७ वैशाख २०८१ शुक्रबार
राजनीति

सप्तरीका दुई प्रदेशमा एमालेको जित

राजविराज – सप्तरीका ८ मध्ये दुई प्रदेश सभा सिटमा एमाले विजयी भएको छ । दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीका ६ मध्ये तीन स्थानमा माओवादी तथा एक स्थानमा एमाले उम्मेदवार निर्वाचित भएको थियो । माओवादीसँगको गठबन्धनका बाबजुद प्रतिनिधि सभा तर्फ भने गठबन्धनका कुनै पनि उम्मेदवार विजयी हुन सकेन।

प्रदेश सभा तर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर १(१)बाट नेकपा एमाले स्थायी समिति सदस्य समेत रहेका सत्यनारायण मण्डल निर्वाचित भएका हुन् । सोमवार विहान आएको अन्तिम मत परिणाम अनुसार ११ हजार ३ सय २ मत ल्याइ मण्डल निर्वाचित भएका हुन् । मधेश लहरका बीच राजपाका केन्द्रीय नेता राजकुमार लेखीलाई पछि पार्दै मण्डल चुनाव जित्न सफल भएका हुन् । लेखीले ९ हजार २ सय ५२ मत पाए । 

त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(१)बाट एमाले सप्तरीका अध्यक्ष गोबिन्द बहादुर न्यौपाने ४ हजार भन्दा बढी मतान्तरले चुनाव जित्न सफल भएका छन् । न्यौपानेले १५ हजार १ सय १३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिताराम साहले ११ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् । 

सप्तरीका ८ प्रदेश सभा क्षेत्र मध्ये ३ वटा क्षेत्रमा राजपा, २ क्षेत्रमा फोरम र एक क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३(१)बाट नेपाली काँग्रेसका उम्मेदवार मोहम्मद समिम राजपाका उम्मेदवारलाई पछि पार्दै निर्वाचित भएका छन् । ११ हजार ६ सय २८ मत ल्याउँदै समिम निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका दिनेशकुमार यादवले ९ हजार ९ सय १९ मत प्राप्त गरेका छन् । 

राजपाका महासचिव मनिषकुमार सुमन सप्तरी २(२) बाट निर्वाचित भएका छन् । उनले ८ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका महेशप्रसाद यादवले ४ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै २(१)बाट फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह निर्वाचित भएका छन् । १० हजार ५ सय ७७ मत ल्याई साह निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोजकुमार मण्डलले ७ हजार ५ सय ९३ मत पाएका छन्। 

राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह १(२)बाट प्रदेश सभा तर्फ निर्वाचित भएका छन् । भने राजपाका केन्द्रीय सदस्य विदेश्वर यादव ३(२)बाट र फोरम नेपालका अभिषेख यादव ४(२)बाट निर्वाचित भएका हुन् । 

प्रतिनिधि सभा तर्फ सप्तरीका ४ मध्ये तीन क्षेत्रमा राजपा–फोरम गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् भने एउटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सप्तरी १, २ र ३ बाट राजपा–फोरम गठबन्धनका उम्मेदवार विजय भएका हुन भने क्षेत्र नम्बर ४ बाट काँग्रेस उम्मेदवार तथा राज्य मन्त्री तेजुलाल चौधरी निर्वाचित भएका हुन्। 

राजपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई १० हजार भन्दा बढी मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले २४ हजार १ सय १३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवको पक्षमा मात्र १४ हजार ८ सय ८६ मत परेको छ । चौधरी यसअघि पनि सप्तरी निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । 

सप्तरी १ बाट फोरमका उम्मेदवार डा. सुर्यनारायण यादव, २ बाट फोरम अध्यक्ष उपेन्द्र यादव तथा क्षेत्र नम्बर ३ वाट राजपाका नेता चन्द्रकान्त चौधरी निर्वाचित भएका छन्। 

प्रकाशित: २५ मंसिर २०७४ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App