६ वैशाख २०८१ बिहीबार
खेल

ह्विलचेयर क्रिकेटमा नेपालको जित

काठमाडौं– विपिन पौड्यालको चार विकेट तथा दिगम चेमजोङ लिम्बुको अविजित ३५ रनप्रेरित नेपालले बिहीबार प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान हिमाल अर्यालले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएका थिए । विपिनले ४ ओभरमा २ मेडन राख्दै ११ रन दिएर ४ विकेट लिएपछि बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । दिगमले ४६ बलमा ३ चौकासहित अविजित ३५ रन बनाएपछि नेपालले ७८ रनको लक्ष्य १३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । 

पाँच ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएको बंगलादेशको इनिङमा मोहम्मद रिपोन उदिनले सबैभन्दा धेरै १८ रन बनाउँदा ओपनर साजद होसैन र मोहम्मद मोहिदुल इस्लामले समान १६ रन बनाए । मोहम्मद मोर्सद अलाम ७ र मोहम्मद राजोन होसैन २ रनमा अविजित रहे । नेपालका विपिनबाहेक यमबहादुर श्रेष्ठले ४ ओभरमा २ मेडन राख्दै २ रन दिएर २ विकेट लिए ।
७८ रनको लक्ष्य पछ्याएको नेपालले ११औं ओभरको पाँचौं बलमा नवीन राईलाई गुमाएको थियो । २४ बलमा १ चौकासहित १६ रन बनाएका नवीनलाई मोहम्मद राजोन होसैनले बोल्ड गरेका थिए । त्यसपछि दिगम र जंगबहादुर थापाले नेपालको इनिङ पूरा गरेका थिए । दिगमलाई जंगबहादुरले ११ बलमा २ चौकासहित अविजित ११ रन बनाएर साथ दिएका थिए । 
प्रतियोगतामा नेपालले अब शनिबार त्रिवि मैदानमै भारतसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार सोही मैदानमा बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछन् । 

 

प्रकाशित: २९ मंसिर २०७४ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App