४ वैशाख २०८१ मंगलबार
अर्थ

मूल्य निर्धारण नभए पनि चिनी उद्योग सञ्चालन गर्ने सहमति

रौतहट- किसानले खेतमा रोपेको उखुको मूल्य निर्धारणमा सहमति हुन नसके पनि चिनी उद्योग सञ्चालनमा आउने सहमति भएको छ। सहमतिपछि देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन्।

राजधानी काठमाडौँमा मंगलवार चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच चिनी उद्योगहरु सञ्चालनमा ल्याउने सहमति भएको हो । तत्काल प्रति क्वीन्टल ५३१ रुपैया २० पैसाको दरले किसानले भुक्तानी पाउने सहमति भएको छ।

उखुको मूल्य निर्धारण गर्न मंसिरको पहिलो हप्ता बसेको दुवै पक्षको बैठकले मूल्य निर्धारण गर्न नसकेपछि मंसिर २७ गते अर्को बैठक गर्ने सहमति भएको थियो। तर मंगलवारको बैठकमा सरकारसित समन्वय हुन नसकेको भन्दै मूल्य निर्धारण पछि गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने सहमति भएको हो।

मूल्य निर्धारण नहुँदा खेतमा उखु बिग्रिन लागेको र समयमा उखु क्रसिङ नहुँदा पछि गर्मीको कारणले चिनी कम हुने भएकोले किसान र उद्योगी दुवैको हितलाई ध्यानमा राखी उद्योग सञ्चालनमा ल्याउने सहमति भएको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले जानकारी गराएका छन्।

वार्तामा उखु किसानले उखुको मूल्य बढाउनु पर्ने माग प्रस्तुत गरेका छन् भने चिनी उत्पादकहरुले गत वर्षकै मूल्यमा उखु दिन माग गरेका छन्। दुवै पक्ष आफ्नै अडानमा कायम रहेपछि समन्वयको लागि सरकारको आवश्यकता रहेको सहभागीहरुको दाबी रहेको छ। अहिलेको सरकार काम चलाउ रहेकोले नयाँ सरकार गठनपछि तुरुन्तै मूल्य निर्धारणका लागि त्रिपक्षीय बैठक बस्ने सहमति भएको हो।

वार्तामा चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाल, महासचिव राजेश केडिया, गरुडास्थित श्रीराम सुगर मिल्सका महाप्रबन्धक हितेश गोल्छा, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, विभिन्न पाँच जिल्लाका उख उत्पादक संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले बताएका छन्।

 

प्रकाशित: २७ मंसिर २०७४ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App