coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

धरान- मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउँदै गर्दा वाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ।

हालसम्मको मतपरिणामले २ नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा बाम गठबन्धनको बहमुत आउने निश्चित भइसकेको छ । ती मध्ये ५ नम्बर प्रदेशमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको चुनाव अघि नै मुख्यमन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो। जीत पछि उनी मुख्यमन्त्रीको तयारीमा छन् भने अन्य प्रदेशको मुख्यमन्त्री को होलान् भनेर आम मतदाता र नेताहरुमा पनि चासो छ । पूर्वको १४ जिल्ला समेटिएको प्रदेश नं १ मा पनि बाम गठबन्धनको बहुमत आएपछि मतदाताहरुमा मुख्यमन्त्री को बन्लान् भन्ने अत्यधिक चासो बढेको छ भने प्रदेशसभामा जित हासिल गरेका प्रभावशाली नेताहरुले मुख्यमन्त्री बन्ने दौड शुरु गरिसकेका छन्।

प्रदेश नं १ को मुख्यमन्त्रीमा एमाले सचिव तथा प्रदेश नं १ संयोजक भीम आचार्य र एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईको नाम सर्वाधिक चर्चामा छ। गृहजिल्ला सुनसरी भएका आचार्य पूर्व सँस्कृति तथा पर्यटन मन्त्री हुन् भने भोजपुर गृहजिल्ला भएका राई पनि सूचना तथा सञ्चारमन्त्री भइसकेका छन् । दुवैले आआफ्नो क्षेत्रबाट प्रदेशसभा निर्वाचनमा जीत हासिल गरेका छन् । आचार्यले सुनसरी निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ख बाट चुनाव जितेका छन् भने राईले भोजपुर निर्वाचन क्षेत्र १ प्रदेशसभा ख बाट चुनाव जितेका छन् । यद्यपी, आचार्यले औपचारिकरुपमा मुख्यमन्त्रीको दाबी गरेको अभिव्यक्ति दिएका छैनन्। तर, राईले भने चुनाव अघिदेखि नै सञ्चारमाध्यमबाट आफुलाई मुख्यमन्त्रीको दाबेबारकोरुपमा प्रस्तुत गरिसकेका छन्। उनका समर्थकहरुले पनि समाजिक सञ्जालमा मुख्यमन्त्री बनाउनुपर्ने माग उठाइरहेका छन्।

बाम गठबन्धनमा भएको माओवादी केन्द्रले पनि प्रदेशको मुख्यमन्त्री एमालेबाटै हुने स्पष्ट पारिसकेको छ। प्रदेशसभा सदस्यमा एमालेको बढी उम्मेदवारको जितले पनि मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी छैन। माओवादीका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबो आफ्नो पार्टीमा मुख्यमन्त्रीबारे छलफल नचलेको बताउँछन् । बाम तालमेल गर्दा नै प्रदेश १ मा एमालेको मुख्यमन्त्री भन्ने आन्तरिक सहमति भएको उनले प्रष्ट्याए । ‘तालमेल गर्दा नै एमालेको मुख्यमन्त्री भन्ने हो, मतपरिणामले पनि त्यही देखायो । त्यसैले हाम्रोमा को मुख्यमन्त्री भन्ने छलफल चलेको छैन, एमालेमा चलिराखेको छ,’उनले भने,‘अहिले पार्टी एकता भएको छैन, त्यसैले को बन्ने भनेर धारणा राख्नु उचित हुँदैन । हाम्रोबाट प्रदेश सरकारमा सहभागीता रहन्छ।’

एमाले सचिव आचार्यले मुख्यमन्त्रीको बिषयमा बोल्न चाहेनन् । समय आएपछि आफै स्पष्ट हुने आचार्यको भनाई छ । ‘समय आएपछि आफै स्पष्ट हुन्छ, अहिल्यै किन बोल्नु पर्यो ?’आचार्यका एक सहयोगीले उनको भनाई उदृत गर्दै भने। आचार्यले मुख्यमन्त्रीको आकांक्षाबारे बोल्न नचाहेपछि चुनाव अघिदेखि नै उनको चर्चा छ । सुनसरीबाट २ पटक संविधानसभा निर्वाचनमा जीत पाएर मन्त्री बनिसकेका केन्द्रीय नेता मुख्यमन्त्रीकै लागि प्रदेशसभामा उम्मेदवार बनेको आँकलन छ । मंसिर १८ गते धरानको भानुचोकमा आयोजित बाम गठबन्धनको अन्तिम चुनावी आमसभामा पनि अर्का एमाले सचिव योगेश भटराईले आचार्यलाई प्रदेश १ को भावी मुख्यमन्त्रीकोरुपमा सम्बोधन गरेका थिए । पार्टी सचिव र प्रदेश नं १ को संयोजक भएकोले आचार्य मुख्यमन्त्रीको प्रवल दाबेदार हुन्।

उता, बैकल्पिक पोलिटब्युरो सदस्य राई पार्टी अध्यक्ष केपी ओलीका खास मान्छे भएकोले उनले पनि मुख्यमन्त्रीमा बाजी मार्नसक्ने एमालेका नेताहरु बताउछन् । स्वयम राई पनि आफु मुख्यमन्त्रीको दाबेदार भएको बताउछन् । ‘मुख्यमन्त्रीमा मेरो दाबेदारी हो, प्रदेशसभामा जितेका सबैले दाबी गर्ने अधिकार हो । तर, अन्तिममा हुने त एक जना हो,’राईले मोवाइल सम्पर्कमा भने,‘पार्टीको निर्णय र प्रक्रियाबाट टुंगो लाग्छ ।’ एमालेका एक नेताले नाम नखुलाउने सर्तमा मुख्यमन्त्रीमा आचार्य र राई दुवैको समान सम्भावना रहेको बताए । ती नेता भन्छन्,‘मुख्यमन्त्री भिम आचार्य र शेरधनमध्ये एक हुने हो । वरिष्ठताको हिसाबले भिम कमरेड हुन्छन्, क्लष्टर मिलाउदा कमरेड शेरधन हुन सक्छन्।’

प्रकाशित: २५ मंसिर २०७४ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App