४ वैशाख २०८१ मंगलबार
राजनीति

यस कारण हारिन् आरजुले

धनगढी- नेपाली काग्रेसको बलियो पकड क्षेत्र भएकाले कैलाली क्षेत्र नम्बर ५ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको रोजाइमा परेको थियो । माइती क्षेत्र रहेको बर्दियामा उम्मेदवार बन्ने सुरुमा चर्चा चले पनि कैलाली क्षेत्र नम्बर ५ मा सुरक्षित ठानेर उनले त्यहाँबाट मनोनयन दर्ता गराएकी थियन् । 

पार्टी भित्रको कलह, यस ठाउँमा नयाँ मान्छे हुनु,  आरजुलाई घेरामा राखिँदा मतदाताको पहुँच नपुग्नु, जातिय र भेगिय मत हुनु जस्ता कारण आरजुले हार वेहोरेकी हुन्  । 

पहिलेको मत परिणाम हेर्दा आरजुले चुनाव जित्ने अधिकाशंको आकलन थियो । सुरक्षा निकायको आन्तरिक सूचनामा पनि उनले नै जित्ने रिपोर्ट थियो । काग्रेसको वलियो पकड  क्षेत्र, उनको व्यक्तित्व र प्रभाव जस्ता कारणले चुनाव जित्ने आकलन गरिएको थियो । ती सवै विश्लेषण र आकलनलाई गलत सावित गर्दै झण्डै पाँच हजारको फराकिलो मत अन्तरले एमालेका बैकल्पिक केन्दी्रय सदस्य नारदमुनि रानाले चुनाव जिते । २७ हजार दुई सय दुई मत ल्याएर राना विजयी भए । आरजुले २२ हजार तीन सय २२ मत प्राप्त गरिन् ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट वाम गठबन्धनका साथै अन्य कुरा पनि हार्नुमा आधार रहेको बताउँछन् । पार्टी भित्रको कलह, यस ठाउँमा नयाँ मान्छे हुनु,  आरजुलाई घेरामा राखिँदा मतदाताको पहुँच नपुग्नु, जातिय र भेगीय मत हुनु जस्ता कारण रहेको उनको भनाइ छ । ‘आरजु सक्षम नेता हुन तर उनलाई घेरामा राखियो, मतदातासँग घुलमिल हुने वातारण बनाउन कसैले पनि सहजीकरण गरिदिएन, ’उनले भने, ‘कतिपय पत्रकारको समेत उनीसँग कुरा गर्ने पहुँच नपुगेको पाइयो ।’ 
‘म नेपाली काग्रेस समर्थक हुँ, मेरो टोलमा आरजु आउँदा मैले वहाँको नजिक जान पनि पाइन,’ स्थानीय एक व्यापारीले भने, ‘चुनावका वेला त हामी मतदाताको नजिक गएर कुरा गर्ने पहुँच पुग्दैन भने पछि कसरी पुग्ला भनेर मैले मत दिइन ।’ पार्टी भित्रको गुटबन्दी पनि आरजु हार्नुको कारण रहेको स्थानीण्यको विश्लेषण छ । नागरिक समाजका अगुवा तथा विश्लेषक रवीन पन्त पनि आरजुले पार्टी भित्रको चरम गुटबन्दीका कारण हारेको बताउँछन् । ‘आरजु चुनाव जित्थिन्, केही सीमित व्यक्तिले घेरामा राखेर जनतासम्म पुग्न दिएनन्,’ उनले भने । जातिय  र भेगीय मत पनि आरजुले तान्न नसकेको उनको भनाइ छ । नेपाली काग्रेसका यस क्षेत्रका नेता पुष्करनाथ ओझालाई आरजु बिश्वासमा लिन सकिनन् । आरजु नजिक रहेका केहीले पुष्करनाथ ओझलाई टाढा धकल्ने काम गरेको उनको भनाइ छ ।  २०७० सालको संविधानसभाको उपनिर्वाचनमा यस क्षेत्रवाट चुनाव जितेका पुष्करनाथ ओझा पक्षधर समुह असन्तुष्ट थिए ।
