८ वैशाख २०८१ शनिबार
राजनीति

छानबिन गर्न भगवतीको माग

इटहरी- सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।
बहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको आरोप लगाउँदै चौधरीले उच्चस्तरीय समिति गठन गरी छानबिन गरेर पुनः मतदान गर्नुपर्ने माग गरेकी हुन् ।
बुधबार इटहरीमा पत्रकार सममेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताइएको आरोप लगाइन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले जितेको चुनाव हराउन अनेक जालझेल र षडयन्त्र भए ।’ उनले मतदानका दिन मतदान अधिकृतले मुचुल्का उठाउन प्रयोग गरेका खाली कागज र मतपेटिका सिल गर्ने वस्तु गणनास्थलबाहिर भेटिनुका साथै अर्धकट्टीसहितका नौवटा मतपेटिकाका सिरियल नम्बर हेर्न नदिएकाले षडयन्त्र भएको जिकिर गरेकी छिन् ।
सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बिनाप्रमाण त्यतिकै आरोप लगाउनु गलत भएको बताए । ‘सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत भगवती चौधरीले मुख्य निर्वाचन आयुक्तलाई उजुरी भने पठाउनुभएको थियो । मैले आयोगमा पठाएको छु,’ उनले भने, ‘अब उहाँले के के आरोप लगाउँदै हिड्नुहुन्छ, त्यसमा हाम्रो भन्नु केही छैन् ।’
 सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको थियो । मतगणना गर्दा नौवटा मतपेटिका अर्धकट्टीसहित भेटिएको विषयलाईं लिएर वाम गठबन्धन एमालेकी उम्मेदवार भगवती चौधरी पक्षले त्यो मत बदर हुनुपर्ने माग राखेपछि स्थगित भए पनि पटकपटक निर्वाचन अधिकृत कार्यालयले संवाद गरी मतगणना गर्न आग्रह गरेको थियो । सहमतिमा नआएपछि निर्वाचन अधिकृत कार्यालयले प्रक्रियाअनुसार मंगलबार दिउँसोदेखि गणना थालेको थियो ।
मतगणना स्थगित हुँदासम्म भगवतीले २९ हजार ३२६ प्राप्त गरेकी थिइन् । विजयले भने २९ हजार १७१ प्राप्त गरेका थिए । विजयले आइतबारदेखि मतान्तर घटाउँदै सबैभन्दा कममा पु¥याएका बेला विवाद भएर गणना स्थगित भएको थियो । बुधबार बिहान सकिएको गणनाअनुसार सुनसरी ३ नं. क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले प्रतिनिधिसभा सदस्यमा ३ सय २१ मतान्तरले भगवतीलाई हराएर विजयी भएका छन् ।

प्रकाशित: २८ मंसिर २०७४ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App