७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी

सुर्खेत- प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । यो प्रदेशको प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकमा १६ गरी ४० सदस्य हुन्छन् । प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । कांग्रेस एक स्थानमा खुम्चिएको छ ।
मुख्यमन्त्रीका लागि एमालेबाट पोलिटब्युरो सदस्य यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दाबी गरेका छन् । प्रत्यक्षतर्फ धेरै सिट जितेको एमाले पंक्ति मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको ठान्छ । माओवादी केन्द्र भने सशस्त्र द्वन्द्वको आधारभूमि भएकाले मुख्यमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने दाबी गर्छ ।
‘एमालेसँग अहिले भइरहेको समीकरण प्रभावकारी बनाउन मात्रै होइन, जनयुद्धको आधारभूमि भएकाले पनि ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा हामीले दाबी गरेका हौं,’ माओवादी केन्द्रका प्रदेश ६ संयोजक मायाप्रसाद शर्माले भने । उनले दुई पार्टीबीचको एकता प्रक्रियामा विश्वासको वातावरण बनाउन पनि मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरे ।
‘हामी अहिले पार्टी एकीकरण प्रक्रियामा छौं । यसका लागि विश्वासको वातावरण बनाइनुपर्छ, त्यसको एक आधार ६ नम्बर प्रदेशको मुख्यमन्त्री पनि हो’ उनले भने, ‘यहाँको पहिलो मुख्यमन्त्री हामीले नै पाउँछौं ।’ शर्माका अनुसार अन्य प्रदेशमा एमाले धेरै ठाउँमा विजयी भएकाले मुख्यमन्त्रीमा माओवादीको ‘बलिया दाबी’ छैनन् । ‘हाम्रा लागि यो प्रदेश धेरै महŒवपूर्ण छ, माओवादीको बलियो आधार इलाका मात्रै होइन, प्रत्यक्षतर्फ प्रदेशका २४ मध्ये नौ स्थानमा विजयी पनि भएका छौं,’ उनले भने, ‘यी सबै कारणले ६ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री माओवादीबाटै हुनुपर्छ ।’
उनले कालीकोटबाट विजयी महेन्द्रबहादुर शाही र जुम्लाबाट विजयी नरेश भण्डारी मुख्य दाबेदार रहेको बताए । उनका अनुसार दुईमध्ये कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय प्रदेश कमिटी बैठकले गर्नेछ । ‘समानुपातिकको नतिजापछि प्रदेश कमिटी बैठक बसेर मुख्यमन्त्रीबारे निर्णय गर्छाैं,’ उनले भने, ‘शाही र भण्डारीमध्येबाटै एक अगाडि आउनुहुन्छ ।’
मुख्यमन्त्रीका अर्का दाबेदार एमालेका कँडेल प्रदेश संसद् गठन भएपछि निर्णय हुने बताउँछन् । ‘स्वभावैले जुन पार्टीले धेरै सिट प्राप्त गरेको छ, उसैले मुख्यमन्त्री पाउँछ,’ उनले भने, ‘प्रदेश संसद् गठनपछि मुख्यमन्त्रीका विषयमा छलफल गर्छौं ।’
एमाले उपाध्यक्ष एवं ६ नम्बर प्रदेश इन्चार्ज युवराज ज्ञवाली प्रदेशको मुख्यमन्त्री पार्टी स्थायी समिति बैठकले टुंगो लगाउने बताउँछन् । ‘विजयी उम्मेदवारले मुख्यमन्त्रीको आकांक्षा राख्नु स्वाभाविक हो,’ ज्ञवालीले भने, ‘तर, मुख्यमन्त्रीको टुंगो पार्टीको स्थायी समिति बैठकले लगाउँछ ।’ ज्ञवालीका अनुसार पार्टीबाट पोलिटब्युरो सदस्यद्वय कँडेल र ज्वाला मुख्यमन्त्रीका दाबेदार हुन् । कँडेल सुर्खेतबाट र ज्वाला सल्यानबाट निर्वाचित भएका हुन् ।
उनले सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको बहुमत रहेकाले माओवादी केन्द्रलाई पनि मिलाएर लैजाने बताए । ‘यसो हुँदा एउटा प्रदेशको मुख्यमन्त्री माओवादीलाई छोड्नुपर्छ,’ उनले भने, ‘यी सबै कुरा स्थायी समिति बैठकले टुंग्याउँछ ।’

प्रकाशित: २७ मंसिर २०७४ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App