सुर्खेत- राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिंचाई विकास आयोजनाले पनि गति लिन थालेको छ। सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिंचाई, कृषि सडक र ग्रामिण विद्युतीकरण पुर्याउने उद्देश्यले भेरी करिडोर सिंचाई विकास आयोजना सुरु भएको हो।
करिव चार अर्वको यो आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) अन्तिम चरणमा पुगेको छ । ‘फिल्ड रिपोर्ट तयार गरेर त्यसलाई अन्तिम रुप दिन लागिरहेका छौं’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मनोज थापाले भने, ‘अवको चार महिनाभित्र सिंचाई विभागमा स्विकृतिका लागि डिपिआर पठाउँछौं।’
फिल्ड रिपोर्टमा घोरेटादेखि घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा एक सय १५ लिफ्ट सिंचाई र ४९ वटा कुलाको जीर्णोद्धार गर्नुपर्ने उल्लेख छ । ‘फिल्ड रिपोर्टबाट आएका तथ्याङ्कलाई अन्तिरुप दिँदासम्म केही आयोजना थपिने संभावना रहन्छ’ सिडिई थापाले भने, ‘प्रारम्भीक सर्भेकै हाराहारीमा बजेट खर्च हुने अनुमान गरेका छौं।’
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै सो क्षेत्रका जनतालाई सिंचाई, सडक र विद्युत पुर्याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो । आयोजनाले भेरी नदी वारी र पारीका दुई–दुई किलोमिटर क्षेत्रफलमा भेरीको पानी लिफ्ट गरेर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने छ । यसका साथै भेरी नजिकका खोलाहरुबाट खेतियोग्य जमिनमा सिंचाई सुविधा पुर्याउनका लागि ४९ वटा कुलोको निर्माण गर्नुपर्ने प्रस्ताव फिल्ड रिपोर्टमा उल्लेख छ।
सरकारले आयोजना सञ्चालनका लागि चालू आर्थिक वर्षका लागि २० करोड रुपियाँ छुट्याएको छ । सात स्थानमा भेरीको पानी लिफ्टमार्फत खेतीयोग्य जमिनमा पुर्याउनका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ भने केही ठाउँमा कुलो सुधारको काम भइरहेको छ। ‘डिपिआर संगसंगै भेरीको पानी पम्पिङ गर्ने काम पनि अघाडि बढाएका छौं’ उनले भने, ‘अवको पाँच वर्षभित्र भेरी किनारका वारी र पारीका उर्वर भूमिमा सिंचाईका लागि पानीको अभाव हुँदैन।
सिंचाईसँगै ग्रामिण सडक र ग्रामिण विद्युतीकरणको काम पनिसँगै अघि बढ्ने छ। भेरी किनारका बस्तीमा विद्युत र सडक पुर्याउने काम पनि सँगसँगै अघि बढ्छ’ उनले भने, ‘भेरी–बबई बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिंचाई आयोजना सम्पन्न गर्ने लक्ष्य हामीले राखेका छौं।’
प्रकाशित: २६ मंसिर २०७४ १५:३६ मंगलबार