८ वैशाख २०८१ शनिबार
समाज

नतिजा आएको चार महिना बित्दा पनि नियुक्ति भएन

अरुण बम

डोटी-सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको करार स्वास्थ्यकर्मी भर्नाछनौट प्रकृयाको नतिजा सार्वजनिक भएको चार महिना बित्दा उतिर्ण भएका स्वास्थ्यकर्मीले नियूक्ति पाएका छैनन्।

निर्देशनालयले केन्द्रको निर्णय अनुसार गत फागुन २० गते सुदूरपश्चिमका नौ वटै जिल्लाका लागि एक सय २७ जना अनमी, एक सय ४० जना हेल्थ असिष्टेन्ट, दुई जना रेडियो ग्राफर, नौ जना स्टाफनर्स, ७० जना अहेव र पाँच जना ल्याव असिष्टेन्टका लागि बिज्ञापन आह्वान गरेको थियो । सोही बिज्ञापनका आधारमा अन्तर्बार्ता मार्फत परीक्षा लिएर बैशाख ३० गते नतिजा सार्वजनिक गरेको थियो।

तर, त्यो नतिजामा आफ्ना मान्छे नपरेको झोकमा तत्कालिन स्वास्थ्यमन्त्री रामजनम चौधरीले परीक्षा ‘नियमसंगत’ नभएको भन्दै सोही दिन मन्त्रिपरिषद्को  निर्णय गराएर नतिजा रद्द गराईदिएका थिए। सोही क्रममा आफ्ना मान्छे नराखेको रिसमा क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशीलनाथ प्याकुरेललाई एक महिनाका लागि मन्त्रालयमा काजसरुवा गरेका थिए।

त्यसपछि स्वास्थ्यमन्त्री चौधरीकै निर्देशनमा भर्नाछनौट प्रक्रियामा भएको अनियमितता छानबिन गर्न मन्त्रालयकै उपसचिव झपीन्द्र पाण्डेय र शाखा अधिकृत चिरन्जीबि सापकोटा सहितको छानबिन समिति गठन गरिएको थियो । समितिले सम्पूर्ण छानबिन पश्चात जेठ २५ गते परीक्षा ‘नियमसंगत’ भएको नतिजा सहितको प्रतिबेदन बुझाईसकेको छ । तर, नतिजा नियमसंगत भएको प्रमाणित भैसकेपछि पनि छनौट भएका स्वास्थ्यकर्मीले नियूक्ति पाएका छैनन् ।

‘नतिजा नियमसंगत भएपछि उत्तिर्ण भएका स्वास्थ्यकर्मीलाई नियूक्ति दिएर काममा पठाउनुपर्ने हो,’ क्षेत्रीय निर्देशक प्याकुरेलले भने, ‘तर, मन्त्रालयले नै नियुक्ती दिन भनेको छैन् ।’ आफुले सिफारिस गरेका ब्यक्ति उतिर्ण नगरेको झोकमा स्वास्थ्यमन्त्री चौधरीले यस्तो गरेको क्षेत्रीय स्वास्थ्य निर्देशक प्याकुरेलको आरोप छ ।  क्षेत्रीय निर्देशक प्याकुरेलले स्वास्थ्यमन्त्री चौधरीले ६६ जना अनमी, ९ जना स्टाफनर्स, ८ जना ल्याव असिष्टेन्ट गरि ८३ जनाको नाम उत्तिर्ण गर्नु भनेर आफु कहाँ पठाएको बताउदै आएका छन्।

उत्तिर्ण स्वास्थ्यकर्मीलाई नियूक्ति नदिएको बिषयलाई लिएर केही उत्तिर्ण परिक्षार्थीहरुले अख्तियारमा समेत उजुरी दिएका थिए । उजुरीपछि अख्तियारको पनि ध्यानाकर्षण भएको छ । ‘नतिजामा उत्तिर्ण भएका स्वास्थ्यकर्मीहरुलाई किन नियूक्ति नदिएको हो ?’ भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयलाई उत्तर माग गरेको बुझिएको छ । स्रोतका अनुसार गत शुक्रबाट अख्तियारबाट उत्तर माग गरिएको सो पत्र मन्त्रालयका लागि पठाईएको छ।

उता स्वास्थ्यकर्मीको नियूक्ती हुन नसक्दा जोखिमको समयमा पनि यहाँका स्वास्थ्य संस्थाहरु स्वास्थ्यकर्मी बिहिन अबस्थामा छन् । जिल्लाले करारमा खटाएका स्वास्थ्यकर्मीहरुको पनि असार मसान्तमा म्याद सकिएकाले अधिकांश स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको अभाव छ। 

 

प्रकाशित: २२ श्रावण २०७३ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App