८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय र केन्द्रीय निर्वाचनमा मतदान प्रवृत्ति उस्तै

सुरेन्द्र पौडेल/भाषा शर्मा 
काठमाडौं- सात महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाताले आफ्नो मत ठूला दलहरुलाई दिएका छन् । यसै वर्षको वैशाख, असार र असोज गरी तीन चरणमा सम्पन्न स्थानीय निर्वाचन र मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हालसम्म घोषित परिणाम हेर्दा मतदाताको शैलीमा खासै परिवर्तन आएको देखिँदैन । 

स्थानीय निर्वाचनमा कुल मतदाता १ करोड ४० लाख ५४ हजार ४ सय ८२ थिए भने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ पुगेको थियो । स्थानीय निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १३ लाख ७२ हजार ४ सय ५३ मतदाता थपिएका थिए । स्थानीय निर्वाचनमा ७५ प्रतिशत मतदान भएको थियो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत । स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६ प्रतिशत कम मतदाता मतदान प्रक्रियामा सहभागी बनेका थिए । 

स्थानीय निर्वाचनमा काठमाडौं उपत्यकाभित्रका निर्वाचन क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई प्राप्त मतमा जतिको भिन्नता थियो प्रतिनिधिसभा तथा प्रदेसभा निर्वाचनमा पनि भिन्नता उस्तै छ । मतदाता संख्या केही बढेकाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारले स्थानीय निर्वाचनमा गठबन्धनले प्राप्त गरेको भन्दा केही धेरै मत प्राप्त गरेको देखिन्छ । काठमाडौं उपत्यकामा विवेकशील साझा पार्टीका उम्मेदवारले जहाँ बढी मत प्राप्त गरेका छन् ती ठाउँमा स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुवै गठबन्धन (वाम र लोकतान्त्रिक) ले कम मत प्राप्त गरेको देखिन्छ । 

स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको मतलाई तुलना गर्दा काठमाडौं उपत्यकामा वाम गठबन्धन र लोकतान्त्रिक उम्मेदवारको हारजितमा विवेकशील साझा पार्टीले महŒववूर्ण भूमिका खेलेको देखिन्छ । विवेकशील साझाका उम्मेदवारले जुन क्षेत्रमा बढी मत प्राप्त गरेका छन् ती क्षेत्रमा स्थानीय निर्वाचनमा र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनले प्राप्त गरेको मतमा ठूलो अन्तर देखिन्छ । यही अन्तरका कारण स्थानीय निर्वाचनमा बढी मत प्राप्त गरेको गठबन्धनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पराजय भोग्नुपरेको छ । विवेकशील साझाले जुन गठबन्धनको मत तानेको छ त्यसैले हारेको छ । 

स्थानीय निर्वाचनमा विवेकशील र साझा छुट्टाछुट्टै पार्टीका नाममा चुनावी मैदानमा थिए । स्थानीय निर्वाचनमा विवेकशील र साझाले मेयरमा पदमा मात्र उम्मेदवारी दिएका थिए । त्यसैले प्रत्येक वडामा उनीहरुको उपस्थिति कस्तो छ आँकलन गर्न गाह्रो थियो । स्थानीय निर्वाचनपछि विवेकशील र साझाबीच एकीकरण भई विवेकशील साझा पार्टी बन्यो । 
विवेकशील साझाले निर्वाचनमा हालसम्म प्रत्यक्षतर्फ कुनै सिट जित्न नसके पनि काठमाडौं उपत्यकामा प्राप्त मतलाई कम आँक्न सकिने खालको छैन । गठबन्धनका उम्मेदवारको हारजितमा विवेकशीलले प्राप्त गरेको मत निर्णायक देखिन्छ । 

काठमाडौं जिल्लामा रहेका प्रतिनिधिसभाका १० र प्रदशेसभाका २० क्षेत्रमध्ये स्थानीय निर्वाचनमा ९ प्रतिनिधिसभा र १७ प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनले बढी मत पाएको थियो । यस्तै एक प्रतिनिधिसभा क्षेत्र र ३ प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका थिए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने थोरै घटबढ भएको छ । काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं.५ (क) र (ख) को परिणाम आउन बाँकी रहँदा काठमाडौं जिल्लाका १० प्रतिनिधिसभा क्षेत्रमध्ये ६ वटामा वाम गठबन्धनले र ४ वटामा लोकतान्त्रिक गठबन्धनले बढी मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभातर्फ सार्वजनिक भएका १८ क्षेत्रमध्ये १४ मा वाम गठबन्धन र ४ मा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका छन् । 
काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको भन्दा ६ सय ६ मत बढी पाएको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले १० हजार ९ सय ८८ मत र लोकतान्त्रिक गठबन्धनले १० हजार ३ सय ८२ मत प्राप्त गरेका थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनको भन्दा ५ हजार ६ सय मत बढी पाएको छ । यस क्षेत्रमा स्थानीय निर्वाचनको तुलनामा लोकतान्त्रिक गठबन्धनले ५ सय ५४ मत बढी ल्याएको छ भने वाम गठबन्धनले ५ हजार ६ सय ५२ मत कम पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा विवेकशील साझा १० हजार १ सय १८ मत ल्याई दोस्रो स्थानमा छ । 