ओझा उनको प्रचारमा कतै पनि देखिएनन् । देउवाले पत्नीलाई उम्मेदवार बनाएर परिवारवाद लागू गरेको र त्याग गरेका स्थानीय नेतालाई अन्याय गरेको भन्दै ओझाका समर्थकले असहयोग गरेका थिए । यस क्षेत्रमा रानाथारूको जातिय मत र डोटेली समुदायको भेगीय मत बढी निर्णायक मान्ने गरिन्छ । आरजुले यी दुवै पक्षका मत प्रयास गरे बमोजिम तान्न सकिएको देखिएन । उनले रानाथारुका मत प्रभावित गर्न प्रदेशमा जीवन रानालाई उम्मेदार बनाउन लगाइन् । स्थानीय तहमा माओवादी केन्द्रवाट मेयर पदमा निर्वाचन लडेका रामसमझ रानालाई कांग्रेस प्रवेश गराउन सफल भए पनि रानाको उम्मेदवारी र रामसमझ रानाको प्रवेशले रानाथारूका समुदायका मतमा कुनै प्रभाव परेन । यसैगरी याहाँका नतिजामा निर्णायक मानिएका डोटी वाहुनका मत प्रभावित पार्न प्रदेशमा डिल्ली पन्त उम्मेदवार बनाइएको थियो । 
पुष्करनाथ ओझाका समर्थकको असन्तुष्टिका कारण डोटी समुदायका वाहुनका पनि आरजुले आशा गरेको मत पाउन नसकेको स्थानीय बताउछन । भेगीय नारा लगाएर डोटीका उम्मेदवारलाई हराउने केही नेताले प्रयास गरेको कुरा वाहिर आउदाँ पनि आरजुलाई असर परेको नागरिक समाजका अगुवा पन्त बताउँछन् । नारदमुनि राना स्थानीय समुदायमा घुलमिल भएर काम गर्दै आएको कारण पनि उनलाई जितमा सहज भएको स्थानीय बताउँछन् । इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी नारदमुनिको जित र आरजु हारको मुख्य कारण राना समाजमा घुलमिल भएर काम गर्नु नै रहेको बताउँछन् । ‘रानाले लो प्रोफाइलमा रहेर उच्च लेवलको प्रचार प्रसार गर्ने कोशलता पनि यो चुनावमा प्रदर्शन गरे,’ उनले भने, ‘उनले सवै समुदायको मत पाए ।’ 
टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागी थुनामा रहेका राजपाका लक्ष्मण चौधरीले छ हजार छ सय ४७ मतप्राप्त गरे । लक्ष्मणले नारदमुनिलाई आउने जातिय मत काटेर  आरजुलाई फाइदा पुग्ने विश्लेषणले पनि काम गरेनन् । 
‘रानाथारू समुदायका जुनसुकै पार्टीका कार्यकर्ता भएपनि नारदमुनीलाई मत दिएको पाइयो’आरजुका प्रचारमा सक्रिय भएर लागेका धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने । 
धनगढी रहेको यो क्षेत्र (तत्कालीन निर्वाचन क्षेत्र ३ )मा २०४८ मा नेपाली कांग्रेसका स्व.टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । २०५१ धनगढी रहेको तत्कालीन निर्वाचन क्षेत्र ४ मा एमालेका महेश्वर पाठकले जितेका थिए । २०५६ मा काग्रेसका स्व. टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । क्षेत्र नम्बर ६ मा २०६४ सालको संविधानभामा माओवादीका लीला भण्डारीले चुनाव जितेकी हुन । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले जिते । उनले छाडेपछि उपनिर्वाचनमा काग्रेसका पुष्करनाथ ओझाले जितेका थिए ।
को हुन नारद ?
४५ वर्षीय रानाले २०४३ सालदेखि अनेरास्ववियुवाट राजनीती सुरु गरेका हुन् । २०४७ सालमा एमाले पार्टी राजनीतीमा प्रवेश गरेको उनी टोल कमिटीवाट केन्द्रीय कमिटीसम्म पुग्न सफल भए । अहिले उनी एमालेको वैकल्पिक केन्द्रिय समिती सदस्य रहेका छन् । २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयर भएका राना २०६४ सालमा समानुपातिक कोटामा संविधानसभा सदस्य बने । राजनीतिकशास्त्रमा उनले स्नातकोत्तर गरेका छन् । 

प्रकाशित: २६ मंसिर २०७४ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App