६ वैशाख २०८१ बिहीबार
खेल

च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक

पेरिस- साबिक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा सनसनीपूर्ण प्रदर्शनका साथ दाबेदार छबि बनाएको पेरिस सेन्ट जर्मनको सामना गर्नुपर्ने भएको छ भने बार्सिलोनाले चेल्सीको सामना गर्नेछ । 
सोमबार अन्तिम १६ का लागि गरिएको ‘ड्र’ च्याम्पियन्स लिगमा १३औं तथा लगातार तेस्रो पटक उपाधि जित्ने रियालको लक्ष्यमा बाधक बन्न सक्ने देखिएको छ । गत सिजनको उपविजेता युभेन्ट्सले अन्तिम १६ मा इङ्लिस प्रिमियर लिगको टोटेनह्यामसँग खेल्नेछ । 
प्रिमियर लिगका पाँच टोली युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको अन्तिम १६ मा पुग्दा म्यानचेस्टर युनाइटेडले सेभियासँग प्रतिस्पर्धा गर्नेछ भने म्यानचेस्टर सिटीले स्विस क्लब एफसी बसेलसँग खेल्नेछ । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगमा उपाधि जित्न सकेको छैन । यसै गरी लिभरपुलले पूर्वविजेता पोर्चुगलको एफसी पोर्टोसँग प्रतिस्पर्धा गर्नेछ । 
अन्तिम १६ का अन्य खेलमा इटालियन सिरी ‘ए’ को एएस रोमाले युक्रेनको शाख्तर डोनेस्कसँग खेल्नेछ । पाँच पटकको युरोपियन च्याम्पियन जर्मन बुन्डेसलिगाको बायर्न म्युनिखले सहज प्रतिद्वन्द्वीका रूपमा टर्कीको बेसिक्टासलाई पाएको छ । 
दुई लेगमा हुने अन्तिम १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुनेछन् । पहिलो लेगका खेल फेब्रुअरी १३ र १४ तथा २० र २१ मा हुनेछन् भने दोस्रो लेग मार्च ६ र ७ तथा १३ र १४ मा हुनेछन् ।  

प्रकाशित: २५ मंसिर २०७४ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App