coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोकियो पौडेलको विजय यात्रा

सन्तोष पोखरेल/श्रीहरि पौडेल
पोखरा/तनहुँ – प्रदेश नम्बर ४ मा लोकतान्त्रिक गठबन्धनका सबैभन्दा ‘हेभिवेट’ नेताका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचनमा होमिएका थिए । यसअघिका सबै निर्वाचनमा तनहुँबाट संसद्÷संविधानसभा सदस्यमा निर्वाचित पौडेलको विजययात्रामा यसपटक भने तगारो लाग्यो । उनी तनहुँ  निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । 

पौडेल २०४८ सालमा तनहुँ १ र २०५१ मा तनहुँ २ बाट  प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछिका निर्वाचनमा पनि उनले जित हात पारेका थिए । निर्वाचनमा निरन्तर विजयी हुने नेताको पहिचान उनले बनाएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार श्रेष्ठलाई  करिब ४५ सय मतअन्तरले पराजित गरेका पौडेल अहिले उनै श्रेष्ठबाट पराजित । अहिले पौडेल ६ हजार ८ सय २ मतअन्तरले पराजित भए । श्रेष्ठ ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भए भने पौडेलले २७ हजार ६ सय ९० मत पाए ।  दोस्रो संविधानसभा निर्वाचनमा पौडेलले २ नम्बर क्षेत्रबाट जितेका थिए । पहिला ३ क्षेत्र रहेको तनहुँ अहिले २ वटामा खुम्चिएको छ । दुई क्षेत्रमा खुम्चिएपछि पौडेल १ बाट उम्मेदवार बनेका थिए । पहिलेको १ को पूरै र २ का केही भाग अहिलेको क्षेत्र नं १ मा परेका छन् । कांग्रेसको अड्डा मानिने क्षेत्रबाट पौडेलको जित सुनिश्चितजस्तै रहेको भन्दै कांग्रेस कार्यकर्ता ढुक्क थिए । तर, वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठअघि पौडेलको जोर चलेन। 

विश्लेषकहरू पौडेलको पराजयमा वाम गठबन्धनमात्र कारक नरहेको बताउँछन् । निर्वाचनमा घात र अन्तर्घात बढी भएको विश्लेषक बताउँछन् । प्रधानमन्त्रीका दाबेदार पौडेलविरुद्ध सुरुमै बागी उम्मेदवारी परेको थियो । कांग्रेसभित्र कुनै बेलाका प्रभावशाली नेताका रुपमा रहेका गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको निर्णका आधारमा जोशीको उम्मेदवारी खारेज गरिदियो । जोशीको उम्मेदवारी खारेजीसँगै चुनावी मैदानमा पौडेललाई सहज भएको स्थानीय बुद्धिजीवी अनुमान थियो।  

जोशीले उम्मेदवारी रद्द भए पनि पौडेललाइ असहयोग गरेको कांग्रेस कार्यकर्ताको आरोप छ । ‘आफ्नैबाट असहयोग भएको हो । नत्र हार्नुपर्ने कारण थिएन । वाम एकताले मत कम हुनु स्वाभाविक थियो,’ ती विश्लेषकले भने, ‘तर पनि यहाँ कांग्रेसले हार्नुपर्ने कारण थिएन । किनकी तनहुँ १ कांग्रेसको बलियो आधार भएको क्षेत्र हो । पौडेललाई असफल बनाउन राम्रै किमिसले घातप्रतिघात भएको छ ।  यहाँ वाम एकताले मात्र प्रभाव पार्ने कुरा स्वीकार्न सकिँदैन । आफ्नैबाट बढी असहयोग भयो।’

चुनाव परिणाम घोषणा भएपछि पौडेलले नागरिकसँगको कुराकानीमा निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले हारजितको प्रवाह नगरी लोकतन्त्रको रक्षाका लागि सधैं अग्रसर रहने । ‘लोकतन्त्रको रक्षाका लागि हामी सधैं अग्रसर छौं,’ पौडेलले टेलिफोनमा भने, ‘लोकतन्त्रवादीको हैसियतले निर्वाचन परिणाम स्वीकार्छु । म जनताको सेवा गर्न पछि हट्ने छैन । मतदाताप्रति मेरो गुनासो छैन।’ 

निर्वाचन नतिजा सार्वजनिक भएलगत्तै पौडेलले  विज्ञप्ति जारी गरी नयाँ संविधान निमार्णपछिको चुनावमा उत्साहपूर्वक सहभागी भई मतदान गरेको भन्दै मतदातालाई धन्यवाद दिएका छन् । ‘मप्रति सहानुभूति राख्ने साथीहरू र शुभचिन्तकप्रति अभार प्रकट गर्छु,’ विज्ञप्तिमा उल्लेख छ ।  हारजितको प्रवाह नगरि लोकतन्त्रलाई अघि बढाउन आफू तयार रहेको जनाउँदे उनले भनेका छन्, ‘गाउँमा नै बसौंबसौं बनाउने आफ्नो परिकल्पना, योजना र सपना साकार पार्न म सधैं समर्पित रहनेछु।’ 

पौडेलले विजयी श्रेष्ठलाई बधाईंसमेत दिए । विजयी जुलुसमा सहभागी श्रेष्ठलाई बधाईं दिँदै पौडेलले भने, ‘चुनाव हारे पनि लोकतन्त्र बचाउन कांग्रेसले काम गरिरहेको छ।’

प्रकाशित: २५ मंसिर २०७४ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App