८ वैशाख २०८१ शनिबार
विचार

कांग्रेस किन हार्‍यो ? दोष कसको ?

देशभरबाट आएको निर्वाचन परिणामका कारण कांग्रेसजन चिन्तित होलान् भन्ने अनुमान धेरैले गरेको हुन सक्छन् । म विराटनगरमा बसिरहेकाले कांग्रेसजनको मनोभाव के छ देशभरि भन्न सक्तिन । तर विराटनगरमा कांग्रेसजनको अनुहारमा आफ्नै दलको हारको पीडा मैले कमै देखेँ । निर्वाचनमा भएको लज्जाजनक पराजयलाई आमकांग्रेसी मतदाता, समर्थक र शुभेच्छुकले फिटिक्कै पीडाबोध नगर्ने परिस्थिति किन र कसरी आयो होला ? विराटनगरको सडक, गल्ली, घर र चौराहामा यो अवस्था देखेर म चकित छु । 

वामहरूले बहुमत पाउँदा स्थिर सरकार दिन सक्छन् कि सक्तैनन् यो प्रश्न गर्भमा छ । तर कांग्रेसले बहुमत पाए पनि स्थिर सरकार दिन सक्तैन भन्ने उदाहरण पटकपटक स्थापित भएको छ ।

विराटनगरको देवकोटाचोकलाई कांग्रेसको पुरानै गढ मानिन्थ्यो । यो चोकमा झण्डै चार दशकदेखि सञ्चालित नाइको पसलमा म आइतबार बिहान कपाल र दारी काट्न आधा घण्टा बसेँ । रेडियोबाट निरन्तर चुनावी परिणाम आइरहेको थियो । पसलभित्र चारवटा कुर्सीमा बस्ने ग्राहक र सेवा दिने नाइबीच कांग्रेसको पराजयबारे हल्का टीकाटिप्पपणीले विस्तारै गम्भीर रूप लियो । ग्राहकदेखि नाइ सबैमा अब त कांग्रेस नेताहरूमा ‘चेत आउला कि’ भन्ने विषयले प्राथमिकता पाएको थियो । बहसमा उत्रेका प्रायः सबै विगतमा कांग्रेससँंग आबद्ध रहेछन्, यो पटक भने ती युवाको कांग्रेससँंगको आबद्धता टुटेछ । झण्डै चार दशकअगाडि देवकोटा चोकमा पसल खोलेर बसेको पाको नाइ कांग्रेसको लज्जाजनक पराजयपछि ‘ब्लड प्रेसर बढेर’ पसलमा थिएनन् । तर उनैका छोरा भने ‘विन्दास’ थिए । मतिर फर्केर ‘काका के कांग्रेस नेतामा चेत पलाउला ?’ भनी सोध्यो ।
विराटनगरको सडक गल्ली, घर र चोकमा के अब कांग्रेस नेतामा चेत आउला ? भन्ने अहं प्रश्न सर्वत्र सुनिन्छ । कैयन्जनालाई मैले के हुँदा चेत आएको बुझिन्छ भनी सोधेँ पनि । सबैले नेताको व्यक्तिगत आचरणमा मित्रवत् व्यवहार होस्, नेताको घरदैलोमा होइन, नेता जनताको घरदैलोमा भेटिउन् ।  नेताका आसेपासे, चाकडीवाज र परिवारका सदस्यले कार्यकर्तामाथि गर्ने हैकम र अपमानवोधबाट मुक्त हुने अवस्था बनोस् भनी अनेकन् उदाहरण दिए । अत्यन्त सामान्यझैँ लाग्ने तर हाम्रो समाजमा विद्यमान ठालुतन्त्र र सामन्त प्रवृत्ति चिरेर कांग्रेस नेताहरू आफ्ना मतदाता जस्तै हुन सहज भने पक्कै छैन । 
कांग्रेस मोरङ जिल्लामा मात्र हारेको छैन, देशभर पराजय भोगेको छ । तसर्थ कांग्रेसको पराजयमा उम्मेदवारको ठालुतन्त्र केही हदसम्म जिम्मेवार भए पनि देशभरको पराजय बुझ्न यही कारणमात्र पर्याप्त छैन । अहिलेको पराजयमा राष्ट्रिय कारणहरू नै होलान् र  त्यसको खोजी पनि कांग्रेसभित्र होला । यस्तो खोजी गर्ने क्रममा यो पार्टीका नेता र कार्यकर्ताले गम्भीर भएर बदलिँदो नेपाली समाजको युवा सोच र विचार कुन दिशामा जाँदैछ भनी अध्ययन÷अनुसन्धान पनि गर्लान् । 
निर्वाचनको केही महिनाअगाडिदेखि नेपालका तराई, पहाड र हिमालका झण्डै तीन दर्जन जिल्लामा पुगी साथीभाइसँंग भेटघाट गर्दा मैलै कांग्रेस हार्दैछ भन्ने पर्याप्त कारण देखेँ र ती कारण घण्टौँ लाएर पार्टी सभापति शेरबहादर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत कैयन् केन्द्रीय नेतासमक्ष राखेँ । सबैले धैर्यपूर्वक सुने पनि । कांग्रेसका सबैजसो नेताले मैले अनुमान लगाएजस्तो कांग्रेस ठूलो पराजयको नजिक छ भनी अन्दाज गरेको मैले पाएँ । तर समय रहँदा पनि कांग्रेस नेतृत्वबाट कांग्रेसलाई ‘रेस्क्यु’ गर्ने कुनै एकीकृत रणनीति बनेन । योचाहिँ बुझ्न सकिन । 
