८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

चितवन– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

उनले भने– ‘राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका जेजति वाचाहरु मतदातासामु गरियो ती सबै हामी पूरा गर्ने छौं ।’ निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार दाहाल ४८ हजार २७६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतको अन्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसको समेत समर्थन रहेको पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा सवै नौ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । चितवन क्षेत्र नं. १ मा एमालेका सुरेन्द्र पाण्डे र क्षेत्र नं. २ मा पनि एमालेकै कृष्णभक्त पोखरेलले विजयी भएका थिए ।

त्यस्तै क्षेत्र नं. १ को दुवै प्रदेश सभामा एमालेका उम्मेदवारहरु दावा दोर्जे लामा र कृष्ण खनालले विजयी भए । क्षेत्र नं. २ को प्रदेश सभा एकमा माओवादी केन्द्रका घनश्याम दाहाल अबिनाश र प्रदेशसभा २ मा एमालेका विजय सुवेदी विजयी भए । त्यस्तै क्षेत्र नं. ३ को प्रदेशसभा १ मा एमालेका कृष्ण भुर्तेल र २ मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका थिए । 

 

प्रकाशित: २५ मंसिर २०७४ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App