१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कांग्रेसका कार्यभार

मुलुकका सबैजसो आन्दोलनको अग्रणी नेपाली कांग्रेसले यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोग्नुपरेको पराजयपछि यसको नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शानदार विजय हासिल गरे पनि समग्रमा उनको दललाई यसपटक निराशाजनक परिणाम हात लागेको छ । यो पराजयको कारण खोज्न र भाविष्यमा कांग्रेसको गौरवपूर्ण इतिहास दोहोर्‍याउन दलको बैठक बोलाएर गम्भीर समीक्षा गर्नु र तदनुकूल अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत दलभित्रै उठ्न थालेको छ । यसपटकको निर्वाचनको परिणामपछि जनआन्दोलन २०४६ पछि संसद् र सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कांग्रेसका हस्तीहरूको अनुपस्थित हुने स्थिति देखिएको छ । केही यस्ता नाम पनि छन् जो कांग्रेस दल र सत्तासँग निरन्तर जोडिएका छन् । त्यसो त कांग्रेसभित्र जहिल्यै युवा नेतृत्वका पक्षमा आवाज उठ्ने गरे पनि यी नेता जहिल्यै सत्ता राजनीतिको सेरोफेरोमा रहेका हुन् । वास्तवमा निर्वाचन परिणाम कांग्रेसमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने अवसरका रूपमा समेत आएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचन सम्पन्न गरेर बधाईका पात्र भएका छन् । आफ्नै दल पराजित हुने अवस्थामा पनि निर्वाचन गराउन तयार हुनु लोकतान्त्रिक चरित्रको परिचायक पनि हो । देउवा आफू निर्वाचित भए तर दलको अधिकांश स्थानमा पराजय भयो । प्रत्यक्षतर्फको परिणाम निराशाजनक भए पनि समानुपातिकतर्फको निर्वाचन परिणामले अझै पनि कांग्रेसलाई आगामी संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानमा पुर्‍याउने निश्चित छ । २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सरकारको नेतृत्व गरेका थिए । जनआन्दोलन २०४६ पछिको पहिलो संसदीय निर्वाचनमा उनी आफैँ पराजित भए । सामान्यतः सत्तामा हुने दलका नेता र दल पराजित हुँदैनन् भन्ने ठानिन्छ । बहालवाला प्रधानमन्त्री आफैँं पराजित हुनेगरी भएको निर्वाचन निष्पक्ष र धाँधलीरहित भएछ भन्ने प्रमाण पनि हो । हामीकहाँ पनि निर्वाचन परिणाम आउँदा प्रायः सत्ता विरोधी जनमत प्रकट हुने गरेको छ । सरकारमा जो रह्यो त्यो अलोकप्रिय निर्णयका कारण पनि पछि पर्ने गरेको देखिएको छ । यसपटकको निर्वाचनमा वाम गठबन्धन निर्माणले मात्र परिणामलाई फरक पारेको होइन, सरकारको समग्र कार्यशैलीले पनि यसलाई असर पारेको देखिएको छ। त्यसकारण पनि कांग्रेस सभापति देउवाले निर्वाचनमा आफ्नो दलको कमजोर प्रस्तुतिका बारेमा मिमांशा गर्नु आवश्यक हुन्छ । निर्वाचनका बेला प्रभावशाली युवा नेताहरूको टोली बनाएर खटाउन सकेको भए पनि केही हदसम्म परिणामलाई प्रभाव पार्न सक्ने अवस्था आउन सक्ने थियो । तर, त्यसमा त्यतिबेला ध्यान पुर्‍याउन सकेको देखिएको छैन। 

निर्वाचनमा हार–जीत स्वाभाविक हुन्छ । प्रत्येक निर्वाचनका बेला जनताले सरकारमा पुर्‍याउने र प्रतिपक्षमा राख्ने दलका बारेमा बुद्धिमत्तापूर्ण निर्णय गरेको देखिएको छ । सरकारमा रहेर अलिकतिमात्र सकारात्मक काम गर्ने व्यक्तिलाई समेत जिताएको देखिएको छ । त्यसमा मतदाताले दलभन्दा पनि तिनको प्रभाव हेरेको देखिएको छ । अन्यथा, वाम गठबन्धनको यत्रो लहर चलेका बेलामा पनि कांग्रेसका नेताहरू निर्वाचित हुने थिएनन् । डा. मिनेन्द्र रिजाल, गगन थापाजस्ता नेताहरूलाई कांग्रेसको तर्फबाट जिताएर प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्न पनि मतदाताले पठाएका छन् । प्रजातन्त्रको पक्षमा लडेको पुरानो दल कांग्रेसले आफूलाई संगठन, कार्यक्रम र भावी कार्यदिशाका आधारमा पनि पुनर्ताजगी गर्नुपर्ने आवश्यकता देखिएको छ । युवाहरूको राजनीतिमा आकर्षण बढ्दैछ, तिनलाई कांग्रेस नेतृत्वले भित्र्याउन कोसिस गर्ने बेला भएको छ । युवाको आकर्षण त्यतिबेला हुन्छ, जतिबेला युवाहरूलाई नेतृत्व दिएर कांग्रेसले काम गर्न थाल्छ । काठमाडौंँकै निर्वाचन परिणाम हेर्दा पनि कांग्रेसप्रतिको आकर्षण अझै नसकिएको देखिन्छ । १० निर्वाचन क्षेत्रमध्ये ६ स्थानमा वाम गठबन्धन र ४ स्थानमा कांग्रेस देखिएको छ । यसकारण पनि कांग्रेस नेतृत्वले आफ्नो कार्यशैली परिवर्तन गर्नु आवश्यक छ । अहिलेसम्म जसरी दल र सत्ता चलाइएको थियो त्यसरी मात्र काम गरेर पुग्दैन भन्ने नै हो । लोकतान्त्रिक शासन सञ्चालन र व्यवहारका लागि कांग्रेसको सशक्त भूमिका अपरिहार्य छ । त्यसका लागि नेतृत्वले समयमै आफूलाई तयार पारोस्। 

प्रकाशित: २५ मंसिर २०७४ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App