८ वैशाख २०८१ शनिबार
राजनीति

शक्तिले तोडे ५९ वर्षको चुनावी इतिहास

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत  र उनीसँग पराजित भएका नेपाली काँग्रेसका  नेता राजीवविक्रम शाह मतगणनाका बेला सँगै फोटो खिचाउँदै। तस्बिर : जनक केसी

जाजरकोट – ५९ वर्षको  संसदीय चुनावी यात्रामा कोही पनि व्यक्तिले दोहार्‍याएर चुनाव नजितेको  जाजरकोटको इतिहास माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेतले तोडेका छन्।

मंसिर १० गते भएको निर्वाचनमा यस अघि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा  सांसद बनेका बस्नेत पुन विजयी भएपछि दोरिएर चुनाव नजितेको ५९ वर्षको इतिहास तोडिएको हो।   यो जाजरकोटको संसदीय चुनावी इतिहासमा ५९ वर्ष पछिको पहिलो घटना हो। मंसिर १० गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस नेता राजीव विक्रम शाहलाई ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गर्दै बस्नेत दोस्रो पटक सांसद बनेका हुन्। शाह र बस्नेत २०७०को दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित सांसद हुन्।

५९ वर्षको इतिहासमा १० औं पटक मंसिर १० गते भएको संसदीय चुनावबाट  बस्नेतले इतिहास तोडेका हु्न्।  पहिलो पटक २०१५ सालमा भएको आम निर्वाचनपछि २०७० सम्म भएका ९ वटा आम निर्वाचनहरूमा जाजरकोटबाट कोही पनि व्यक्ति सांसद पदमा दोहोरिएको इतिहास थिएन। १० औं पटकको आम निर्वाचनमा  भने  जाजरकोटी जनताले शक्तिबहादुर बस्नेतलाइ दोहोरयाएको स्थानीय  जेष्ठ नागरिक कर्णबहादुर भडेलले बताए । एउटै व्यक्तिले  दोहोरिएर चुनाव जितेको यो पहिलो घटना हो भडेलले भने । जाजरकोटको संसदीय चुनावी इतिहासलाई हेर्दा २०१५ सालको आम निर्वाचनमा  नेपाली काँग्रेसका स्वयम प्रकाश विक्रम शाहले चुनाव जितेका थिए भने त्यसको  १७ वर्ष पछि २०३२ सालमा भएको राष्ट्रिय पञ्चायत सभाको चुनावमा स्थानीय भक्तबहादुर कार्कीले  चुनाव जितेका थिए।  

त्यसैगरी २०३८ कै राष्ट्रिय पञ्चायत सभाको चुनावमा दीपबहादुर सिंह र २०४३ को राष्ट्रिय पञ्चायत सभाको चुनावमा तेजविक्रम शाहले चुनाव जिते । पञ्चायत कालमै सिंह वन सहायकमन्त्री र  शाह आपूर्ति सहायक मन्त्री भएका थिए । सिंहले पञ्चायत कालमै दोस्रो पटक चुनाव लडेपनि जित्न सकेनन् भने शाहले बहुदल आइसकेपछि पनि चुनाव लडेर दुई पटक हारेका थिए । २०४८ सालको आम निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट क्षेत्र नम्वर १मा नेपाली काँग्रेसका  द्वारिकाप्रसाद प्रधान र क्षेत्र नम्बर २ बाट एमालेका कृष्णबहादुर शाहीले चुनाव जिते। उनीहरूले पछिल्ला निर्वाचनमा प्रतिष्पर्धा गरे पनि चुनाव दोहोर्यार जित्न सकेनन्। 

त्यस्तै २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट  विजयी बनेका झलकनाथ वाग्ले र दीपकजंग शाहले पनि पछिल्ला निर्वाचनमा उम्मेदवार बनेपनि जित्न सकेनन्। २०५६को आम निर्वाचनमा विजयी बनेका राप्रपाका गोविन्द्रविक्रम शाह र एमालेका रत्नप्रसाद शर्मा मध्ये गोविन्द्र विक्रम शाहले पछिल्लो दुई निर्वाचनमा उम्मेदवार भएपनि  दोरिएर चुनाव जित्न सकेनन् । २०६४को  पहिलो संविधान सभाको निर्वाचनमा विजयी बनेका माओवादीका कालीबहादुर मल्ल र भक्तबहादुर  शाह मध्ये भक्तबहादुर शाहले २०७० को चुनावमा चुनाव लडेपनि  दोस्रो पटक विजयी हुन सकेनन्। उनी यस पटक पनि प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट नयाँ शक्ति नेपालको तर्फवाट उम्मेदवार बनेका छन्।

२०७० को दोस्रो संविधान सभाको चुनावमा क्षेत्र नम्बर १मा नेकपा माओवादीका तर्फबाट  चुनाव जितेका शक्तिबहादुर बस्नेत र क्षेत्र नम्बार २ मा नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेका  राजीवविक्रम शाह यो वर्षको चुनावमा एउटै क्षेत्रबाट चुनाव लडे । तर जीत शक्तिको हातमा पर्यो । जनताका अघि धेरै वाचा गर्ने तर पुरा गर्न केही पनि नसक्ने भएका कारण जनताले लामो समय सम्म  कसैलाई पनि जित दोहोरयाउने मौका नदिएको स्थानीय असलशासनकर्मी बालकुमार शर्माले बताए।  उनले  भोट हाल्दा जनताले गरेको आसा नेताले नपुर्याउने भएका कारण सांसद दोहोर्याउने गरी  जाजरकोटी जनताले भोट नहाल्ने गरेको शर्माले बताए। विगतको प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यो पटक एउटै क्षेत्र भएको छ।   

 

प्रकाशित: २८ मंसिर २०७४ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App