६ वैशाख २०८१ बिहीबार
राजनीति

फोरम–राजपा एकता कसरत

लहान- प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।  
स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए । यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ । प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेस गठबन्धनले ३५ सिट जितेको छ । समानुपातिक निर्वाचनतर्फको परिणाम भने आइसकेको छैन । प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ ।

जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकतामन पक्षमा सकारात्मक र गम्भीर देखिएका छन् । यसका लागि संवाद सुरु भइसकेको छ । परिणाम सकारात्मक नै आउँछ- राजकिशोर यादव

यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम–राजपाबीच छलफल सुरु भइसकेको छ । यी दुवै दलमध्ये बढी सिट जितेकालाई मुख्यमन्त्री र दोस्रोलाई उपमुख्यमन्त्री पद दिने लगभग सहमति भइसकेको राजपाका एक नेताले बताए । प्रादेशिक सरकार निर्माण गर्दा कुन दललाई कति मन्त्री र कुन मन्त्रालय भन्ने विषयमा छलफल सुरु भएसँगै दुवै दलबीच एकता पहलसमेत भएको छ ।
दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि  औपचारिक सम्वाद सुरु भएको छ । ‘पार्टी एकताका विषयमा घनीभूत छलफल जरुरी छ,’ राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले नागरिकसँग भने, ‘अहिले हामी सबै मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त छौं ।’ दुई÷तीन दिनभित्रै अध्यक्षमण्डलका अध्यक्षसहित सम्पूर्ण सदस्य र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत पदाधिकारी बसेर पार्टी एकताका छलफल अघि बढाउने तयारी भएको उनले बताए ।
फोरम–राजपा एकताका लागि सूत्रधारको जिम्मेवारी पाएका राजपा अध्यक्षमण्डल सदस्य यादवले भने, ‘जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकताको पक्षमा सकारात्मक र गम्भीर देखिएका छन् ।’ सम्वाद सुरु भइसकेको जानकारी दिँदै उनले भने, ‘परिणाम सकारात्मक नै आउँछ ।’
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका छन् । ‘मधेसी जनताको जनादेशको कदर हामी सबैले गर्नुपर्छ । म एकताको बाधक बन्दिनँं । गत स्थानीय तहको जनादेशलाई आत्मसात गरेर यो चुनावमा हामी मिलेर मधेसी जनताको दैलोमा पुग्दा असीम समर्थन पाएका छौं’, यादवले भने, ‘हामी मजबुत नभएसम्म मधेसको अधिकार संस्थागत गराउन मुस्किल छ ।’ मजबुत मधेस सरकार र मधेस प्रदेशको आर्थिक मजबुतीका लागि पनि मधेसी दल मिल्नुको विकल्प नरहेको पनि उनले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन क्रममा जनताको घरदैलो पुग्दा उनीहरूले देखाएको भरोसा, निर्वाचन परिणाम जस्ता पक्षको शूक्ष्म र गम्भीर ढंगले विश्लेषण गर्दै एकता पहल सुरु भएको राजपाका अर्का  एक प्रभावशाली नेताले बताए । भर्खरै सम्पन्न निर्वाचन परिणामले हौसिएका फोरम अध्यक्ष यादवले भने, ‘सरकार निर्माण र पार्टी एकताका लागि चाँडैै औपचारिक रुपमा छलफल सुरु हुन्छ । मधेसको समृद्धि फुटेर होइन जुटेर गर्न हामी गम्भीर भई अघि बढ्छौं ।’
मधेसलाई आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा समृद्ध बनाउनकै लागि मधेसी दललाई जनादेश दिएको बताउँदै यादवले भने, ‘जनताले दिएको जिम्मेवारी र देखाएको भरोसा खेर जान दिँंदैनौं ।’ देशमा पहिलोपटक मधेस सरकार बन्न लागेको बताउँदै राजपा महासचिव मनीषकुमार सुमनले भने, ‘यो प्रदेशलाई नमुना प्रदेश बनाउन हामी (फोरम–राजपा) एक नभई हुँदैन ।’ घरकै सदस्य नमिलेपछि अन्य पक्षको सहकार्य र सहयोग लिन असहज हुने उनको भनाइ छ ।
मिल्दा र फुट्दापछिको चुनावी परिणामको अनुभव बटुलिसकेका मधेसी दलका नेताहरू एकताका लागि गम्भीर देखिन्छन् । २०६३ को पहिलो मधेस आन्दोलनपछि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तीन मधेसी दलले प्रदेश नम्बर २ मा पर्ने जिल्लाका ४८ सिटमध्ये ३५ जितेका थिए । तत्कालीन समयमा मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी चुनावमा होमिएका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम फुटेर टुक्राटुक्रा भयो, सदभावना र तमलोपा पनि विभाजित भए । परिणाम ४८ सिटमध्ये मधेसी दलले चार सिटमै चित्त बुझाउनुप¥यो ।
पहिलो संविधानसभा चुनावमा जित र दोस्रोमा हारको अनुभव सुनाउँदै पूर्वसञ्चारमन्त्री राजकिशोर यादव भन्छन्, ‘पार्टी फुट्दा दोस्रो संविधानसभा चुनावमा धेरै मधेसी नेता हार्न पुगे । विगत अनुभव र गल्तीले सबै नेता घोत्लिनुपर्ने ठाउँमा पुगेको छौं । त्यसैले पनि एकता निश्चित छ, परिणाम आउन समय लाग्छ ।’

प्रकाशित: २८ मंसिर २०७४ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App