coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेटमा मंगलबार हङकङलाई ४ विकेटले हराउँदै नेपाली किशोर टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ ।
प्रतीश जिसी र अजयकुमार लोनियाले मिलेर ५ विकेट लिएपछि थाइल्यान्डस्थित तर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । समूह चरणको अन्तिम खेलमा थाइल्यान्ड र हङकङले अंक बाँडेर नेपाल म्यानमारसँग पराजित भए मात्र नेपालको अन्तिम ४ को यात्रा रोकिनेछ ।
पहिलो खेलमा आयोजक थाइल्यान्डमाथि १ सय ३३ रनको विजय हासिल गरेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समान २ अंक जोडेका हङकङ र थाइल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समूहको अन्तिममा रहेको म्यानमारले कुनै अंक जोड्न सकेको छैन । मंगलबारको जितसँगै समूह चरणको अन्तिम खेल खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतीशले ७ ओभरमा २ मेडनसहित १५ रन दिएर ३ विकेट लिँदै हङकङको अग्रपंक्तिका ब्याट्सम्यानलाई पवेलियन फर्काएपछि नेपाल सुरुबाट खेलमा हाबी बनेको थियो । पहिलो स्पेल लिएर आएका प्रतीशले चौथो बलमै ओपनर तेजनारायण शेओपुरीलाई आउट गरेका थिए । ४ बल खेलेका तेजनारायणले रनको खाता खोल्न सकेनन् । पाँचौं ओभरमा प्रतीशले अर्का ओपनर मुनिर खानलाई पनि राजन मगरमार्फत क्याच गराए । त्यसपछि कलहन मार्क चल्लु (१६) र आदित गोरावारा (७) ले तेस्रो विकेटका लागि १९ रनको साझेदारी गरे । विशालविक्रम केसीले कलहान मार्कलाई रनआउट गरेपछि दुईको साझेदारी लामो बन्न सकेन । त्यसपछि हङकङले लगातार ४ विकेट गुमायो ।
आर्यन शरद सेट्टी र मोहम्मद हसनले आठौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै हङकङको इनिङ उकास्ने प्रयास गरे । आर्यन शरद्लाई नारायण जोशीले रित गौतममार्फत क्याच गराएपछि हङकङले ९ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो । नेपालका प्रतीश र अजयकुमारबाहेक नारायण जोशी र निखिलकुमार सिंहले १÷१ विकेट लिए ।
नेपालका ओपनरले पनि राम्रो सुरआत गर्न सकेनन् । दोस्रो ओभरमै कुशल मल्ल २ रन बनाएर पवेलियन फर्किए । त्यसपछि राजन मगर (१७) र विशालविक्रम केसी (११) ले दोस्रो विकेटका लागि १४ रनको साझेदारी गरे । सातौं ओभरमा विशालविक्रम आउट भएपछि नेपालले निरन्तर तीन विकेट गुमायो । तर तृतराज दासले पाँचौं विकेटका लागि राजन मगरसँग २७ तथा छैटौं विकेटका लागि सुनील भण्डारीसँग १७ रनको साझेदारी गरेपछि नेपाल जिततिर उन्मुख भएको थियो । तृतराज दासले ४६ बलमा ३ चौकासहित २७ रन बनाए ।  
हङकङका नास्रुल्लाह रानाले ३ विकेट लिँदा रौनक कपुर, हुसैन खान र आर्यन शरदले १÷१ विकेट लिए ।

प्रकाशित: २७ मंसिर २०७४ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App