coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चुनाव पछि अपराधिक घटनामा वृद्धि

रौतहट – प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सक्किए लगत्तै रौतहट जिल्लामा अपराधिक घटनाहरू बढ्न थालेका छन्। प्रदेश र प्रतिनिधि सभाको मतगणणा कार्य आइतबार सम्पन्न भए लगतै पहिलो दिन नै जिल्लामा हत्या, अपहरण,  झडप तथा मारपिट जस्ता घटना भएको हो।
 
गत शुक्रबार रौतहटको यमुनामाइ नगरपालिकाको सुकदेव चोकस्थित पेट्रोल पम्पबाट दुई भारतीय नागरिक सहित चारजना बेपत्ता भएका थिए। पेट्रोल पम्पका सञ्चालक परोहा नगरपालिका ५ जिगडवाका २५ वर्षीय शौकत आलि, कामदार माधवनारायाण नपाका गौरी नारायण महतो, उनकै जेसिभिका ड्राइभर र सहचालक भारतीय नागरिकद्वय चन्दन दास र धमेन्द्र दास वेपत्ता भएका छन्।

बेपत्ता भएको दुई दिन पछि तेल व्यापारी शौकत अलिको उनकै पेट्रोल पम्प नजिक आइतबार बेलुकी हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ।
 
गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको शुकदेव चोक नजिक सञ्चालित पेट्रोल पम्पको छेउमा अलिको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो। भैँसी चराउन गएका स्थानीहरूले सडक किनारको झाडीमा शव देखेपछि स्थानीय प्रहरीलाई खवर गरेपछि ति युवकको अपहरण पछि हत्या भएको रहस्य सार्वजनिक भएको छ।
 
बेपत्ता भएको दुई दिनपछि उनको हत्या भएपछि दोषी पत्ता लगाउन र बेपत्ताको खोजिकार्यको लागि जिगडवा गाउँका स्थानीय बासिन्दाहरूले गौर चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध पार्दै करिब दुई घण्टा चक्काजाम समेत गरेका छन् । स्थानीय प्रशासनले हराएकाहरूको खोजी गर्ने र घटनाको गहन रुपमा अनुसन्धान गरी दोषीलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले प्रतिबद्धता जनाएपछि बाटो सुचारु भएको छ।
 
यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० बालचनपुरका ३२ वर्षीय नेमिलाल ठाकुरको कुटपिटबाट ज्यान गएको छ । ठाकुरले जाँडरक्सी खाएर अनावश्यक हल्ला गर्न थालेपछि गुजरा नपा ४ हाल चन्द्रपुर नपा ५ बस्दै आएका अस्फाक आलमसँग उनको झगडा भएको थियो । आलमको कुटाइबाट ठाकुर बेहोस भएका थिए। ठाकुरलाई उपचारको लागि स्थानीय अस्पतालमा लैजादै गर्दा उनको बाटोमै ज्यान गएको छ । कुटपिटबाट ज्यान गएपछि उनका आफन्तहरू आइतबार गौर चन्द्रनिगाहपुर सडक खण्डको बालचनपुरमा बाटो अवरुद्ध गरेपछि प्रहरीले प्रहरीले बल प्रयोग ३३ राउण्ड हवाई फायर र टियर ग्यास प्रहार गर्दै बाटो सुचारु गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताएका छन् । ठाकुरलाई कुटपिट गर्नेे अस्फाकलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको डिएसपी कोइरालाले बताए। 

विजय जुलुस जम्काभेट हुँदा काँग्रेस–फोरम कार्यकर्ताबीच झडप
रौतहटको राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । रौतहट २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।

रौतहट २ प्रदेश सभा (ख) तर्फ विजयी भएका फोरमका रामकिशोर यादवको विजय जुलुस त्यहीँ  थियो । दुवै पक्षबीच झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको थियो।

रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरेपछि दुवै पक्षका कार्यकर्ता तितरबितर भएका थिए।
‘झडपले अप्रिय रुप लिने देखिएपछि प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई तितरबितर पारेको छ’, एसपी पोखरेलले नागरिकन्युजसँग भने,  ’प्रहरीले ६ राउन्ड हवाइ फायर ग¥यो । अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित: २५ मंसिर २०७४ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App