८ वैशाख २०८१ शनिबार
अर्थ

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले वायुसेवा सञ्चालक संघको कार्यालयमा सोमबार छापा मारेको छ । 

सरकारले गरेका सम्झौताबारे ख्याल नगरी संघको सिनामंगलस्थित कार्यालयमा सीधै छापा मार्न जाँदा सरकारी अधिकारीको टोली नाजबाफ हुनुपरेको छ ।


सरकारले गरेका सम्झौताबारे ख्याल नगरी संघको सिनामंगलस्थित कार्यालयमा सीधै छापा मार्न जाँदा सरकारी अधिकारीको टोली नाजबाफ हुनुपरेको छ । सरकारी निकायले बोलाएर छलफल गर्नुपर्नेमा ‘जुत्ता पसलमा छापा मार्न गएको’ शैलीमा जाँदा सरकारी टोली ‘हास्यको पात्र’ बनेको हो ।  
नेपाल आयल निगमले गत शुक्रबार मध्यरातबाट हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि गरी ८७ रुपैयाँ पु¥याएपछि वायुसेवा कम्पनीहरूको आइतबार बसेको बैठकले मंगलबारबाट लागू हुनेगरी न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म ‘फ्युल सरचार्ज’ वृद्धि गर्ने निर्णय गरेको थियो । 
हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवा कम्पनीले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन् । यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको÷बढेको रूपमै लिन्छन् ।
प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरवलोकन गर्ने सरकारी नीति छ । सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्जका माध्यमले समायोजन गर्न पाउने सहमति छ । सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।  
आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका पाँच अधिकारी केही सञ्चारकर्मी लिएर संघको कार्यालयमा छापा मार्न पुगेका थिए । दुई महिनाअघि संघको कार्यालय रहेको स्थान तीनकुने पुगेको विभागको टोली त्यहाँ कार्यालय नभेटेपछि सोध्दैखोज्दै सिनामंगल पुगेको थियो । 
सम्बद्ध स्रोतका अनुसार संघको कार्यालय प्रवेश गर्नासाथ विभागको टोलीले ‘तपाईंहरूले कसरी हवाई भाडा बढाउन पाउनुहुन्छ, त्यसको आधार के हो’ भन्दै कागजपत्र खोतलेको थियो । त्यसपछि संघका कार्यकारी निर्देशक कमलेश बर्माले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा वृद्धि गर्न स्वीकृति दिएको पत्र देखाएपछि छापा मार्न पुगेको टोली नाजबाफ भएको थियो ।
स्रोतका अनुसार छापा मार्न आएको टोलीका सदस्यले आफूहरू आपूर्ति विभागबाट आएको जानकारी दिए पनि व्यक्तिगत परिचय भने दिएका थिएनन् । त्यसपछि विगतमा इन्धनको भाउ बढ्दा भाडा वृद्धि गरिएको थियो कि थिएन र घट्दा भाडा घटाइएको थियो कि थिएन भन्दै कार्यालयमा रहेका कागजात टोलीले हेरेको थियो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा दर (फ्युल सरचार्ज) तलमाथि गर्न उड्डयन प्राधिकरणलाई जिम्मेवारी दिएको छ । प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा रहेको समितिले हवाई इन्धनको भाउ प्रतिलिटर ४ रुपैयाँ तलमाथि हुँदा हवाई भाडा दर घटबढ गर्न औपचारिक स्वीकृति दिने गर्छ । उक्त समितिमा वायुसेवा सञ्चालक संघका तर्फबाट निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्स सदस्य छन् । 
‘सारा कागजपत्र हेरिसकेपछि आपूर्ति विभागको टोलीले विगतमा हवाई भाडा घटबढ हुँदा भएका निर्णयको कागजातको छायाप्रति लिएर मंगलबार आउन निर्देशन दिँदै चिठी दिएको छ,’ वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक बर्माले सोमबार नागरिकसँग भने, ‘हामी सबै कागजात लिएर मंगलबार आपूर्ति विभाग जान्छौं ।’
कार्यालयमा छापा मारिएको विषयमा संघका प्रवक्ता घनश्याम आचार्यले आश्चर्य प्रकट गरे । ‘गत असार तेस्रो साता आयल निगमले हवाई इन्धनको भाउ कटौती गरेपछि हामीले तुरुन्तै हवाई भाडा घटाएका थियौं,’ आचार्यले भने, ‘त्यस बेला त आपूर्ति विभागले कुनै प्रतिक्रिया जनाएको थिएन, अहिले बढ्नासाथ कुदाकुद गरे आउनुको अर्थ के हो ? के हामी जुत्ता पसल हो ? हामीले सरकारी नियमअनुसारै भाडा घटबढ गर्दै आएका छौं । सरकारी निकायले यति जानकारीचाहिँ राख्नुपर्छ ।’

प्रकाशित: २६ मंसिर २०७४ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App