८ वैशाख २०८१ शनिबार
खेल

युरोपा लिगको खेलतालिका सार्वजनिक

नियोन- युरोपेली प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलले युरोपा लिग अन्तिम ३२ मा स्विडिस टोली ओस्टरसन्डसको चुनौती पन्छाउनुपर्ने भएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको ओस्टरसन्डस युरोपेली क्लब फुटबलमा अहिलेसम्म कायम एक मात्र इङ्लिस प्रशिक्षकको नेतृत्वमा छ ।
आर्सेन वेंगरले आर्सनलमा प्रशिक्षकका रूपमा नियुक्ति लिएकै दिन स्थापना भएको ओस्टरसन्डसमा ग्राहम पटर मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । खेलाडीका रूपमा लामो करियरको मुख्य हिस्सा साउथह्याम्पटनबाट प्रिमियर लिग खेलेका पटरले इङ्ल्यान्डको यु–२१ टोलीबाट एक खेल खेलेका थिए । फुटबल लिगमा ३ सय ७ खेल खेलेका ४२ वर्षे पटरले १९९६ अक्टोबरमा तीन स्थानीय क्लब ओपे आइएफ, आइएफके अस्टरसन्ड र अस्टरसन्ड टोर्भाला एफएफ मर्ज भएर बनेको ओस्टरसन्डसलाई ६  सिजनमा स्विडिस फुटबल संरचनाको चौथो डिभिजनबाट शीर्ष डिभिजनमा उकालेका थिए ।
युरोपा लिग अन्तिम ३२ का लागि सोमबार गरिएको ‘ड्र’ बाट आफूलाई कठिन प्रतिद्वन्द्वी परेको पटरले स्विकारेका छन् । ‘इङ्ल्यान्ड गएर प्रिमियर लिगको सर्वोत्कृष्टमध्ये एक टिमसँग भेट्न पाउनु हाम्रा लागि साँच्चै खुसीको कुरा हो,’ २०१० देखि ओस्टरसन्डसको नेतृत्व सम्हालेका इङ्लिस प्रशिक्षक पटरले भने, ‘पक्कै पनि यो खेलमा हामी अन्डरडगको हैसियतमा हुनेछौं । हामीविरुद्धको खेलमा आर्सनल नै दाबेदार हो । तथापि हामी आत्मसमर्पण गर्नका लागि मैदान उत्रिने छैनौं । फुटबलमा ठूलठूण्ला चुनौती पनि सफलताका साथ पार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । यसका लागि आवश्यक मिहिनेत गर्न हामी तयार छौं ।’
दोस्रो चरणको छनोट खेलमा गालाटासरेमाथि स्तब्धतापूर्ण जित हासिल गरेको ओस्टरसन्डस एथलेटिक बिल्बाउ र हार्था बर्लिनसमेत रहेको समूहबाट उपविजेताका रूपमा नकआउट चरण पुगेको थियो । टोलीले समूह चरणमा एउटा मात्र हार बेहोरेको थियो ।
युरोपा लिग अन्तिम ३२ को अर्को खेलमा ब्रेन्डन रोजर्सको सेल्टिकले २००८ को युइएफए कप फाइनलमा रेन्जर्सलाई पराजित गरेको रोबर्टो मान्चिनीको महŒवाकांक्षी जेनिट सेन्ट पिट्सबर्गको सामना गर्नेछ । यसै गरी फाइनल पुग्ने लक्ष्यमा रहेको लियोनले भिलारिएल तथा एसी मिलानले बुल्गेरियाको लुडोगोरेट्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
अन्य खेलमा रूसको सिएसकेए मस्कोले सर्बियाको रेड स्टार बेलग्रेडसँग प्रतिस्पर्धा गर्दा पोर्चुगलको स्पोर्टिङ लिस्बनले कजाकस्तानको एस्टाना तथा एफसी ब्रागाले फ्रान्सको मार्सेसँग खेल्नेछन् । इटालीको लाजियोले रोमानियाको एफसिएसबी, नेपोलीले जर्मनीको आरबी लिपजिग तथा एट्लान्टाले जर्मनीकै बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछन् । चेक गणतन्त्रको भिक्टोरिया प्लजेनले सर्बियाको पार्टिजान बेलग्रेड, स्पेनको रियाल सोसिडाडले अस्ट्रियाको साल्जबर्ग, एथलेटिक बिल्बाउले रूसको स्पार्टक मस्को तथा एट्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनसँग खेल्नेछन् । रूसको अर्को टोली लोकोमोटिभ मस्कोले फ्रान्सको निस तथा ग्रिसको एइके एथेन्सले युक्रेनको डिनामो किभलाई अन्तिम ३२ को प्रतिद्वन्द्वीका रूपमा पाएका छन् ।
युरोपा लिग अन्तिम ३२अन्तर्गत पहिलो लेगका खेलहरू फ्रेब्रुअरी १५ मा हुनेछन् भने दोस्रो लेग एक सातापछि हुनेछन् ।

प्रकाशित: २७ मंसिर २०७४ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App