केही स्थानमा जुन मतदाताले गठबन्धनको प्रदेशसभा उम्मेदवारलाई मत दिएका छन् तीनै मतदाताले त्यही गठबन्धनको प्रतिनिधिसभा उम्मेदवारलाई मत दिएका छैनन् । यस्तो क्षेत्रमा स्थानीय निर्वाचनमा बढी मत पाएका गठबन्धनका उम्मेदवारले पराजय भोगेका छन् । केही क्षेत्रमा मतदाताले पार्टीभन्दा उम्मेदवारलाई हेरेर मत दिएको देखिन्छ । स्थानीय निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं.४ मा वाम गठबन्धनले बढी मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको भन्दा साढे २ हजार मत बढी पाएको थियो । तर प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनको भन्दा लोकतान्त्रिक गठबन्धनले करिब साढे तीन हजार मत बढी पाएको छ । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं.४ (क) र (ख) मा जति मत वाम गठबन्धनले प्राप्त गरेको छ यही क्षेत्रका वाम गठबन्धन प्रतिनिधिसभा उम्मेदवारले पाएका छैनन् । क्षेत्र नंं.४ (क) र (ख)मा वाम गठबन्धनको उम्मेदवारले २० हजार १ सय ४१ मत पाएका छन् । यही दुईवटा प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले १८ हजार ७३ मत प्राप्त गरेको छ । तर यी दुईवटा प्रदेशसभा क्षेत्रलाई समेटेर बनाइएको प्रतिनिधिसभा क्षेत्रमा भने लोकतान्त्रिकले २१ हजार ५ सय ८८ र वाम गठबन्धनले १८ हजार १ सय ४० मत पाएका छन् । 

ललितपुरका सबै क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा धेरै मत पाएको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि ललितपुरका प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी कुल ९ क्षेत्रमा वाम गठबन्धनले नै बढी मत पाएको छ । स्थानीय निर्वाचनकै शैलीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाताले यहाँ वाम गठबन्धनलाई बढी मत दिएका छन् । तुलनात्मक रुपमा स्थानीय र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन दुवै गठबन्धनले यहाँ उस्तै मत प्राप्त गरेका छन् । 

भक्तपुरको प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्रमा पनिस्थानीय निर्वाचनको शैलीमा मत खसेको देखिन्छ । दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्ये स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टी र वाम गठबन्धनले एकएकमा बढी मत पाएका थिए । क्षेत्र नं.१ मा मजदुर किसान पार्टी र क्षेत्र नं.२ मा वाम गठबन्धनले बढी मत पाएको थियो । ती दल तथा गठबन्धनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पनि यस्तै गरी मत पाएका छन् । 

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभाको २ र प्रदेशभाको ४ क्षेत्रमध्ये स्थानीय निर्वाचनमा सबैमा वाम गठबन्धनले बढी मत प्राप्त गरेको थियो । यो जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एउटा प्रदेशसभा क्षेत्रबाहेक सबैमा वाम गठबन्धनले नै बढी मत पाएको छ । स्थानीय निर्वाचनमा दुई गठबन्धनबीचको मतान्तर र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा दुई गठबन्धनबीचको मतान्तरमा खासै भिन्नता देखिँदैन । 

रामेछापका सबै क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनका पक्षमा जसरी बढी मत खसेको थियो त्यसैगरी प्रतिनिधि र प्रदेशसभामा पनि उनीहरुकै पक्षमा बढी मत खसेको छ । रामेछापमा प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाका लागि २ क्षेत्र छन् । 
दोलखामा स्थानीय निर्वाचनमा जसरी नै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि सबै क्षेत्रमा मतदाताले वाम गठबन्धनका उम्मेदवारलाई बढी मत दिएका छन् । दोलखामा पनि प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई क्षेत्र छन् । 

धादिङका प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्रमध्ये स्थानीय निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका एकएक क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले बढी मत प्राप्त गरेको थियो । बाँकी सबै क्षेत्रमा वाम गठबन्धनले बढी मत पाएको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने यहाँको सबै क्षेत्रमा वाम गठबन्धनलाई बढी मत प्राप्त भएको छ । 
रसुवामा पनि स्थानीय निर्वाचनमाझै मतदाताले त्यहाँका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई बढी मत दिएका छन् । नुवाकोटका प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्र सबैमा स्थानीय निर्वाचनमा वाम गठबन्धनका पक्षमा बढी मत खसेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि स्थानीयमा जस्तै सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले बढी मत प्राप्त गरेका छन् । 

प्रकाशित: २६ मंसिर २०७४ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App