coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नौ वर्षपछि नेविसंघ महाधिवेशन, आज उद्‍घाटन

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। संघको नेतृत्व आफ्नो पक्षमा पार्ने पार्टी नेतृत्वको होडका कारण नौ वर्षपछि हुन लागेको महाधिवेशन सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे विशेष समारोहबीच उद्घाटन गर्ने छन्। २०६४ सालयता आन्तरिक विवादका कारण झन्डै एक दर्जनपटक महाधिवेशन स्थगित भइसकेको छ। ११ औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता यूपी लामिछानेले जानकारी दिए। 'सबै तयारी पूरा भएको छ,' लामिछानेले भने, 'भोलि (आइतबार) १ बजे पार्टी सभापतिले उद्घाटन गर्नुहुन्छ, पर्सी (सोमबार) बाट बन्दसत्र सुरु हुन्छ।'

बन्दसत्रलाई व्यवस्थित गर्न संघले सोमबारबाट महाधिवेशन प्रतिनिधि परिचयपत्र भएकाबाहेक अन्यलाई भृकुटीमण्डप प्रवेश गर्न नदिने भएको छ। त्यस्तै, महाधिवेशन स्थलको सुरक्षा मजबुत बनाउन नेपाल प्रहरीले विभिन्न चारवटा सिसी क्यामेरासहित गतिविधि नियाल्ने भएको छ।

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्ला र क्याम्पसबाट झन्डै ३ हजार ४ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुग्दै छन्। आइतबार बिहानसम्म सबै महाधिवेशन प्रतिनिधि आइसक्ने जनाउँदै लामिछानेले साँझदेखि प्रतिनिधिलाई खाने र बस्ने व्यवस्था मिलाएको जानकारी दिए।

१ करोड ८८ लाख ८० हजार महाधिवेशन सम्पन्न गर्न खर्च अनुमान गरेको संघले  प्रतिनिधिलाई सुन्धारा, बसपार्क र तिलगंगा क्षेत्रमा आवासको व्यवस्था मिलाएको छ भने बाल्मीकि क्याम्पसमा खाना खुवाउने तयारी गरेको महाधिवेशन प्रचार विभाग प्रमुख मोती भण्डारीले जानकारी दिए। 'महाधिवेशनको सबै खर्च पार्टीले उपलब्ध गराउनेछ,' उनले भने, 'नेविसंघले महाधिवेशनका लागि कसैसँग चन्दा उठाएको छैन, उठाउँदैन।'

१२ औं महाधिवेशनदेखि नेतृत्वका लागि ३२ वर्षे उमेर हदको व्यवस्था विधानमै गरेको संघले यसपटक भने एक व्यक्ति एक पदको व्यवस्था लागू गरेको छ। 'माथिल्लो तहको उम्मेदवार बने स्वतः तल्लो पद खारेज हुने विधानमा व्यवस्था छ,' संघका नेता लीलाबल्लभ दाहालले भने, 'महाधिवेशनले अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने २२ जना मनोनीत गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ।'

संघको संशोधित विधानअनुसार प्रदेश, समावेसीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेसीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्रीको व्यवस्था छ।

२०६४ जेठपछि संघको महाधिवेशन भएको छैन। तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै छवटै भ्रातृसंगठन विघटन गरेर पार्टी केन्›ीय समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने अधिकारसहित आयोजक समिति गठन गरेको थियो। नेविसंघ, तरुण दल, नेपाल महिला संघ, किसान संघ, आदिवासी जनजाति संघ, प्रजातन्त्र सेनानी संघ र मगर संघको केन्›ीय समिति २०६८ असोज ३ गते विघटन गरेर चार महिनापछि माघ २२ गते महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। तर, अहिलेसम्म कुनै भ्रातृसंगठनको महाधिवेशन हुन सकेको छैन।

