६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ को  विजेता कृष्ण भुर्तेल । तस्बिर: रमेशकुमार पाैडेल

चितवन– चितवनका छवटा प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको छ । छ प्रदेशमै वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो पटक घोषणा भएको चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ को अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलले नेपाली काँग्रेसका दिनेश कोइरालालाई पराजित गरेका छन्। 

अन्तिम परिणाममा भुर्तेलले २४ हजार ७८५ मत ल्याउँदा कोइरालाले २३ हजार ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । काँग्रेसका उम्मेदवार कोइराला यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवार थिए । तर अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाको पत्रले उनको उम्मेदवारी फिर्ता भएर माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई काँग्रेसले समर्थन गरेको थियो । 

क्षेत्र नं. ३ को प्रदेश सभा २ मा वाम गठबन्धनकै माओवादी उम्मेदवार रामलाल महतो २५ हजार ६१ मत ल्याएर निर्वाचित भए । उनले नेपाली काँग्रेसका साजन महतोलाई पराजित गरेका हुन् । क्षेत्र नं. १ का प्रदेश सभा १ र २ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवारहरू चुनावी मैदानमा थिए। १ मा एमालेका दावा दोर्जे लामा र २ मा पनि एमालेकै कृष्ण खनाल विजयी भएका थिए।

त्यस्तै क्षेत्र नं. २ को प्रदेश सभा १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम दाहाल अबिनास विजयी भएका थिए । उनले नेपाली काँग्रेसका जितनारायण श्रेष्ठलाई पारजित गरेका हुन् । श्रेष्ठ नेपाली काँग्रेस चितवनका सभापति पनि हुन् । त्यस्तै प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रकाश अधिकारीलाई पराजित गर्दै वाम गठबन्धनबाट एमालेका विजय सुवेदी विजयी भएका थिए।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा अब क्षेत्र नं. ३ को प्रतिनिधि सभाको मात्रै नतिजा आउन बाँकी छ । प्रतिनिधि सभामा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमालेका सुरेन्द्र पाण्डे र क्षेत्र नं. २ मा पनि एमालेकै कृष्णभक्त पोखरेल विजयी भएका छन् । क्षेत्र नं. ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्।

पछिल्लो मत विवरण अनुसार सो क्षेत्रको ७१ हजार ९० मत गणना भएको छ । जसमा पुष्पकमल दाहाल प्रचण्डको ३७ हजार ९२६ मत आएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ ले जानकारी दिएको छ। दाहालका प्रतिस्पर्धी काँग्रेसको समर्थन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे छन् । पाण्डेले २८ हजार ४० मत ल्याएका छन् । दाहाल नौ हजार ८८६ मतले अगाडि छन्।

कुल मतदाता एक लाख २५ हजार  ८२३ रहेको चितवन क्षेत्र नं. ३ मा ९३ हजार ८२६ मत खसेको थियो । अब २२ हजार ७२६ मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज साँझसम्म क्षेत्र नं. ३ को पनि अन्तिम मत परिणाम घोषणा हुने छ । सबैभन्दा धेरै मतदाता र मत खसेको क्षेत्र चितवनमा क्षेत्र नं. ३ नै थियो। 

 

प्रकाशित: २५ मंसिर २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App