सर्वप्रथम नेपाली कांग्रेसले घोषणापत्रमार्फत कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भनेको कुरा कहीँ कतै पनि कुनै उमेर समूहका नेपालीले पत्याउन चाहेनन् । यहाँसम्म कि कांग्रेसबाट प्रतिनिधिसभाको कैयन् उम्मेदवारले मलाई फोनमार्फत कांग्रेसको राजनीतिक अजेन्डा नै साह«ै कमजोर भएको खिन्नता प्रकट गरे ।  कांग्रेसको यो राजनीतिक अजेन्डा यसकारण पनि अप्रभावशाली भयो कि कमल थापा र पशुपतिशमशेर राणा जस्ता अधिनायकवादका पृष्ठपोषकलाई कांग्रेस निर्वाचनमा समर्थन गर्दै थियो । फेरि केही महिनाअगाडि माओवादी केन्द्रका अध्यक्षकी छोरीलाई कांग्रेसले केन्द्रीय नेतृत्वको अगुवाइमै उम्मेदवार उठाएर व्यापक समर्थन गरेको उदाहरण पनि नेपाली जनताका आँखैअगाडि थियो ।
कम्युनिस्ट अधिनायकवादको अजेन्डा नेपालको युवा जमातले  पत्याएनन् । नेपालमा बहुदल पुनस्र्थापना हँुदा पाँच वर्ष उमेरको बालक अहिले प्रौढतातिर लम्किसकेको छ । यसबीच त्यो पाँच वर्षे बालकले कैयन् पटक एमालेलाई निर्वाचनबाट सरकारमा पुगेको र झरेको देखिसकेको छ । अनि कसरी पत्याउँछ तिनैबाट अधिनायकवाद आउँछ भनेर ? यहाँनेर कांग्रेस नेपाली युवाको समाज विज्ञान बुझ्नबाट टाढिएको देखियो ।  
कांग्रेसको राजनीतिक अजेन्डाभन्दा वामगठबन्धनको ‘स्थिर सरकार’ को अजेन्डा ज्यादै गह«ौँ भयो निर्वाचनमा । वामहरूले बहुमत पाउँदा स्थिर सरकार दिन सक्छन् कि सक्तैनन यो प्रश्न गर्भमा छ । तर नेपाली कांग्रेसले बहुमत पाए पनि स्थिर सरकार दिन सक्तैन भन्ने उदाहरण नेपाली जनतामाझ पटकपटक स्थापित भएको छ । वाम गठबन्धनको स्थिर सरकार र समृद्धिको सपना निश्चय नै राजनीतिकरूपले कांग्रेसको ‘कम्युनिस्ट अधिनायकवाद’ अजेन्डालाई भुत्ते पार्न सफल भयो यो निर्वाचनमा । देशभित्रै आर्थिक र सामाजिक भविष्य खोज्ने लाखौँ नेपाली सरकार अस्थिर र अराजक नहोस् स्थिर होस् हामी आफँै समृद्ध हुन सक्छौँ भन्ने भावना आमनेपालीमाझ आएको नयाँ सोच हो यतिखेर । यो नयाँ सोच र आमनेपालीको विश्वासबाट कांग्रेस नेतृत्व निश्चय नै अनभिज्ञ थियो । तर यसको विपरित जीवन्तरूपमा शेरबहादुर नेतृत्वको पाँच दर्जनभन्दा बढी बेकम्मा मन्त्रीहरू सबैको आँखाअगाडि थिए । 
कांग्रेसको विचारमात्र भुत्ते देखिएन यो निर्वाचनमा । यो पार्टीको संगठन पनि तहसनहस भएको छ । संगठनलाई विचार, कार्यक्रम, आदर्श र समर्पणभावले ‘ड्राइभ’ गर्ने कि धनबली र बाहुबलीको संरक्षणमा पार्टी सुम्पिने ? कांग्रेससामु यो गम्भीर प्रश्न चुनावमा देखियो । कांग्रेससामु मात्र होइन, सबै राजनीतिक दलसामु यो प्रश्न छ ।  निसन्देह नेपाली कांग्रेसको नेतृत्वमा देशमा गणतन्त्र आयो, संघीयता र समावेशिताको संविधान पनि जारी भयो । तर के यी सबै अजेन्डा देशहित र जनहित अनुकूल छ भनी भन्न सक्ने राजनीतिक नेतृत्व कांग्रेस पार्टीभित्र छ ? देखिएन । कांग्रेस सभापति, महामन्त्री र कैयन् केन्द्रीय नेताहरूको लक्ष्य र उद्देश्य नै भावी प्रम र पार्टी सभापति हुने भएपछि वाम गठबन्धन जस्तो स्मार्ट र परिस्थितिअनुकूल निर्णय गर्न सक्ने नेतृत्वसामु कांग्रेसले लज्जाजनक पराजयबोधबाहेक अरु के नै बेहोर्न सक्थ्यो र ? 