पार्टीको १३ औं महाधिवेशनपछि बसेको केन्›ीय समिति बैठकले प्रमुख भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेसँगै नेविसंघ, तरुण दल र महिला संघले महाधिवेशन मिति घोषणा गरेका थिए। महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा चौथो महाधिवेशन गर्ने जनाएको छ भने तरुण दलले भदौकैै २४ देखि २६ गतेसम्म गर्ने घोषणा गरेको छ।

महिला संघको २०६४ पछि र तरुण दलको २०६१ कात्तिकपछि महाधिवेशन भएको छैन। नेपाल प्रजातन्त्र सेनानी संघको त २०५३ पछि नै महाधिवेशन भएको छैन ।

नेतृत्वका लागि हानथाप

नेपाल विद्यार्थी संघको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टीकै नेताहरू सक्रिय रहेका बेला आधा दर्जन बढी नेता मैदानमा देखिएका छन्। नेतृत्व दाबी गर्दै संघका नेताहरू प्रचारमा जुटे पनि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल आफ्नो पक्षबाट एक मात्र उम्मेदवार बनाउन सक्रिय भएका छन्।

संघका पूर्वअध्यक्षसहित पार्टीका नेताहरू नै विद्यार्थी नेतालाई मिलाएर एउटै प्यानल बनाउन सक्रिय छन् भने नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षले पनि संघको नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेको छ। संघको अध्यक्षका लागि देउवा पक्षबाट नैनसिंह महर, जितजंग बस्नेत र शुभराम बस्नेतसहितका विद्यार्थी नेताले दाबी प्रस्तुत गर्दै आएका छन्। महर विद्यार्थीमाझ लोकप्रिय भए पनि देउवापक्षीय नेताहरू जितजंगलाई उम्मेदवार बनाउने पक्षमा छन्। त्यस्तै, शुभरामलाई खड्का पक्षको उम्मेदवार भनेर चर्चा गरिएको छ। तीनैजनाले शनिबार महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी घोषणा गरेका छन्।

पौडेल पक्षबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, नीलकण्ठ रिजाल र आनन्द त्रिपाठीले अध्यक्ष दाबी गर्दै आएका छन्। एक नेताका अनुसार चारमध्ये एकलाई नेतृत्वका लागि मैदान उतानै गरी गृहकार्य भइरहेको बताए। पौडेलले त्यसको तयारी गर्न निकट संघका पूर्वअध्यक्ष र महामन्त्रीलाई जिम्मेवारी दिएका छन्।

सिटौला पक्षबाट कुन्दन काफ्लेले नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। महामन्त्री, उपाध्यक्षका लागि तीन दर्जनभन्दा बढी नेता प्रचारमा जुटेका छन्।  पदाधिकारी सदस्यका प्रत्याशीहरूले शनिबार दिउँसो नाराजुलु  ससहित भृकुटीमण्डपमा मत मागिरहेका थिए। उम्मेदवारको प्रचार सामग्रीले भृकुटीमण्डप रंगीचंगी बनिसकेको छ।

यसैबीच पार्टीले संघको महाधिवेशन गराउन नेता प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। महाधिवेशन प्रतिनिधि विवाद रहेका केही जिल्ला र क्याम्पसको टुंगो लगाउन समिति सक्रिय छ।

उता संघको फर्जी प्रतिनिधि सच्याएर विधिवत महाधिवेशन गर्न माग गर्दै आमरण अनशन बसेका गणेश सापकोटा र रत्नहरि ढुंगेलको स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिएको छ। पार्टी कार्यालयमा आमरण अनशन बस्दै आएका दुवैलाई मोडल अस्पताल भर्ना गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्था बुझ्न नेता कृष्णप्रसाद सिटौलासहितका नेता अस्पताल पुगेका थिए। पार्टीले गठन गरेको निर्देशक समितिले उनीहरूको मागसमेत सम्बोधन गर्दै महाधिवेशन गराउने तयारी गरेको छ।

प्रकाशित: २३ श्रावण २०७३ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App