पनि अन्तिम समयमा मार्समेलो क्लबमा नआएपछि दर्शकले आक्रोसित हुँदै क्लब देजाभु तोडफोड गरेको थिए । टिकट विक्री गरी कार्यक्रम आयोजना नगरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई प्रहरीले बिहीबार बिहान ठगीको आरोपमा पक्राउ गरेको हो ।

केटिएम लाइभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले डेजाभुमा वुधबार बेलुका मार्समेलोको कार्यक्रम राखेका थिए । तर, फुड प्वाइजन भएको कारण देखाउँदै मार्समेलो द्वारिकाज होटलमा बसे पनि कार्यक्रमस्थलमा पुगेका थिएनन् । उनको प्रतीक्षा गरिरहेका दर्शकलाई आयोजकले डिजे उपस्थित नहुने जानकारी दिएपछि दर्शक आक्रोशित हुँदै तोडफोड गरेका थिए । आक्रोशित दर्शकले क्लबको टेबुल कुर्सीसँगै त्यहाँ रहेका सामानहरु तोडेका थिए । 
एक प्रत्यक्षदर्शीका अनुसार झण्डै तीन हजार बढीको संख्यामा उपस्थित दर्शकले तोडफोड शुरु गरेपछि क्लबमा रहेका बाउन्सरहरु पनि भागेका थिए ।
महाशाखाका डिएसपी प्रजित केसीका अनुसार वाचा अनुसार मार्समेलोलाई कार्यक्रममा उपस्थित गराउन नसके पनि  दर्शकको टिकटको पैसा फिर्ता नदिइ ठगी गरेको आरोपमा अनुसन्धानका लागि डेजाभुका प्रवेश श्रेष्ठ, मयंका खड्का, पृथु वास्कोटा, मिलन श्रेष्ठ र विशाल डांगी तथा आयोजक रितेश मारवाडी र राजिव महर्जनलाई पक्राउ गरिएको हो । पृथु क्रिकेटको राष्ट्रिय टोलीको पूर्व खेलाडी हुन् भने मयंकको नाम अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीसँग जोडिँदै आएको छ । केसीका अनुसार क्लबमाथि अनुमति नलिइ कार्यक्रम आयोजना गरेकोे र टिकट विक्री गरे अनुरुप सुरक्षा प्रवन्ध नगरेको आरोप छ । उनका अनुसार पक्राउ लगत्तै सातै जनालाई ठगी अभियोगमा अनुसन्धान सुरु भइसकेको छ ।

अपराध अनुसन्धान विभागका एसएसपी दिनेश लोहनीले अधिकतम ७ सय क्षमताको क्लबमा झण्डै तीन हजार बढी दर्शक भेला भएको बताए । ‘अन्तर्राष्ट्रियस्तरको सेलिब्रेटीलाई ल्याएर कार्यक्रम गर्दा सुरक्षाका न्युनतम मापदण्ड पनि पूरा गरेको देखिएन । आयोजकले नजिकै रहेका प्रहरी कार्यालयमा पनि खबर गर्न जरुरी नठानेको देखियो ’उनले भने ।
मार्समेलो एक इलोक्ट्रेनिक डान्स म्युजिक प्रोड्युसर र डीजे हुन् । उनले ज्याक यू र जेडको गीतलाई रिमिक्स गरेर नयाँ भर्सनमा निकालेपछि अन्तर्राष्ट्रिय रुपमा उनी चिनिए । उनले ओमार लिन्क्स, ओके, जोउज र स्लुसीसँग पनि सहकार्य गरेका छन् । सन् २०१७ को जनवरीमा उनले निकालेको गीत ‘सङ’ अमेरिकी बिलबोर्ड हट १ सयको चार्टमा पनि परेको थियो । सार्वजनिक रुपमा कमै अनुहार देखाउने उनी दर्शकमाझ सेतो रंगको हेलमेट लगाएर निस्कन्छन् । 

यसैबीच मार्समेलोले ट्वीटरमा आफू कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् । ‘नेपाल, गए राती डेजाभु काठमाडौंमा आफ्नो प्रस्तुति दिन नपाउँदा म क्षमा चाहन्छु । म बिरामी थिएँ । यो अवस्थामा पनि कार्यक्रममा आउन चाहेको थिएँ । तर, डाक्टरले त्यसो नगर्न सुझाव दिए,’उनले ट्वीटेका छन्,‘म नेपालको मेलोग्याङलाई माया गर्छु । मेरो कुरा बुझ्नुहुनेछ ।’ उनका सहयोगीले पनि नागरिक न्युजसँगको भिडियो अन्तर्वार्तामा फुड प्वाइजन भएका कारण मार्समेलो कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका छन् ।

‘हामी थाइल्यान्डबाट नेपाल आएका हौं । नेपाल झर्दा नै उनलाई ज्वरो आएको थियो । जाँच्दा उनमा एक सय दुई डिग्रीको व्वरो देखियो । डाक्टर सञ्जयले चेक गर्दा फुड प्वाइजन भएको बताए । त्यतिबेलासम्म पनि मार्समेलो कार्यक्रममा जान उत्सुक थिए तर डाक्टर सञ्जयले नजान आग्रह गरेपछि आयोजकलाई आउन नसक्ने जानकारी गराएका हौं,’ सहयोगीले भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘मार्समेलोले कुनै पनि कार्यक्रम क्यान्सिल गरेको पहिलो घटना हो । नेपालका संगीतप्रेमीसँग माफी चाहान्छौं ।’ सहयोगीले सबैकुरा अनुकुल भए फेब्रुअरीमा समय मिलाउन सकिने आश्वासन दिएका छन् ।

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App