कांग्रेसले नेपालको संविधानअनुरूप आफ्नो पार्टी संरचनामात्र बनाउन नसकेको होइन, संविधानअनुरूप वैचारिक धरातलमा उभिएर जनताबीच संवाद गर्न सक्ने कार्यकर्ता पनि निर्माण गर्न सकेन । यहाँ भारतको राजनीतिमा यतिखेर दिग्विजय गरिरहेको भारतीय जनता पार्टीको ‘कोर भ्यालु’ नेतृत्व निर्माणमा के छ भन्ने कुरा उठाउनु सान्दर्भिक भयो । प्रथम, जनताबीच प्रत्यक्ष स्थानीय भाषामा संवाद स्थापित गर्न सक्ने नेतृत्वलाई राज्यस्तरमा अगाडि बढाउने, दोस्रो नेतृत्वको उमेर कम्तीमा पनि पचासभन्दा कम होस् र तेस्रो, नेतृत्व कुनै पनि किसिमका गलत आचरण र आरोपबाट मुक्त भएको हुनुपर्ने । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा योगी आदित्यनाथको मुख्य मंन्त्रीमा जिम्मेवारी यिनै तीन कारणले सम्भव भयो र भविष्यमा पनि परिवारबिहीन भएकाले अनेकन् कमीकमजोरीबाट योगी मुक्त हुनेछन् भन्ने विश्वास भाजपा नेतृत्वले ग¥यो । 
संविधानतः नेपालमा पहिलोपल्ट हुन गइरहेको प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको रणनीति शून्य देखियो । वास्तवमा कांग्रेस नेतृत्वले प्रदेशसभाको राजनीतिक महŒव बुझ्नै सकेन । तर नेकपा एमालेले प्रदेशसभाको चुनावको महŒवमात्र बुझेन, त्यसअनुरूप रणनीति तयार गरी केन्द्रीय पात्रहरूलाई प्रदेशसभामा झार्ने काम पनि ग¥यो । हेरौँ त जहाँ नेपाली कांग्रेसका केन्द्रीय नेतृत्व विरलै प्रदेशसभामा देखिन्छन् त्यहीँ एमालेका कैयन् केन्द्रीय नेताहरू यतिखेर प्रदेशमा उठेर मुख्य मन्त्री हुने तयारी गर्दैछन् । सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको दुई तिहाइको सरकार बन्दैछ । नेपाली कांग्रेसका लागि प्रदेश सरकारमा वाम गठबन्धनमाथि विजय पाउन पाँच वर्ष होइन, पच्चीस वर्ष पनि कम हुन सक्छ अहिलेकै जस्तै सोच भएमा ।  त्यसो भए के कांग्रेसमा नयाँ नेतृत्व आउने सम्भावना छ ? 
