coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

काठमाडौं- फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको ‘सेड्स अफ ह्युस’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा रानीसहित नेपाल–भारतका झण्डै दुई दर्जन कलाकारका कला राखिएका छन् ।
आफू नेपाल नआए पनि उनको ‘चिरहरन’ शीर्षकको कलामा एसियाली मुलुकका महिलाको चित्रण गरिएको छ । महाभारत कालमा द्रौपदीको चिरहण भएको सम्झाउने रानीका कलाले वर्तमान समाजको महिलाको अवस्था पनि महाभारत कालको भन्दा फरक हुन नसकेको देखाउँछ । चित्रमा सुन्दर जीउडालकी महिलाको शरीर केवल आकर्षणको प्रतिकका रुपमा समाजमा रहेको अर्थ देखाउँछ । तेल रंगको क्यानभासमा उनका चित्र निकै आकर्षक लाग्छन् ।
‘शिक्षाको चेतनाले केही महिलाको मानसिकतामा परिवर्तन आएपनि अझै धेरै महिलाको वेदना दर्दनाक रहेको रानीको चित्रमा देखिन्छ,’भारतीय क्युरेटर अमृता प्रकाश भन्छिन्, ‘आफ्नो शरीरको रक्षा गर्न नसकेको पीडा उनीहरुको मुहारमा प्रष्टै झल्किल्छ ।’
परम्परागत कलालाई नयाँ रुप दिदै अर्की भारतिय कलाकार डा.ऋतु जौहरीले आफ्नो कला देखाएकी छिन् । पानी रंगको ती कला हेर्दा नेपालको तराई क्षेत्रको मिथिला कला झै लाग्ने देखिएपनि तिनका मुहारको स्वरुपमा फरकपन छ । ‘अरुभन्दा फरक भएपनि परम्पराको फ्लेभर भने उनको कलाले छाडेको छैन,’क्युरेटर अमृता प्रष्ट्याउँछिन् । भारतकै आरती मेहताको कलामा मूर्त र अमूर्त कलाको संगम भेट्न सकिन्छ । केरला क्षेत्रमा चर्चित कत्थककली नृत्यको भावभंगिमालाई उनले मानवीयतासँग जोड्ने प्रयास गरेकी छिन् ।
नेपालका कलाकार नगेन्द्रप्रसाद पौडेलले ‘कम्पोजिसन’ शीर्षकमा एक्रोलिक रंग क्यानभासमा पोखेका छन् । भारतकै वीरेन्द्र बर्माले मिक्स मिडियाको प्रयोग गरेर बनाएको बनारस गंगाघाटको चित्र प्रदर्शनीको अर्को आकर्षण बनेको छ । मनोजकुमार देवको प्रिन्टकलाको नमूना पनि नेपाली कलाकारका लागि नौलो हुनसक्छ । तारा तामाङले इचिङमै परम्परागत धार पहिल्याउन खोजेकी छिन् । सचिन गौतमको पानी रंगमा वास प्रविधिले पनि प्रदर्शनीमा फरकपन देखाउँछ ।
नेपालकै रेविका शाक्यले पानीरंगमा नेपालका हिमाली सुन्दरतासँगै प्रिन्टकलाको नमूना प्रस्तुत गरेकी छिन् । नेहा मर्टोनिकले एक्रेलिकमा बनाएको ‘शान्ति’ शीर्षकको चित्र अर्को आकर्षण हो । सीमा गुप्ताले भने मानिसभित्रको आन्तरिक सत्य चित्रबाटै खोज्ने कोशिश गरेकी छिन् । निधी कौशलको साइलेन्ट एक्टिभिटीमा महिला भाव देखिन्छ । किरण कुमार सिगुको कल्चरल फ्युजनले पूर्विय र पश्चिमा सभ्यताको मिश्रण कलाको उल्लेख गर्छ ।
कला प्रदर्शनीमा नेपाली कलाकार जितेन्द्र लामाको लाखे नाँचको चित्र अझ आकर्षित छ । एक्रेलिक रंगको त्यो कलाले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्छ । यो चित्र प्रदर्शनीमा सबैभन्दा महंगो २ लाख रुपैयाँ मूल्यको छ । प्रोफेसर रमेश शर्माले मिक्स मिडियाको प्रयोग कलामा गर्न भ्याएका छन् । अदिती अग्रवालको द सन ह््याज मुडले सूर्यको किरणलाई अमूर्त शैलीमा सुन्दरता भरेको छ ।
भारत र नेपालको सम्बन्ध राजनीतिक मात्र नभई कलाकारिताका रुपमा बढाउन पनि दुबै देशको प्रतिनिधित्वमा कला प्रदर्शनी गरिएको कयुरेटर अमृताको दाबी छ । उनको यो ९० औं कला प्रदर्शनी हो । अन्तराष्ट्रिय स्तरमा गरेको भने पहिलो प्रदर्शनी हो । ‘नेपालको बारेमा धेरै सुनेको थिएँ यसपाला यहीबाट आफ्नो अन्तराष्ट्रिय कलायात्रा सुरु गरे,’उनले भनिन्, ‘भारतको विभिन्न राज्यमा भने निरन्तर काम गरिरहेको छु ।’ नेपालको राजधानीको सुन्दरताबाट मोहित उनी यहाँको कला संस्कृति र मानिसमा आफ्नै देशको झै अपनत्व भेटाएको सुनाउँछिन् । बिहीबारसम्म चल्ने कला प्रदर्शनीमा नेपाल भारतका कलाकारका ४० बढी कलाकृतिहरु रहेका छन् ।

प्रकाशित: २७ मंसिर २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App