८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

लहान- प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेस गठबन्धले स्पष्ट बहुमत पाएपछि मुख्यमन्त्री को बन्ला भन्ने चासोले राजनीतिक बजार तताएको छ ।

मुख्यमन्त्री कसलाई बनाउने विषय अहिले मधेस गठबन्धनभित्र प्रवेश भएको छैन । समानुपातिक मतपरिणाम आएपछि हामी यो विषयमा छलफल सुरु गर्छौं- उपेन्द्र यादव

प्रदेश २ मा प्रत्यक्षतर्फको नतिजा हेर्दा मधेस गठबन्धनको बहुमत स्पष्ट भइसकेको छ । सार्वजनिक नतिजाअनुसार प्रदेश २ (सप्तरीदेखि पर्सासम्म) का आठ जिल्लामा मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपालका २० र राजपाका १५ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यो प्रदेशमा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य संख्या ६४ सिट छ । जसमध्ये मधेस गठबन्धनले ३५ सिट जितेको छ । प्रत्यक्षतर्फ बहुमतका लागि चाहिने ३३ सिट हो । प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ । समानुपातिकको मतगणना जारी छ ।
प्रत्यक्षतर्फको नतिजा हेर्दा प्रदेश २ मा मधेस गठबन्धनको सरकार बन्नेमा दुविधा छैन । तर, प्रदेश सरकार प्रमुख गठबन्धनका दुईमध्ये कुन दलका र को नेता होला भन्ने विषय कौतुहल बनेको छ ।
प्रदेशसभा सदस्य जितेका प्रभावशाली नेताहरूमध्ये को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलता मतदातामा बढेको छ ।  प्रदेशतर्फ समानुपातिक मतपरिणाम नआइसकेकाले प्रभावशाली नेताहरूले मुख्यमन्त्री बन्ने दौड भने सुरु गरिसकेको छैन् । समानुपातिक मतपरिणाम आएपछि मधेस गठबन्धनभित्र छलफल गरी मुख्यमन्त्रीको टुंगोे लगाइने नेताहरूको भनाइ छ । फोरम र राजपाले एउटा मामदण्ड भने बनाइसकेका छन्– चुनावी परिणाम (प्रत्यक्ष र समानुपातिक) ले जुन दलको वजन बढी हुन्छ सोही दलबाट मुख्यमन्त्री बन्ने ।
सप्तरीको राजविराजमा मंगलबार नागरिकसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘मुख्यमन्त्री को बन्ने र कसलाई बनाउने विषय अहिले मधेस गठबन्धनभित्र प्रवेश भएको छैन । समानुपातिक मतपरिणाम आइसकेपछि बल्ल हामी यो विषयमा छलफल सुरु गर्छौं ।’  सामान्य मान्यताअनुसार सांसद संख्या बढी हुने दलको भागमा मुख्यमन्त्री पर्ने उनले बताए ।
राजपा महासचिव मनीषकुमार सुमनले भने, ‘प्रदेशसभा संसदीय दल बनेको छैन । संसदीय दल निर्माण भएपछि दलको नेता चुनिन्छ । र, संसदीय दलको नेता नै मुख्यमन्त्री हुने  अभ्यास अन्य मुलुकमा छ,’  । करिबकरिब हामी पनि त्यही अभ्यास पछ्याउँछौं ।’ गठबन्धनका शीर्ष नेताहरूको निर्णयलाई सबैले मान्नुपर्ने संहिता बनाउने पनि उनले बताए । उनले भने, ‘योग्य, सक्षम, लोकप्रिय, मधेसका लागि काम गर्न सक्नेलाई मुख्यमन्त्री र मन्त्रिमण्डलमा सहभागी गराइन्छ । अहिले नै फलानो मुख्यमन्त्री भनेर कुनै नेतालाई प्रस्तुत गर्दैनांै । प्रत्यक्ष निर्वाचित मात्र होइन, समानुपातिक सदस्य पनि मुख्यमन्त्री बन्न सक्छ । यसका लागि समानुपातिक मतपरिणाम आउनुपर्छ ।’
राजपा स्रोतका अनुसार मुख्यमन्त्री सो दलको भागमा परे मनीषकुमार सुमन, जितेन्द्र सोनलमध्ये एकको सिफारिस हुनसक्छ । फोरमको भागमा परे लालबाबु राउत, विजयकुमार यादवको नाम चर्चामा छ ।
‘मिलेर देश र मधेस बनाउँछौं’
सुमनले पहिलोपटक मधेस सरकार बन्न लागेकाले मधेसी दलसँग मधेसलाई समृद्ध बनाउने चुनौती रहेको बताए  । ‘मधेसका जनताले दिएको भरोसाको मतलाई हामी खेर फाल्दैनांै,’ उनले भने, ‘वाम गठबन्धन (एमाले–माओवादी) सँग मिलेर मधेस पहिचान मुद्दालाई संशोधनमार्फत संविधानमा स्थापित गराउँछौं ।’ सबै मिलेर अब मधेस र देशको आर्थिक विकासलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘बन्नलागेको बहुमतको सरकारले मधेसी, आदिवासी सीमान्त समुदायको असन्तुष्टि सम्बोधन गरेर आर्थिक क्रान्तितर्फ देशलाई अघि बढाउनुको विकल्प छैन् ।’ उनका अनुसार मधेस अशान्त रहे मुलुक समृद्ध बन्न सक्दैन भन्ने कुरा सबै दलले बुझ्नुपर्छ । उनले भने, ‘एमाले र माओवादी दुवै दलले मधेसको माग सम्बोधन गर्ने र मिलेर देश विकास गर्ने भरोसा छ ।’

प्रकाशित: २७ मंसिर २०७४ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App