६ वैशाख २०८१ बिहीबार
विचार

चुनावको सन्देश

’निर्वाचन’ लोकतन्त्रको अत्यन्तै महŒवपूर्ण र अभिन्न पाटो हो । मतको माध्यमबाट आफ्ना लागि आफैँले प्रतिनिधि छनोट गर्न पाउने यो सुन्दर र शान्तिपूर्ण प्रक्रियामा सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि तथा प्रदेश सभाको सदस्य चुन्न आफ्नो मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण नेपाली आमा÷बुबा, दाजुभाइ, दिदीबहिनीलाई हामीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिका निम्ति बधाई दिन चाहन्छु । यो निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सफल हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई दिन चाहन्छु ।

जीतको उन्माद र हारको नैराश्यता क्षणिकमात्रै हुन् । तसर्थ सहिष्णुता कायम राखौँ ।

निर्वाचनको मत परिणाम आउँदै गर्दा चलिरहेका विभिन्न विश्लेषण, बहस र टीकाटिप्पणीबीच म यो निर्वाचनबाट हामीले राष्ट्रका रूपमा प्राप्त गरेका केही उपलब्धिप्रति तपाईँहरूको ध्यान आकृष्ट गराउन चाहन्छु । 
असहज परिस्थितिका बाबजुद काठमाडौँ ४ बाट नेकाका युवा नेता गगन थापा, मोरङ ६ बाट नेकपा एमालेका नेता लालबाबु पण्डित र गोरखा २ बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राप्त गर्नुभएको सफलताले ‘वाद’ भन्दा ब्यक्तिको राजनीतिक निष्ठा र इमान्दारिता जनप्रिय हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । उहाँहरू सबैलाई हार्दिक बधाई । र, यी पंक्ति लेख्ने मौका प्रदान गर्नुभएकामा तत् तत् क्षेत्रका मतदाताको राजनीतिक चेतना र सुझबुझप्रति नमन् गर्न चाहन्छु । 
पराजयका बाबजुद सुसंस्कृत राजनीतिको सान्दर्भिकतालाई अझै बलियोसँग स्थापित गराउन सभ्य राजनीतिक आचरण देखाउनुहुने विवेकशील साझा पार्टीका सम्पूर्ण उम्मदेवार, नेकपा (एमाले) का युवा नेता डा. राजन भट्टराई (काठमाडौँ ४) र नेकाका युवा नेता विश्वप्रकाश शर्मा (झापा १) लाई पनि नमन् गर्न चाहन्छु ।  राजनीतिमा सहिष्णुता, सौहार्द्रता, मेलमिलाप र जनमत शिरोपर गर्ने संस्कारका मार्गदर्शक हुनुभएकामा बधाई दिन चाहन्छु । राजनीति सामाजिक ध्रुवीकरणका निम्ति नभई सामाजिक एकीकरणका निम्ति गरिनुपर्छ भन्ने सन्देश दिन तपार्इँहरू सफल हुनुभएको छ ।
यसै निर्वाचनको माध्यमबाट नेपालका आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, दलित, उत्पीडित र सीमान्तकृत वर्गले राष्ट्रको मूलधारमा सम्मानजनक र समावेशी सहभागिताका निम्ति गरेको पहलप्रति पनि नमन् गर्छु । हामीबीचको एकतालाई विचलित हुन नदिई मतकै माध्यमबाट आफ्नो अधिकार स्थापित गराउन तपार्इँहरूले खेल्नुभएको भूमिका नै लोकतन्त्रको सबैभन्दा सवल पक्ष हो । तपाईँहरूको सहभागिता र अभिमत राज्यको संरचनामा आवश्यक परिवर्तनको संवाहक हुनेछ भन्ने विश्वास लिएकी छु । 
महिलाहरू चुलोमै सीमित हुनुपर्छ भन्ने पितृसत्तात्मक सोचविरुध्द उभिएर राजनीतिमा महिला सहभागिताको नेतृत्व गर्नुहुने सम्पूर्ण विजयी र प्रतिस्पर्धी महिला नेतृहरूको अदम्य साहसप्रति पनि नमन् गर्न चाहन्छु । लामो हिंसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण संसदीय पद्धतिमा आउनुभएकी रुकुम पूर्वबाट निर्वाचित कमला रोका र झापा २ बाट निर्वाचित पवित्रा निरौला खरेललाई हार्दिक बधाई दिन चाहन्छु । प्रत्यक्ष र समानुपातिकतर्फबाट संसद्मा आउनुहुने महिला जनप्रतिनिधि सबैसँग एक शनिबार वनभोज गर्ने रहर छ । मौका मिले आफ्ना कुरा भन्न र तपार्इँहरूका कुरा सुन्न चाहन्छु । सम्पूर्ण नेपाली महिलाको पक्षमा उभिनुपर्ने अवस्था आउँदा दलगत स्वार्थभन्दा माथि उठ्नुहुने नै छ भन्ने अपेक्षा लिएकी छु ।
यिनै उपलब्धिका बीच यो निर्वाचनमा आफ्नो पक्षमा अभूतपूर्व जनमत हासिल गर्न सफल हुनुभएकामा नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हार्दिक बधाई दिन चाहन्छु । यो जनमत राजनीतिक स्थायित्व, सुशासन, विकास र समृध्दिका निम्ति लालायित तीव्र जनआकांक्षाको प्रतिफल हो भन्ने पनि स्मरण गराउन चाहन्छु । तपार्इँको नेतृत्वमा नेपाल स्थायी शान्ति र तीव्र आर्थिक विकासको बाटोमा अघि बढ्नेछ भन्ने विश्वास पनि लिएकी छु । यहाँले आमन्त्रण गर्नुभएमा प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा प्रत्यक्ष उपस्थित भएर बधाई दिनेछु ।
र अन्त्यमा, निर्वाचन परिणाम आउँदै गर्दा चलेका टीकाटिप्पणी र बहस केही समयपछि स्वतः कम हुँदै जाने नै छ । जीतको उन्माद र हारको नैराश्यता क्षणिकमात्रै हुन् । तसर्थ सहिष्णुता कÞायम राखौँ । हामीसँग भएका असीमित सम्भावना भने निरन्तर बहसको विषय बनिरहोस् । ती सम्भावना उद्यमशीलता बनोस् । त्यसका निम्ति आवश्यक राजनीतिक वातावरण छिट्टै निर्माण होउन् । मातृभूमिको जय होस् । हामी सबैको जय होस् ।

प्रकाशित: २५ मंसिर २०७४ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App