८ वैशाख २०८१ शनिबार
राजनीति

पर्सा २ मा फोरम नेपालका श्रीवास्तव विजयी

वीरगन्ज – पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार विमल श्रीवास्तव निर्वाचित भएका छन् । फोरम नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका उनले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतको अन्तरले पछाडि पार्दै जित हात पारेका हुन्। 

वीरगन्जका पूर्व मेयर श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका चौरसियाले १९ हजार ७ सय ४ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनका संयुक्त उम्मेदवार महमद सलिम मंसुरले ६ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । वीरगन्जको ४ पटक नगर प्रमुख बनिसकेका श्रीवास्तव संविधान सभा निर्वाचन पहिलो र दोश्रो दुवैमा पराजित भएका थिए । गत स्थानीय तहको निर्वाचनमा पनि राजपाबाट टिकट नपाएपछि विजय गच्छदार नेतृत्वमा रहेको फोरम लोकतान्त्रिक पार्टीबाट चुनाव लडेर फोरम नेपालका उम्मेदवारसँग पराजित भएका थिए । स्थानीय तह निर्वाचनपछि फोरम नेपालमै प्रवेश गरेर यसपाली प्रतिनिधिसभा सदस्यका लागि पर्सा निर्वाचन क्षेत्र २ बाट टिकट पाएका थिए। 

जिल्लाका पुराना नेता श्रीवास्तव स्थानीय राजनीतिका माहिर खेलाडी भए पनि संसदीय निर्वाचनमा असफल हुँदै आएका थिए । यस पटक भने फोरम राजपा गठबन्धनबाट उनी निर्वाचित हुन सफल भएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा भने फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव चार हजार ६ सय ५१ मतको अन्तरले काँग्रेस कै अनिल रुँगटालाई हराउँदै निर्वाचित भएका छन् । 

 

प्रकाशित: २५ मंसिर २०७४ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App