८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी पहाडमै हुनुपर्ने माग राख्दै आन्दोलन

पुस्कर भण्डारी
डडेल्धुरा- ७ नम्बर प्रदेशका सात पहाडी जिल्लाका स्थानीयले राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग राखेका छन् । सरकारले बिहीबार राजधानी तोक्ने भएपछि सात नं. प्रदेशको राजधानी पहाडमै हुनुपर्ने पहाडी जिल्लावासीले माग गरेका हुन् ।
पहाडी जिल्लामै राजधानी हुनुपर्ने मागसहित डडेल्धुरामा बुधबार एक संघर्ष समितिसमेत गठन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउदको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिमा जिल्लास्थित सम्पूर्ण संघसंस्थाका प्रतिनिधि र स्थानीय रहेका छन् ।
प्रदेशको अस्थायी राजधानी कैलालीको अत्तरिया तोकिन लागेको बाहिर आएपछि संघर्ष समिति गठन गरी पहाडी जिल्लामै राजधानी राखिनुपर्ने माग राख्दै आन्दोलन थालनी गरिएको संयोजक साउदले बताए । अखण्ड सुदूरपश्चिमको आन्दोलनका समयमा खप्तड राज्य स्थापनाका लागि डडेल्धुरालगायत पहाडी जिल्लाको आन्दोलन प्रभावहीन हुन पुगेकाले त्यस बेला असफल भएको उनले बताए । उनले भने, ‘पहाडी जिल्ला नै दुर्गम छन्, यहाँको विकास गर्र्ने हो भने त पहाडी जिल्लामै राजधानी तोकिनुपर्छ ।’
तराई उर्वर भूमि भएको क्षेत्र, कानुनी तवरबाट पनि भारतसँग खुला जोडिएका सीमानाका नजिकै, सुरक्षाका दृष्टिकोणले खतरा, तराईका जिल्ला आफूमै सम्पन्न जिल्ला तथा पहाडी जिल्ला विकास र अन्य तवरबाट पिछडिएका, रोजगारीका अवसर सिर्जना गर्न, प्रदेशका नौवटै जिल्लावासीलाई पायक पर्ने गरी पहाडी जिल्लामै राजधानी कायम गरिनुपर्ने प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
संघर्ष समितिले बुधबार साँझ जिल्ला सदरमुकामस्थित भीमदत्तचोकमा कोणसभा आयोजना गरेको थियो ।  
 

प्रकाशित: २८ मंसिर २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App