निसन्देह लोकतान्त्रिक निर्वाचन ‘नेताले ड्राइभ गर्छ’ भन्ने मान्यता राखिन्छ । नेपाली कांग्रेसकै इतिहासमा पनि विकट परिस्थिति र विपरित अवस्थामा पनि ६ दशकअगाडि पैदल, घोडा र गाडीमा चढेर बिपी कोइरालाले चुनावी क्याम्पेन गरेका थिए हिमाल, पहाड र तराईमा । र, कांग्रेसको दुई तिहाई मत आएको थियो । यो पटक एमाले नेता खड्ग ओलीले अशक्त शारीरिक अवस्थामा पनि वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न तुफानी दौडाहा गरे ।  झण्डै दुई तिहाइले विजयी गराए । कांग्रेससँग कमजोर राजनीतिक अजेन्डा, अराजनीतिक कार्यकर्ता र जनताबीच संवाद गर्न अक्षम नेतृत्व थियो जसले निर्वाचनको माहोलमा ‘वाकओभर’ को स्थिति आयो ।
राजनीतिक विचार, संगठन र वैचारिकरूपले सक्षम कार्यकर्ता ंर जनताबीच संवाद स्थापित गर्न सक्ने नेतृत्वबिना अब कुनै निर्वाचन जित्न सम्भव छैन भन्ने कुरा कांग्रेस कार्यकर्ताले यो पटकको पराजयपछि बुझेको हुुनुपर्छ । एकपटक फर्केर कांग्रेस महाधिवेशनतर्फ हेरौँ, कांग्रेस सभापति र महामन्त्री दुवैलाई किन कार्यकर्ताले यत्रो जिम्मेवारी दिए होला भनी प्रश्न उठ्छ कि उठ्दैन ? दुवैप्रति व्यक्तिगतरूपमा अत्यन्त आदरभाव राख्दै यो भन्नैपर्ने हुन्छ, के दुवैले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न सके ? तिनले सकेनन् भन्ने कुरा ठूलो होइन, त्यस्तो निर्वाह गर्न नसक्नेलाई कांग्रेस कार्यकर्ताले नेता छानेका थिए कि थिएनन् भन्ने प्रश्न उठ्छ । निसन्देह यहाँनेर कांग्रेस कार्यकर्ता भावनामा र स्वार्थमा नेतृत्व छान्न पुगे । कांग्रेसमा नेतृत्व छान्ने परिपाटी कि पाको उमेरलाई मानिन्छ कि वंंशसत्तालाई विश्वास गरिन्छ । यसरी छानेको नेतृत्वबाट वाम गठबन्धनलाई परास्त गर्न सकिन्छ कि अहिलेकै अवस्था हुन्छ ? यो बुझ्ने काम कांग्रेस कार्यकर्ताको हो । 
अन्तमाः नेपाली कांग्रेसको पराजयको कारण अन्तर्घातमा मात्र खोज्नु ठीक होइन । किन अन्तर्घात गर्ने परिस्थिति निर्माण हुन्छ ? त्यसको निदान पनि खोज्नुपर्छ । कांग्रेसमा दशकौँ लागेर जीवन जवानी समर्पण गर्नेलाई पन्छाएर धनबली र बाहुबलीतर्फ पार्टी आकर्षित भएमा तिनले गर्ने के ? अनि त्यस्तै एउटै व्यक्ति अपरिहार्य ठानिएमा अरुले किन कांग्रेसमात्र भएर बस्नुपर्ने ? अनेकन् प्रश्न छन् ।
यो पटकको निर्वाचनमा मैले भेटेका सबै उम्मेदवार ‘चुनावी खर्चबाट त्रसित’ नै भएको पाएँ । खर्चिलो चुनाव के लोकतन्त्रको हितमा छ ? यसबारे पनि बहस सुरु गर्नुपर्छ । अनि त्यस्तै मोरङको आधा जनसंख्या मधेसी मूलका छन् तर कांग्रेसले एकजना पनि मधेसी मूललाई केन्द्रीय सभामा उम्मेदवारी दिएन । के व्यक्ति समुदाय र राष्ट्रभन्दा पनि माथि र पूजनीय हुन्छ ? कांग्रेसजनले सोचौँ । मोरङमात्र होइन, कास्की, तनहुँ र स्याङ्जामा किन त्यहाँका जनजाति उम्मेदवार अहिले कांग्रेसले भेट्दैन ? यो गम्भीर विषय छ ।
कांग्रेस पराजयका अनेकन् कारण छन् र यो शेरबहादुर देउवाको छेउछाउमात्र सीमित छैन । लामो समयदेखि नेपाली समाजमा कांग्रेसप्रति निराशा र अविश्वास थियो, त्यसैको बिष्फोट अहिले भएको छ । अनि वाम विभाजनबाट सदा दान र कृपामा रमाएर ठूलो दल हुने आदत लागेको कांग्रेस भावी दिनमा आफ्नै विचार र कार्यक्रम, सक्षम कार्यकर्ता र आकर्षक नेतृत्वबाट ठूलो दल बन्नेछ भन्ने काम आजैबाट सुरु गर्न सक्छ ? गरोस् भनी कामना गर्न सकिन्छ । अन्यथा कांग्रेस हार्दा ब्लड प्रेसर बढ्ने पिताभन्दा विन्दास युवाहरूले नै नेपालको राजनीतिक दिशा निर्धारण गरिरहने छन् । निसन्देह यस्ता विन्दास युवाहरूलाई अधिनायकवाद जस्तो जटिल शब्द बुझाउन गाहरूो पर्नेछ जस्तो यो पटकको निर्वाचनमा भयो ।    

प्रकाशित: २५ मंसिर २०७४ १७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App