७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वसांसदकै जमानत जफत

खोटाङ – प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका १३ उम्मेद्वारको जमानत जफत भएको छ । खसेकामध्ये कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभातर्फ ५ उम्मेद्वारको जमानत जफत भएको हो । चुनावी मैदानमा उत्रिएका १९ उम्मेद्वारमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका वाम गठबन्धनका तीन उम्मेद्वार र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिकका तीन उम्मेद्वारको मात्र जमानत जोगिएको छ। मंसिर १० गतेको निर्वाचनमा प्रतिनिधिसमातर्फ १० र प्रदेशसभातर्फ ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए । 

प्रतिनिधिसभाको कुल सदर मत ६६ हजार ९०५ को १० प्रतिशत ६ हजार ६९० मत ल्याउन नसक्दा नयाँ शक्तीका मदन राई, संघीय समाजवादी फोरमका कृष्णकुमार राई, राजपाका विश्वास राई, राप्रपा प्रजातान्त्रिकका धर्मराज पोखरेल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोला, राष्ट्रिय जनमुक्तीका गोकर्ण राई, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईको जमानत जफत भएको छ । 

जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीका अनुसार कम्तीमा ६ हजार ६९० मत ल्याउनुपर्नेमा नयाँ शक्तीका उम्मेद्वारले २ हजार ४९४, संघीय समाजवादी फोरमका उम्मेद्वारले २ हजार ३७७, राजपाले २५२, राप्रपा प्रजातान्त्रिकले १९७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले ८८, राष्ट्रिय जनमुक्तीले ७८, मंगोल नेशनल अर्गनाइजेसनले ६८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४९ मत पाएको छ । 

यस्तै, प्रदेशसभा (क) मा कुल सदर मत ३४ हजार ७७३ मतको १० प्रतिशत ३ हजार ४७७ मत नल्याउँदा संघीय समाजवादी फोरमका नविन राई, नेकपा मालेका नेत्रबहादुर कट्वाल र राजपाका तुलसीकुमार राईको जमानत भएको छ । जमानत जोगाउनका लागि ३ हजार ४७७ मत ल्याउनुपर्नेमा संघीय समाजवादी फोरमका राईले १ हजार ४१४, नेकपा मालेका कट्वालले ८६६ र राजपाका राईले १४९ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (ख) मा कुल सदर मत ३२ हजार ८८२ को १० प्रतिशत ३ हजार २८८ मत नपाउँदा संघीय समाजवादी फोरमका टंक थापा र नेकपाका कुलप्रसाद शर्माले जमानत गुमाएका छन् । जमानत जोगाउनका लागि आवश्यक ३ हजार २८८ मत ल्याउनुपर्नेमा संघीय समाजवादी फोरमले १ हजार २३३ र नेकपाले १ हजार ३८ मत पाएको जिल्ला निर्वाचन अधिकारी खत्रीले बताए । शर्मा पूर्वसांसद हुन् । उनी २०४८ सालको पहिलो आम निर्वाचनमा खोटाङमा एमालेका टंक राई र अशोक राईसँगै विजयी भएका थिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३७ हजार ८३७ मत ल्याएर प्रतिनिधिसभामा विजयी एमालेका विशाल भट्टराई, २३ हजार ४६५ मत पाएकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती बजिमय, प्रदेशसभा (क) मा १८ हजार ९३३ मत ल्याएर विजयी एमालेका राजन राई, १३ हजार ४११ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सुवास पोखरेल तथा प्रदेशसभा (ख) मा १८ हजार ३७२ मत ल्याएर विजयी माओवादी केन्द्रका रामकुमार राई र १२ हजार २३९ मत ल्याएका कांग्रेसका बिष्णुकुमार राईको मात्र जमानत जोगिएको छ । 

प्रकाशित: २८ मंसिर २०७४ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App